टीकापुर घटना नियोजित कि सुनियोजित? (अडियोसहित)

Tikapur

टीकापुरमा सोमवार दिउँसो हिंसात्मक झडप हुँदा प्रहरीका वरिष्ठ अधिकृतसहित सात सुरक्षाकर्मी र एक जना अबोध बालकको ज्यान गयो।  घटनामा २० प्रहरी र २१ सशस्त्र बल घाइते भएका छन्। केही प्रहरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। थप उपचारका लागि केही प्रहरीलाई काठमाडौँ ल्याइएको छ। वरिष्ठ अधिकृतसहित यतिको संख्यामा प्रहरीको ज्यान गएपछि सिंगो देश तरंगित भएको छ।

आन्दोलनकारीलगायत शीर्ष नेताले थारुहरूले यस्तो गर्न नसक्ने र आन्दोलनमा घुसपैठ भएको अनुमान लगाइरहेका छन्। आन्दोलनकारीले प्रहरीले अन्धाधुन्द गोली चलाएपछि प्रतिरोधमा उत्रिँदा यस्तो घटना घटेको बताएका छन् भने प्रशासनले प्रहरीले संयमता अपनाएको, कुनै गोली नचलाएको र प्रहरीलाई भाला रोपेर ज्यान लिएको वक्तव्य जारी गरेका छन्। समाजिक सञ्जालमा पनि जलाइएका, खेतमा फालिएका शवहरूको तस्बिर भाइरल बनिरहेका छन्। तर, दुवै पक्षबीच अड्कलबाजी भइरहँदा टीकापुरको सत्यतथ्य छायामा परेको स्थानीयले बताएका छन्। उनीहरूले प्रहरी प्रशासनको दमन र विभेदका कारण सोमवारको घटना भएको बताउँछन्।

साइनबोर्ड लेख्न हिँडेका थारु

पूर्वनिर्धारित कार्यक्रमअनुसार थारुहरू टीकापुर नगरपालिकामा ‘थरुहट/थारुवान स्वायत्त प्रदेश’ लिखित बोर्ड टाँग्न हिँडेका थिए। स्थानीय प्रशासनले भने टीकापुरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। तर, अखण्ड पक्षधरका निम्ति भने प्रशासनले सभा–जुलुस गर्न छुट दिएको थियो। निषेधित क्षेत्र तोड्नकै निम्ति दशौँ हजारको संख्यामा थारुहरू डाकिएका थिए। सो क्रममा टीकापुर छेउछाउका चार नाकाबाट नगरपालिका पुग्ने योजना बनेको टीकापुरका लक्ष्मण थारुले बताए। सबै नाकाको नेतृत्व स्थानीय युवाले गरेका थिए। मोतीनगर, दुर्गौली, मनुवा र जगतपुरको कमैया बस्तीबाट ठूलो संख्यामा प्रदर्शनकारी उत्रिएका थिए। लक्ष्मणका अनुसार करिब ११ बजे प्रदर्शनकारीलाई मनुवामा प्रहरीले घेरेको थियो। मनुवाबाट उनीहरूले प्रहरीलाई ठेल्दै पशु हाटबजारसम्म ल्याएका थिए। उनीहरूले नगरपालिकामा साइनबोर्ड टाँगिछाड्ने अठोट लिएको उनले बताए। ठेलमठेल भएपछि प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्‍यो। आक्रोशित प्रदर्शनकारी भागाभाग भए। उनले प्रहरीले अन्धाधुन्ध गोली चलाएको समेत बताएका छन्। ‘आन्दोलनकारीले त्यसकै प्रतिकार गरेका थिए,’ लक्ष्मण चौधरीले भने।

केहीलाई गोली लागेपछि आन्दोलनकारीहरू प्रहरीमाथि जाइलागेको लक्ष्मणले बताए। उनीहरूले प्रहरीमाथि आक्रमण गरे। केहीलाई जलाए पनि। जसको कारण अन्धाधुन्ध गोली चलाइनु रहेको संघीय समाजवादी फोरम नेपालका स्थानीय नेता होरिलाल चौधरीले बताए। उनले प्रशासनको दमनले अझै पनि गोली लागेका घाइतेहरूले उपचार हुन नपाएको बताए। ‘उनीहरूले घरेलु उपचारका माध्यमबाट गोली निकालेका छन्,’ होरिलालले भने, ‘कर्फ्यू लगाइँदा उनीहरू उपचारबाट वञ्चित हुनुपरेको छ।’

