कृष्णजन्माष्टमी अर्थात कृष्ण भगवान जन्मेको दिनलाई थारुहरु अष्टिम्कि पर्वको नाउँले चिन्छन। यस पर्वमा बिशेष भित्तेचित्र अष्टिम्की बनाएर यस चित्रमा चित्रित पात्रहरुलाई महिलाहरुले “टिक्ने” अथवा टिका लगाउने र पूजा गर्ने थारु चलन रहेको छ। अष्टिम्की चित्र घरको पिढीको भित्तामा बनाइन्छ। गाउँको घरसंख्या हेरी टोलको एक/दुई घरको भित्तामा अष्टिम्की चित्र बनाइन्छ। यस हस्तचित्रमा प्रयोग गरिने रङहरु सबै घरेलु रंगहरु प्रयोग हुने गर्थ्यो अर्थात बजारमा उपलब्ध रासायनिक (Chemical ) रंगहरु प्रयोग नगरी, जैविक (Organic ) रंग हरु जस्तै हरियो रंगको लागि – सिमिको पात निचारेको रस, रातो रङको लागि पोइ को पातको रस, पहेंलो रंग हल्दी या बेसारको प्रयोग गरिन्थ्यो। अहिले बिकास संग संगै अरु किसिमका रंग र बजारबाट बनि बनाउ तस्विरहरु प्रयोगमा बृधि भएको छ। जसले गर्दा यो हस्तचित्र लोप हुने खतरा बढेको छ।
के के हुन्छ अष्टिम्की चित्रमा ?
चित्रको शीर्ष भागमा यस पर्वका नायक श्रीकृष्णको चित्र हुन्छ। त्यसको तल दायातर्फ सूर्य र बायातर्फ चन्द्रमाको चित्र हुन्छ। सोही लहरमा हातमा छाता लिएका पाच पुरुषको चित्र हुन्छ। यसलाई पाच पाण्डवको प्रतीक मानिन्छ। बनवासका क्रममा उहाहरू विभिन्न देश घुम्न जानुभएको झलक प्रस्तुत गर्दै उक्त चित्रमा उहाहरूले घाम पानीबाट जोगिन छाता लिनुभएको देखाइन्छ। दोस्रो लहरमा काधमा बन्दुक भिरेका सात जनाको चित्र हुन्छ। यसले सय भाइ कौरवको प्रतिनिधित्व गर्छ । यही लहरमा कतै कतै सात महिलाको चित्र पनि बनाउने गरिएको र त्यसले द्रौपदीको प्रतिनिधित्व गर्ने गरेको जानकारी आफूले पाएको देवेन्द्र थुम्केलीले काठमाडौा विश्वविद्यालयका लागि २०६५ सालमा गर्नुभएको ‘थारू लोककला’ शीर्षकको अध्ययनमा उल्लेख गर्नुभएको छ। यसरी चित्र बनाउने व्यक्ति अनुसार चित्र फरक पर्न गएको पनि देखिन्छ।
अष्टिम्की चित्रमा महाभारतसागै रामायणको कथा पनि समावेश गर्ने गरिएको देखिन्छ। बाह्र टाउका भएको ‘बरमुरवा’ अर्थात् रावणलाई चित्रको मध्य भागमा स्थान दिइएको हुन्छ। यसमा बिहेको डोली, डोलाको चित्र पनि हुन्छ। यसलाई राम र सीताको विवाहको प्रतीकको रूपमा लिइन्छ। बीच बीचमा मादले, नर्तकीहरूका चित्रले पनि ठाउ पाएका हुन्छन्। यसवाहेक हात्ती, घोडा, ऊँट, कुखुरा, वनजङ्गल, माछा, मयुर आदिको चित्रले पनि अष्टिम्कीमा ठाउा पाएका हुन्छन्।
अष्टिम्की चित्रमा चित्रित केहि मुख्य
कजरिक बनवा : कृष्ण भगवानले आफ्नो लाला बाला (गाई, गोरु, बाछा) चराउन लैजाने वृन्दावनलाई कजरिक बनवा भनिन्छ। घना र अँध्यारो भएको हुनाले कजरिक बनवा भनिएको हो
फूल : सोह्र सय गोपिनीलाई कृष्णजीले प्रेमको प्रतिकको रुपमा उपहार दिने हुनाले अष्टिम्की चित्रमा फूल बनाइन्छ
मयुर : कृष्ण भगवानको मनपर्ने पक्षीको रुपमा चिनिन्छ र कृष्ण मयुर पंखको शृंगार गर्ने गर्थे
रोइना : अष्टिम्की चित्रको एक छेउ (धेरै जसो दायाँ) तिर बरमुर्वा (बार शिरयुक्त रावण) चित्रित गरिन्छ । रावणको यो भयानक रुपलाई भने टिक्ने/पूज्ने गरिदैन । यसलाई झुक्किएर टिक्यो भने रुन्चे बच्चा जन्मिन्छ भन्ने बिश्वास गरिन्छ।
