थरुहट प्रदेशका लागि लडाइँ जारी रहन्छ, पार्टी छाडेर जानेहरु गए हुन्छ : गच्छदार

Bijay

प्रदेशको सीमाकंनको खाका आएपछि त्यसको सबभन्दा बढी असर मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मा परेको छ। सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार चार पार्टीको बैठकमा जान्छन् तर अरु सबै नेताहरु त्यसकै विरोधमा आन्दोलनमा छन्।

 अध्यक्षबाहेकका अन्य सबै नेताहरुको दबाबमा हिजो (बिहीबार) देखि पार्टीको राजनीतिक समितिको बैठक बसिरहेको छ। सो बैठक आज पनि पार्टी कार्यालयमा बिहान ८ बजेदेखि जारी छ। हिजो अध्यक्ष गच्छदारले नै बोल्ने क्रममा धेरै समय लिएपछि अन्य नेताहरु आफ्नो कुरा राख्न नपाउँदा बैठकलाई आजसम्मका लागि सारिएको हो।

हिजोको बैठकमा गच्छदार र अन्य नेताहरुको बीचमा चर्का चर्की कुरा भएपछि अध्यक्ष गच्छदारले ‘ज–जसलाई पार्टीबाट जानु छ भने जानुस्, पार्टीहरुमा गुड बाई नमस्ते भइरहन्छ तर आफूले लिएको निर्णयबाट कुनै पनि हालतमा पछाडि नहट्ने’ कुराको जानकारी आफ्ना दलका नेताहरुलाई दिएका थिए।

 उनले आफूले संवाद समितिमा राखेको फरक मतमा अडिग रहेको उल्लेख गर्दै पार्टीले लिएको निर्णयमा संयमता राख्नुपर्ने बताएका थिए। उनले भने, ‘हरेक कुरामा विरोध, हरेक कुरामा आपत्ति जनाएरमात्र हुँदैन। आफूले इतिहास रच्नका लागि यस्तो कदम उठाएको हो। थरुहट प्रदेशका लागि आफ्नो लडाइँ जारी रहन्छ।’

उनले आफ्नो कुरा राख्ने क्रममा पार्टीमा कुन नेता के बोलिरहेका छन्, के गतिविधि गरिरहेका छन् सबै कुराको जानकारी आफूले राख्ने गरेको उल्लेख गर्दै अन्य नेताभन्दा पार्टीका महासचिव रामजनम चौधरीले अलि म्याचुयर कुरा गर्ने गरेको र बाँकी नेताले पार्टीको हितविपरित जथाभाबी बोल्ने गरेको आरोपसमेत लगाए।

स्मरणीय यहाँ के छ भने अहिलेको थारु आन्दोलनको नेतृत्व रामजनम चौधरीले गरिरहेका छन्। रामजनम चौधरीलाई प्रशंसा गरेपछि आन्दोलन केही मथ्थर हुन्छ कि अभिप्रायले गच्छदार यो कुरा राखेको हुनुपर्ने टिप्पणी एक नेताले गरे।

गच्छदारले आफ्नोविरुद्ध मधेस तथा थरुहटमा भएको आन्दोलनलाई रोक्नका लागि अनेक प्रयासहरु थालेका छन्। कसैलाई उपराष्ट्रपति बनाई दिने लोभ दिएका छन् भने कसैलाई मन्त्री बनाई दिने लोभ दिएका छन् त कसैको छोराछोरीलाई पढ्न विदेश पठाई दिनेसम्मका लोभ दिएका छन्। तर यसपाली गच्छदारको जालमा कोही पनि नफँस्ने भन्दै पार्टीका एक नेताले विगतमा पनि सबै नेताहरुलाई यसै गरि फँसाएर राख्ने गरेको अनुभव सुनाए।

रातोपाटीबाट

Leave a Reply

Your email address will not be published.