कर्फ्यूमा पनि विभेद

सोमवार घटनासँगै गृहमन्त्रालयले दंगा क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गर्‍यो। स्थानीय प्रशासनले भने टीकापुरमा अनिश्चितकालीन कर्फ्यूको आदेश जारी गर्‍यो। तर, टीकापुरमा कर्फ्यू थारु समुदायका निम्तिमात्र लागू गरिएको स्थानीयले बताएका छन्। ‘सोमवार राति प्रहरीको आडमा एक समूहले थारुका पसल र टहरा जलाएका छन्,’ स्थानीय लक्ष्मण चौधरीले भने, ‘टीकापुरको निरु ट्रेडर्स र कमल बाकस उद्योगमा सोमवार राति आगजनी गरिएको छ।’ यतिमात्र होइन मंगलवार त्यो समूहले सो क्षेत्रका निर्वाचित सभासद् जनकराज चौधरीको घर नै जलाएका छन्। त्यही समूहले सद्भावना पार्टीका नेता रेशम चौधरीको फूलबारी रिसोर्टमा आगजनी र फूलबारी एफएममा तोडफोडसमेत गरेका छन्। ‘नेताहरूका घर मात्र होइनन्, ठाउँ–ठाउँमा थारुका घर जलाइएका र तोडफोड गरिएका छन्,’ होरिलालले भने।

सोही घटनालाई लिएर थारु सभासद्हरू प्रधानमन्त्री सुशील कोइराला भेट्न बालुवाटार पुगेका थिए। उनीहरूले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका थिए– टीकापुरको कर्फ्यू थारुलाई मात्र हो? सो क्षेत्रका सभासद् जनकराज चौधरीले एउटा झुन्डले थारुका घर जलाइरहँदा प्रहरी र सेना मूकदर्शक बनेको अरोप लगाए। टीकापुर ब्लक नम्बर ६ स्थित सभासद् चौधरीको घरमा बिहान करिब १० बजेतिर आगजनी गरिएको थियो। उनले स्थानीय प्रशासनले त्यहाँ पनि विभेद गरेको आरोप लगाए। प्रधानमन्त्रीसँगै थारु सभासद्हरूले एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई लगायतलाई टीकापुरबारे ध्यानाकर्षण गराएका थिए।

अखण्ड र थरुहटको ‘टसल’

शीर्ष चार दलले साउन २३ गते ६ प्रदेशको संघीय संरचनामा सहमति गरेपछि थारुलाई विभेद गरिएको भन्दै कैलालीमा थरुहट संघर्ष समिति गठन भयो। समितिले साउन २४ गतेबाट आन्दोलन सुरु गर्‍यो। आन्दोलनको नेतृत्व स्थानीय नेता रेशम चौधरी, माधव चौधरी लगायतले गरिरहेका थिए। सुरुवाती दिनमा उनीहरूले कैलालीको धनगढी र टीकापुरमा केन्द्रित रहेर विरोध प्रदर्शन सुरु गरे। त्यसलाई ‘काउन्टर’ दिन अखण्डवालाले पनि विरोध सुरु गरेको बताइन्छ। यता थारु कल्याणकारिणी सभा र थारु सभासद्हरू पनि छुट्टै आन्दोलन गर्ने तयारी गरिरहेका थिए। सभाले साउन २८ गते तराई बन्दको घोषणा गर्‍यो।

तर, सभासद्हरूले यतिले मात्र नपुग्ने भन्दै ‘एलायन्स’ बनाएर अगाडि बढ्ने सहमित जनाए। जसअनुसार साउन २६ गते थारु कल्याणकारिणी सभा, थारु सभासद् र थरुहट संघर्ष समितिले विभिन्न कार्यक्रमसहित छदिने आमहड्ताल सुरु गर्‍यो। समितिले तराईका जिल्लामा बन्द आह्वान गरेको थियो। यसले पहिल्यैदेखि आन्दोलन गरिरहेको कैलालीलाई थप बल पुग्यो। यसबीचमा थरुहट र अखण्डबीच धेरै पटक दोहोरो झडप भयो। दुई पक्षको झडपले प्रहरी पनि आजित भएको बुझिएको थियो।

धनगढीमा आयोजित थारुहरूको विशाल विरोध सभामा गाउँगाउँबाट आएका ट्र्याक्टरलाई अखण्ड पक्षले कब्जा गरे। थरुहट आन्दोलनकारीमाथि ढुंगा बर्साए। ‘प्रहरी सुरक्षाका बावजुद उनीहरूले खुलेआम थरुहट आन्दोलनकारीमाथि ढुंगा बर्साएका थिए,’ स्थानीय होरिलालले भने, ‘त्यसको केही दिनपछि गत शुक्रवार टीकापुरमा आयोजित अखण्डको मोटरसाइकल र्‍यालीमा थरुहट कार्यकर्ताले अवरोध पुर्‍याएका थिए।’ सो क्रममा झडपसमेत भएको थियो। यही दुई पक्षको ‘टसल’ले स्थानीय प्रशासनले टीकापुर बजारलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