लाउ: पृथ्वीमा महाप्रलय हुँदा भगवान विष्णु दुनामा सवार भै विचरण गर्नु हुन्थ्यो। केहिको भनाइ अनुसार कृष्णजीले यमुना नदि पार गर्दा लाउ (नाउ) प्रयोग गर्ने हुनाले अष्टिम्की चित्रमा चित्रित गरिएको हो
हलो जोति रहेको मान्छे : मानव सभ्यताको विकासक्रममा खेति पाती एउटा महत्वपूर्ण अध्याय हो जुन अहिलेको थारु समुदायमा उही अवस्थाको रहेको छ।
पुरैनिक पतिया (पात) : सोह्र सय गोपिनी नुहाउने सुन्दर ठाउं जहाँ पुरैनीको फुल फुल्थ्यो र फूल संगै कन्चन पानीमा जलक्रिडा गर्न गोपिनी हरु मोहित हुन्थे, कृष्ण भगवान उनीहरुको वस्त्र लुकाई दिएर, जिस्काई दिन्थे।
मुर्गा : समयबोध गराउने यो घरेलु पंक्षी जसको बोलिले मानवले समय निर्धारण गर्न सिके, अहिले पनि अष्टिम्की पर्वमा मुर्गाको बोलिको महत्व छ। अष्टिम्कीको डटकतटन (दर) खाने कार्य मुर्गा बोल्नु भन्दा अगावै गर्नु पर्छ, बीचमा मुर्गा बास्यो भने जुठो हुन्छ।
रोइनि मछरिया : थारु लोक कथा अनुसार जब सृष्टिकर्ताले यो पृथ्वी सृष्टि गर्न लागे तब जल र थल बनाए त्यस पछि पृथ्वीमा मत्स्य अवतारको रुपमा रोइनि मछारियाको जन्म भएको हो। जलचरहरूले तेस्रो यूग अर्थात अगभग ५८–२८ करोड वर्ष पहिलेको पुराजैवीक यूगको स्मरण गराउँछन् । जुन युगमा उक्त जीवहरूको उत्पत्ति भएको थियो । भूगर्भशास्त्रअनुसार ३९ करोड वर्ष पहिले शुरु भएको पुराजैविक युगमा माछाको उत्पत्ति भएको थियो । थारु लोकग्रन्थ गुर्वावक जर्मौटीमा उक्त माछालाई “रोइनि मछर्या” भनिएको छ । यसैकालमा पुराणमा मत्स्य युग मानिएको छ । वैज्ञानिकहरूका अनुसार यस यूगलाई डिमोनियम उपयुग भनिएको छ । गुर्वावक जर्मौटी अनुसार गुर्वावाले गङ्गटा र गँड्यौलाकै सहयोगबाट पाताललोकबाट “अम्मरमाटी” (माटो) मगाएर स्थल मण्डलको निर्माण गरेका हुन् । वैज्ञानिकहरूका अनुसार गङ्गटा र गँड्यौला उत्पत्ति भएको यूगलाई क्याम्ब्रियन र सिलुरियन उपयुग मानिन्छ । यस युगमा विभिन्न जीवजन्तुको उत्पत्ति भएको कारणले महत्वपूर्ण मानिन्छ ।
डोली : मध्यखण्डमा विवाहमा दुलहाको तर्फबाट दुलही अन्माउँदा प्रयोग गरिने थारु परम्परागत डोली चित्रित गरिन्छ जसलाई दुईजना डोल बोक्वाहरूले बोकेका हुन्छन् । त्यस डोलीमा पाण्डवहरूले अन्माउँदा गरेको द्रोपतीको चित्रण गरिन्छ । डोलीमाथिको पंक्तिमा पाँचवटी द्रोपतीहरू र सो माथि पाँच पाण्डवहरू चित्रित गरिन्छ ।
सख्ली कुकनिया (मादा कुकुर) : बनवासमा रात बिरात बिरानो ठाउँ सुत्नु परेको हुनाले पहरेदारको भूमिका सखलि कुकनियाले निभाएको भएर यसलाई अष्टिम्की चित्रमा स्थान दिएको हो
यस्तै हाती, घोडा, बाँदर, चरा चुरुंगी, सांप, किरा, गोजर जस्ता अन्य जीवहरुले बनवासको बेला सघाएको मानिन्छ। हाती घोडा सवारीको रुपमा र युद्धको बेला प्रयोग भएको, बाँदरले फल/आहार ल्याएको र चरा चुरुंगीले संदेश आदान प्रदानमा सहायता गरेको लोक कथा उल्लेख छ।
(सन्दर्भ सामग्री : हमार संस्कृति, कोपिला, कृष्णराज सर्वहारी, सरिता चौधरी)