धनगदी नगरपालिकाका दुई वडा ६ र ७ नम्बरमा एउटा विशेषता छ– थारू समुदायको बाक्लो बस्ती। ६ नम्बर वडा देवरिया र ७ नम्बर वडा जालीगाउँमा रहेका थारू बस्तीमा अन्य विषयमा भने थुुप्रै भिन्नता देखिन्छन्। थारू पहिचानका यी बस्तीको चालचलन, भाषा, बोलिचाली, रहनसहन, लवाइखवाइ मात्र होइन, राजनीतिक धारसमेत अलग छ।
संघीयताका मामलामा मध्यपश्चिम र सुदूरपश्चिमका तराईमा चलिरहेको थारूवान–थरुहट आन्दोलनलाई समेत यी दुई बस्ती फरक अर्थमा लिन्छन्। एउटा वडा आन्दोलनमा लागिपरेको छ, अर्को भने शान्त।
सामान्य रुपमा आदिवासी ‘थारू’ भनेर चिनिने उनीहरु एकापसमा भने चौधरीथारू र रानाथारू भनेर परिचित छन्। नगरको कपनीखोला पूर्वदक्षिण ७ नम्बर देवरिया बस्तीमा रानाथारूको सानो बस्ती छ, करिब ६०–७० परिवारको। खोलाको उत्तरपश्चिम जालीबस्तीमा भने करिब ४ सय घरपरिवार छन्, थारू र पहाडी समुदायको।
रानाथारू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सुगौली सन्धि हुँदा ब्रिटिस इन्डियाबाट भूगोलसहित नेपाली भएका आदिवासी मानिन्छन्। चौधरीथारू भने दाङलगायत भारतको पश्चिम बंगालका विभिन्न क्षेत्रबाट आएर बसोबास गरेको बताइन्छ।
कैलालीका सभासद प्यारेलाल राना भन्छन्, ‘रानाथारू पहिलेदेखिका थारू अदिवासी हुन्। जिल्लाका अन्य थारू दाङ तथा भारतका विभिन्न स्थानबाट बसाइँ सरेर आएका देशावर हुन्।’
नागरिकले नगरका ६ र ७ दुवै बस्तीका विभिन्न व्यक्तिसँग गरेको कुराकानीमा उनीहरुले आपसमा ठूलो भिन्नता रहेको जानकारी दिए। देवरियाकी श्रमदेवी राना र जाली बस्तीकी माइतीदेवी चौधरी दुई प्रतिनिधि पात्र हुन्।
‘हामीहरु उनीहरुभन्दा फरक छौं,’ श्रमदेवीले भनिन्। त्यस्तै भनाइ माइतीदेवीको छ। दुवैले भने, ‘हामी फरक छौं, फरक हौं।’
रानाथारूको मुख्य चाड फागु पूर्णिमा अर्थात् उनीहरुको भाषामा होरी हो। होरी उनीहरुले १ महिनाभन्दा लामो समय धुमधामले मनाउँछन्। चौधरीथारूका लागि भने होरी सामान्य चाड हो। उनीहरु माघीलाई मुख्य चाड मान्छन्। रानाथारू माघी मान्दै मान्दैनन्। चौधरीको थारू दसैं राम्रोसँग मनाउँछन्। उता, रानाथारूलाई दसैंले छुँदैछुँदैन।
उनीहरुले बोल्ने भाषा पनि फरक छ। रानाथारूको आफ्नै भाषा र लिपि छ। प्यारेलालका अनुसार रानाको राना भाषा र उनम लिपि छ। चौधरीथारूको बोल्ने भाषा डगौरा हो।
दुईथरी थारूबीच सामाजिक रहनसहन, लवाइखवाइ र चालचलनमा भिन्नताका फेहरिस्त पस्कन्छन् स्थानीय। उनीहरुबीच मागीबिहे चल्दैन। आफूखुसी युवायुवतीले गर्ने प्रेमविवाह भने चलेको छ।
श्रमदेवी भन्छिन्, ‘हामी रानाथारूहरु बुट्टेदार आकर्षक घाँघर र चोलिया लगाउँछौँ। उनीहरु सामान्य लेहेंगा र चोलिया लगाउँछन्।’
उता, माइतीदेवीको कथन छ, ‘पाखुरामा लगाउने तेहरिया उनीहरुको च्याप्टो हुन्छ, हाम्रो गोलो।’
परम्परागत यस्ता भेषभुषा सामान्य अवस्थामा लगाइँदैनन्, चाडपर्वहरुमा महिलाहरुले लगाउने लुगा र गहनाबाट पनि दुईथरी थारू सर्लक्क छुट्टिने श्रमदेवी र माइतीदेवी सुनाउँछन्।
राजनीतिमा नि?
