थरुहट आन्दोलनमा होमिए मधेसी नेता, तराईमा आन्दोलन चर्किँदै (फोटो-भिडियो)

Tharuhat Protest 02

थारुवान डेस्क

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको छ दिने आमहड्तालको दोस्रो दिन पश्चिम तराईका अधिंकाश जिल्लामा जनजीव प्रभावित भएको छ। यद्यपि थारुहरुले कैलाली-कञ्चपुरमा विगत छ दिनदेखि र बर्दिया विगत तीन दिनदेखि आमहड्ताल गर्दै आएका छन्। थारु बाहूल्य क्षेत्रलाई टुक्रा टुक्रा पारेको र पहाडसँग गाभेको भन्दै थारु समुदाय आन्दोलित बनेको हो। उनीहरुले स्वायत्त थरुहट प्रदेशसहित कैलाली-कञ्चपुरलाई कुनै हालतमा थारु बाहूल्य प्रदेशबाट नछाड्ने बताएका छन्।
Tharuhat Protest 10

संघर्ष समितले बिहीबारै कैलालीको टीकापुरमा बृहत् आमसभा आयोजना गरेको छ। सो अवसरमा मधेसी मोर्चाका उपेन्द्र यादव र  राजेन्द्र महतो र नेपाली कांग्रेसका अमरेश सिंहलगायत नेता उपस्थित थिए।

Tharuhat Protest 06

उनीहरुले थारु आन्दोलनलाई समर्थन गर्दै स्वायत्त थरुहट प्रदेश बनाउन माग गरे। उनीहरुले यसअघि नै थारु सभासद् र थारु कल्याणकारिणी सभासँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए।

Tharuhat Protest 05

त्यस्तै बर्दियाको गुलरियामा पनि बृहत् आमसभा आयोजना गरिएको छ। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सभासद् गोपाल दहितले राज्यले थारुमाथि अन्याय गरेको बताए। उनले थरुहटभूमिलाई टुक्रा टुक्रा पारेको बताउँदै थारु जनसमुदायलाई यसविरुद्ध लाग्न आह्वान गरे।
Tharuhat Protest 09

त्यस्तै रास्ट्रिय समाचार समितिका अनुसार बन्दकर्ताले बाँके जिल्लामा अपराह्न तीन वटा एम्बुलेन्स तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दकर्ताले पूर्वपश्चिम राजमार्गको मैटहवा सडकखण्डमा रेडक्रस कोहलपुर शाखाको भे १ च १७२२, गेरुवा ग्रामिण स्वास्थ्य जागरण संस्थाको भे १ च १२६३ र अर्को नम्बर नखुलेको एम्बुलेन्स तोडफोड गरेका हुन्।
जिल्ला बन्दको सबैभन्दा बढी प्रभाव लामो र छोटो दुरीका सार्वजनिक यातायातमा परेको छ। बन्दका कारण नेपालगन्जबाट बाहिर जाने र भित्रिने कुनै पनि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन, जसका कारण ठाँउठाँउमा यात्रुहरू बिचल्लीमा परेका छन्।

Tharuhat Protest 04

त्यस्तै बन्दका कारण बर्दियाको जनजीवन पनि प्रभावित भएको छ। कञ्न्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर मङ्गलबारदेखि गरिएको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको हो।

यही साउन २६ गतेदेखि अनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरेको थारु कल्याणकारी सभाले आज बर्दियाको सदरमुकाम गुलरियामा जनप्रदर्शनसहित नगर परिक्रमा गरी कोणसभा सम्पन्न गरेको छ।

Tharuhat Protest 08

बन्दका कारण यातायात पूर्णरुपमा ठप्प भएको छ। बन्दका कारण बर्दियाको सदरमुकाम गुलरियालगायत व्यापारिक केन्द्र राजापुर, भूरिगाउँ, ताराताल, मैनापोखर, बाँसगढीलगायतका क्षेत्र मङ्गलबारदेखि पूर्णरुपमा बन्द छन् । यातायात र बजारसँगै शिक्षण संस्था र कलकारखानासमेत ठप्प छन्।
त्यस्तै बन्दले कपिलवस्तु, रुपन्देही र नवलपरासीको थारु बाहूल्य क्षेत्रको जनजीवन बढी पनि प्रभावित बनायो। बन्दकर्ताहरुले बिहान ७ बजेदेखि मूल सडकमा गएर विरोध जनाएका थिए।

Tharuhat Protest 03

त्यस्तै चितवन थाकसले भोलि (शुक्रबार)देखि चितवनमा पनि आमहड्ताल आह्वान गरेको छ। आज साँझ भरतपुरमा सम्पन्न थारु अगुवाहरुको बैठकले भोलिदेखि साउन ३२ गतेसम्म थरुहट भूमि चितवनमा पनि बन्द आह्वान गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतोले जानकारी दिए।
बैठकपश्चात आजै साँझ सभाले प्रेस विज्ञप्ती जारी गरि भोलीदेखि बन्द आह्वान गरिएको जानकारी गराएको हो। सभाका सभापति विश्राम महतोद्धारा जारी विज्ञप्तीमा केन्द्रीय समितिले आह्वान गरेको सम्पूर्ण संघर्षका कार्यक्रममा समर्थन रहेको जनाएको छ।

Tharuhat Protest 01

चितवनमा बन्द आह्वान गर्ने बारेमा तीन दिनदेखि थारु अगुवाहरु आन्तरिक छलफलमा थिए। युवाहरुको चर्को दबाबपछि चितवनमा पनि बन्दको कार्यक्रम घोषणा गरिएको हो। केन्द्रीय समितिले साउन २७ गतेदेखि नै थरुहट/थारुवान क्षेत्रमा बन्दको आह्वान गरेको थियो।
Tharuhat Protest 07

यता पर्सा, बारा, रौतहटको विभिन्न स्थानमा पनि थारुहरुले प्रदर्शन गरेका छन्। पूर्वमा सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापाका थारु बाहूल्य क्षेत्रमा बन्दको आंशिक प्रभाव पर्‍यव। संघर्ष समितिले भोलि (शुक्रबार)देखि कडारुपमा बन्द गर्न बताएको छ।

भिडियो हेर्नुस्:

थाकसका जिल्ला पदाधिकारी/थारु नेताहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published.