‘मधेसी दलसँग थारु आन्दोलनको सहकार्य छैन’

Ramjanam Chaudhary

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद तथा थारु आन्दोलनका नेतृत्वकर्ता रामजनम चौधरीले मधेसी दलसँग सहकार्य नभएको बताएका छन्। मधेसका अधिकारकर्मीहरुसँग राय र सुझाव लिने कार्य गरिएको भए पनि असन्तुष्ट तराई–मधेसी दलसँग थारु आन्दोलनकर्मीले सहकार्य नगरेको उनले जनाएका हुन्।

‘थारु आन्दोलनकारीले मधेसी दलसँग सहकार्य गरेका छैनन तीनीहरुलाई आन्दोलनका लागि बोलाएका पनि छैनौ,’ चौधरीले भने, ‘केही मधेसका अधिकारकर्मीलाई बोलाएका हौँ तर मधेसी नेतालाई होइन्, आन्दोलनलाई समर्थन जनाउनु पर्योन भनेर अहिलेसम्म सहयोग मागेका पनि छैनौं, उनीहरु आफै आईरहेका छन्।’

उनका अनुसार औपचारिक रुपमा मधेसी नेतालाई आन्दोलनमा सहयोग गर्न नबोलाए पनि ब्यक्तिगत निम्तोमा टिकापुर, कैलालीमा गएर भाषण दिएको उनले जानकारी दिए। टिकापुरमा भाषण दिनका लागि संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टी अध्यक्ष राजेन्द्र महत्तो र कांग्रेस सभासद अमरेश सिंह पुगेका थिए।

आयोजकले औपचारिक रुपमा नभई ब्यक्तिगत निम्तोमा नेतात्रय टिकापुर पुगेको उनको जिकिर छ। ‘टिकापुर आमसभामा बिजयकान्त कर्ण र गणेश मन्डललगायत अधिकारकर्मीलाई बोलाएका थियौ तर उपेन्द्र, राजेन्द्र र अमरेश पनि गएको भन्ने एअरपोर्टमा गए पछि थाहा पाएँ,’ चौधरीले नागरिकसँग भने, ‘कसरी उनीहरु टिकापुर गएँ भन्ने छानबिन हुदाँ रेशम चौधरी (रेडियोकर्मीं) को ब्यक्तिगत निम्तोमा उनीहरु गएका रहेछन, म त्यहाँ गइन र पार्टी प्रतिनिधिलाई पठाएँ।’ थारुहरुको आन्दोलनमा संयुक्त संघर्षका लागि मधेसी दलको कुनै सहयोग नमागिएकोमा प्रस्ट हुन उनको आग्रह छ।

साउन २५ देखी ३२ सम्म थारु समुदायले निरन्तर आन्दोलन गरिरहेको नवलपरासीलगायतका तराईका जिल्लामा प्रदर्शनकारी माथी गोली प्रहार गरिएको भन्दै संघर्ष समितिले भत्सर्ना गरेको छ। घाइतेहरुको निःशुल्क उपचार हुनु पर्ने उनीहरुको माग छ।

यसैबिच, फोरम लोकतान्त्रिकलाई बिभाजन गराउनका लागि बिभिन्न हत्कण्डाहरु अपनाउन लागिएकोमा रामजनमले आपत्ति जनाएका छन्।

‘रामजनमले पार्टी बिभाजन गर्नका लागि राजनीतिक समितिको बैठक बहिस्कार गरेको भन्ने कुरा आएका छन, यी सब गलत हुन,’ रामजनमले भने, ‘हाम्रो पार्टी बिभाजन होस भन्ने कुत्सित मनशायले केहीले गलत प्रचार गरिरहेका छन तर हामी एक ढिक्का छौ।’ उनका अनुसार ३२ गतेसम्मका लागि पार्टीको राजनीतिक समितिको बैठक स्थगित हुन पुगेको छ।

नागरिकन्युजबाट

Leave a Reply

Your email address will not be published.