विभिन्न दलमा विभाजित दुवै थरी थारू संघीयताको पेचिलो मुद्दामा प्रस्टसँग आपसमा विभाजित देखिन्छन्। देवरियाका स्थानीय रानाथारूसँगको कुराकानीबाट थाहा भयो, उनीहरु संघीयताको मामलाबाट टाढै छन्। उनीहरु थरुहट/थारूवान ले आह्वान गरेका आन्दोलनमा सहभागी भइरहेका छैनन्। देवरिया बस्तीको रानाथारूका भलवन्सा (अगुवा) जगन्नाथ राना भन्छन्, ‘हाम्रो गाउँको सल्लाहअनुसार आन्दोलनमा गएका छैनौं।’
देवरियाका भगिरथ राना, रामदास राना र तौलाराम रानाको भनाइ पनि उस्तै छ। उनीहरु भन्छन्, ‘आन्दोलनमा रानाहरु गएका छैनन्, चौधरीहरु मात्र गएका छन्।’
त्यस्तै भनाइ तिजादेवी रानाको छ। कञ्चनपुरको वाइसेबिछवा माइती भएका उनले भनिन्, ‘हामी आन्दोलनमा गएका छैनौं। हामीलाई जान भनिएको छैन।’ उनले आफ्नो माइती जिल्ला कञ्चनपुरमा रानाथारू बाहुल्य रहेको पनि सुनाइन्।
आन्दोलनमा सहभागी हुन थरुहट/थारूवान आन्दोलनकारीले आग्रह गरेनन् भन्ने प्रश्नमा जगन्नाथको जवाफ थियो, ‘हामी अहिले भ्याउँदैनौं भनिदियौं।’
थारू समुदायमा गाउँका अगुवा ‘भलवन्सा’ चुन्ने र तीन (भलवन्सा) कै आदेश पालना गर्ने चलन छ। भलवन्साको आदेश पालना सामान्यतया सबैले गर्छन्।
भदौ ७ मा टीकापुरमा हजारौं थारूहरु जुलुसमा सहभागी हुनुका पछाडि भलवन्साको आदेश रहेको देखिन्छ। थरुहट/थारूवान आन्दोलनकारीले भलवन्साको उपयोग गरेर ठूलो जनसमुदाय उतारेको देखिन्छ टीकापुरमा। थारूहरुको ठूलो भिडबीच केही लडाकु योजनाबद्ध किसिमले घुसाएर प्रहरीमाथि आक्रमण गरी एक उच्च अधिकृतसहित आठ जना प्रहरी र एक नाबालकको हत्या गरेको आँकलन टीकापुरभन्दा टाढाका यी दुवै थारू समुदायमा भइरहेको छ।
जाली थारूबस्तीका भलवन्सा झरीलाल चौधरी भने आफ्ना गाउँबाट थरुहट, थारूवान आन्दोलनमा सहभागी हुने गरेको बताउछन। टीकापुरको घटनामा थारूको नाममा अरू कसैको घुसपेठ भएको अनुमान धनगढीको आन्दोलनमा सहभागी हुने गरेका यहाँका चौधरी थारूको छ।
स्थानीय पीपलचोक गोलघरमा उपस्थित झरीलाल, तुलाराम र खुसीराम चौधरीहरुको भनाइअनुसार आन्दोलनमा सहभागी हुन गाउँबाट धेरै व्यक्ति जान्छन्। सदरमुकाम धनगढीमा हुने थारू अधिकारवादी आन्दोलनमा गाउँका कतिपय मानिस सहभागी भएको जानकारी दिँदै हिरालाल चौधरी भन्छन्, ‘शान्तिपूर्ण आन्दोलनमा यहाँका मान्छे सहभागी भएका छन्।’ त्यस्तै भनाइ रामदिन चौधरी र प्रतिलाल चौधरीको छ। उनीहरु राज्यसँग आफूहरुले थारू अधिकार र थरुहट–थारूवान राज्य माग गरिरहेको बताउँछन्।