मधेसी नेताले उक्साएपछि

थारुहरूको संघर्ष समितिले राजधानीलगायत तराईका जिल्लामा मसाल जुलुस निकाल्ने तयारी गरिरहँदा टीकापुरमा भने साउन २७ गते मधेसी लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरूलाई बोलाइएको थियो। आयोजित बिशाल सभाको व्यवस्थापन सद्भावनाका नेता रेशमलाल चौधरीले गरेका थिए। त्यही विरोधसभामा मधेसी नेता अमरेश सिंह, उपेन्द्र यादव र राजेन्द्र महतोहरूले थारुलाई अधिकारका निम्ति खुकुरी, भाला उठाउन प्रेरित गरेका थिए। जसको विवाद संसद्सम्मै पुगेको छ। अहिले पनि अमरेश संसदीय समितिको छानबिनमा छन्।

मधेसी नेताको भाषणले सामुदायिक साम्प्रदायिकता फैलाउने काम गरेको भन्दै कैलालीका पार्टीहरूले घोर भर्त्सना जनाए। वर्षौंदेखि मिलेर बसेको थारु–पहाडीबीच फुट पैदा गर्न मधेसी नेताले त्यस्तो अभिव्यक्ति दिएको अरोप उनीहरूले लगाएका थिए।

सोमवारको घटना पनि त्यसकै उपज भएको विज्ञहरूले बताइरहेका छन्। मधेसी नेताहरूको अभिव्यक्तिबाटै थारु उत्तेजित हुन पुगेको अखण्ड पक्षका एक नेताले बताए।

आन्दोलनमा घुसपैठ

सोमवारको आन्दोलनलाई केहीले राजनीतिक भनिरहँदा थारु नेतृत्वकर्ताहरूले आन्दोलनमा घुसपैठ भएको बताएका छन्। शान्तिपूर्ण आन्दोलनमा होमिएका थारुहरूले यस्तो काम गर्न नसक्ने भन्दै आन्दोलत तुहाउनका निम्ति यस्तो प्रपन्च भएको थरुहट/थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनीराम चौधरीले बताए। उनले घटना दुःखद भएको र त्यो दिन कालो दिन भएको बताए।

त्यस्तै, कैलालीकै सभासद् रामजनम चौधरीले प्रहरी दमनको प्रतिशोधका रूपमा यस्त्ाो घटना भएको बताए। उनले दुःखद र नहुनुपर्ने घटना भएको बताए।

थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितले पनि प्रहरीले दमन गर्न भनेपछि थारुहरूले प्रतिरोध गरेको बताए। ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका कार्यकर्तालाई प्रहरीले गोली हानेको छ,’ दहितले भने, ‘घरघरमा छिरेर दमन गरेकाले प्रतिशोध लिन यस्तो घटना भएको हो।’

थारु बहुल क्षेत्रमा दंगा

टीकापुरको घटनालाई लिएर तराईका थारु बहुल क्षेत्रलाई सरकारले दंगा क्षेत्र घोषणा गरेको छ। सरकारले सेनासमेत सो क्षेत्रमा परिचालन गर्ने जनाएको थियो। सरकारले कैलालीको टीकापुर, बाँकेको नेपालगञ्ज, बर्दियाको गुलरिया, दाङ पनि निषेधित क्षेत्र घोषणा गर्‍यो। नवलपरासी, रुपन्देही, रौतहट, सर्लाहीलगायत क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ। अब ती क्षेत्रमा सभा–जुलुस गर्न पाइनेछैन। यसले थारु आन्दोलनाई मत्थर पार्नसक्ने बताइएको छ। ‘थारुका नाममा ठूलो घटना घटाइएको छ। आन्दोलनलाई मत्थर पार्न घुसपैठ गरिएको छ,’ एक नेताले भने।

के हुन्छ थरुहट आन्दोलन?

सोमवारको घटनाको बावजुद संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिएको छ। थारु माग सम्बोधन नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने संयोजक धनीराम चौधरीले बताए। उनका अनुसार भदौ १२ गते थारु नेताहरूले तराईका जिल्लामा सद्भाव र्‍याली निकाल्ने भएका छन्। ‘थारुका माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।’

क्लिक गरेर अडियो सुन्नुस्:

Leave a Reply

Your email address will not be published.