आन्दोलन नेतृत्वकर्ताले प्रदेशको सिमाना र नाममा राखेको अडानमा भने स्थानीय पूर्ण सहमत देखिँदैनन्। नागरिकसँगको कुराकानीमा उनीहरुले भने, ‘थरुहट भए झन् राम्रो, नभए पनि अधिकार त चाहियो–चाहियो।’
आदिवासी कोटामा रहेका नेवार, राई, लिम्बूसँग पिछडिएको थारू जातिले प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुको बुझाइ छ।
चौधरी थारूबस्तीमा प्रदेशको मामलामा नअल्भि्कएर अधिकार भए पुग्ने धारणा राख्नेहरुको संख्या पनि ठूलो छ। उता राना थारूहरु भने संघीयता प्रदेशको मामलामा छँदै छैनन्। उनीहरु विशेष अधिकारको खोजीमा देखिन्छन्।
‘हामीलाई शिक्षा, जागिर र राजनीतिमा आरक्षण चाहियो,’ जगन्नाथले भने, ‘अत्यन्त पिछडिएका रानाथारू नेवारजस्ता आदिवासी जनजातिसँग प्रतिस्पर्धा गर्ने हैसियतामा छैनन्।’
त्यस्तै भनाइ छ प्यारेलालको। रानाथारूलाई भारतमा आरक्षण दिइएको जानकारी दिँदै उनी भन्छन्, ‘थारूहरुको माग आरक्षणले सम्बोधन हुन्छ।’ थारूहरुकै नाममा प्रदेश बनेर पनि आरक्षण दिएन भने त्यसले काम नगर्ने उनको विश्लेषण छ।
‘अधिकार मिल्यो, राज्यमा पहुँच पुग्यो, सुविधा भो भने भइहाल्यो,’ प्यारेलाल प्रश्न गर्छन्, त्योभन्दा बढी के चाहियो?’
थारू समुदायको बृहत परिभाषामा आफूहरुको पहिचान नामेट भइरहको रानाथारूहरु बताउँछन्। बेग्लै पहिचान रहेको रानाथारूहरु थारू समुदायभित्र हराएको गुनासो उनीहरुको छ।
कति छन् त रानाथारू? यकिन तथ्यांक छैन। राष्ट्रिय जनगणना– २०६८ मा पनि रानाथारूको बेग्लै गणना नगरिएको बताउँदै प्यारेलाल भन्छन्, ‘हामीलाई बेग्लै आदिवासीमा सूचीकृत गर्न जरुरी छ, थारूमा गोलमटोल गरेर हुँदैन।’
प्यारेलालका अनुसार कैलालीको क्षेत्र नम्बर ५ र ६ का केही गाउँ र क्षेत्र नं ४ को एउटा गाउँमा रानाथारूको बस्ती छ। कैलालीको करिब ८ लाख जनसंख्यामा झन्डै ४० प्रतिशत भाग ओगट्ने थारूमध्ये रानाथारूको जनसंख्या न्यून देखिन्छ। कञ्चनपुरको करिब ५ लाख जनसंख्यामा २५ प्रतिशत थारू छन्। त्यसमध्ये धेरैजसो रानाथारू रहेको प्यारेलाल सुनाउँछन्।
कैलाली र कञ्चनपुरको हकमा के देखिन्छ भने जहाँ चौधरीथारू छन्, त्यहाँ थरुहट/थारूवान आन्दोलनले ऊर्जा पाइरहेको छ। जहाँ रानाथारू छन्, त्यहाँ आन्दोलन उठेकै छैन।
आन्दोलन, हिंसा र कर्फ्युको परिचय बनाएको कैलालीको छिमेकी जिल्ला कञ्चनपुर शान्त छ, त्यहाँ बन्द त छ तर आन्दोलन छैन, कर्फ्यु छैन।
नागरिक दैनिकबाट