थरुहट आन्दोलन चर्कियो (फोटो फिचर)

कैलाली र कञ्चनपुरलगायत कर्णालीपारिका जिल्लाहरू गाभेर ६ नम्बर प्रदेशको सीमांकन गरिँदा सुदूर तराईका थारू समुदाय झनै आक्रोशित हुन पुगेका छन् । उनीहरू थारू समुदायको पहिचानसमेत कायम हुने बेग्लै थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका छन् । सोमबार पनि कैलालीको सदरमुकाम धनगढीदेखि राजमार्ग किनारका अन्य बजारसँगै टीकापुर समेत बन्द रह्यो ।

Tharu Aandolan 01

थरुहट आन्दोलन परिचालन संघर्ष समितिले कैलालीका विभिन्न ठाउँमा विरोध जुलुस, विरोध सभा र मसाल जुलुस प्रदर्शन गरेका छन् । धनगढीको क्याम्पसचोकबाट विरोध जुलुस निकाली पार्क मोडमा पुगी कोणमा परिणत भएको थियो । बजार छेउछाउमा रहेका थारू गाउँबाट प्रत्येक घरबाट आन्दोलनका लागि बजारमा भेला हुने गरेका छन् ।
शनिबारदेखि थालिएको आमहडताल कैलाली कञ्चनपुरलाई पहाडी इलाकाबाट नछुट्याएसम्म जारी रहने थारू अगुवाहरूले बताएका छन् ।

धनगढीको कोणसभामा बोल्दै पूर्वसभासद तथा एनेकपा माओवादी पार्टीका कैलाली जिल्ला इन्चार्ज वीरभान चौधरीले सुदूरपश्चिमका ७ पहाडी जिल्ला, दुई तराई जिल्लासँगै कर्णालीपारिका जिल्ला जोडेर उत्पीडित जनताको अधिकार खोसिएको बताए । ‘राज्य पुन:संरचना गरिनु भनेको भूगोल मात्र मिलाएर हुँदैन,’ उनले भने, ‘उत्पीडनमा परेका जनताको समान अधिकारका लागि राज्य सत्तासँगको पहुँचलाई पनि जोड दिनुपर्छ ।’ उनले नेताहरूले जनता–जनता लडाउने अन्तरविरोध सिर्जना गराइरहेका बताए ।

Tharu Aandolan 02

त्यसैगरी संघीय समाजवादी फोरम लोकतान्त्रिकका होरीलाल थारूले विगतमा थरुहटको मागमा सम्झौता गरी थारू समुदायका जनतालाई भ्रममा पारी प्रदेश सीमांकनमा कुठाराघात गरेको आरोप लगाए । उनले सुदूर पश्चिमका ठूला भन्ने नेताहरूलाई कैलाली कञ्चनपुरमा राजनीति नगर्न आग्रह गरे । उनले ६ नम्बर प्रदेशबाट कैलाली कञ्चनपुरलाई नअलग्याए सरकारलाई असहयोग हुने खालको आन्दोलन गर्ने चेतावनी दिए ।

कैलालीको थारूबहुल क्षेत्र टीकापुरमा भेला भएका थारूवान पक्षधरले साइकल र्या ली गर्दै १४ किलोमिटरको दूरीमा रहेको लम्कीसम्म विरोध प्रदर्शन गरे । लामो समयदेखि उत्पीडनमा परेका थारू समुदायको पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानका लागि २०६९ जेठ महिनामा ३२ दिने आन्दोलनपश्चात् थरुहट/थारूवान संयुक्त संघर्ष समितिसँग सरकारले कैलाली कञ्चनपुरलाई थरुहट/थारूवान स्वायत्त प्रदेशमा राख्न १६ बुँदे सम्झौता गरेको थियो । ‘उक्त सम्झौता कार्यान्वयन हुन नसकेपछि आन्दोलनमा उत्रनुपरेको हो,’ आन्दोलनकारीका अगुवा रेशमलाल चौधरीले बताए ।

कञ्चनपुर पनि प्रभावित

कञ्चनपुर– कालिकोटको नानीकोट गाविसका खैरे कामी छोरीको उपचारका लागि १० दिनअघि भारतको हल्द्वानी गएका थिए । छोरीलाई हल्द्वानीमै छाडेर उनी आइतबार महेन्द्रनगर पुगे । यहाँ पुगेपछि विभिन्न समूहको बन्दका कारण यातायात बन्द हुँदा उनी बसपार्कमै अलपत्र परेका छन् ।

Tharu Aandolan 03

‘छोरीलाई उपचारका लागि हल्द्वानी छाडेर घर फर्किन लागेको हुँ,’ उनले भने, ‘तर यहाँ त बन्द रहेछ ।’ बस चल्ने भन्दै यातायात मजदुरहरूले घरीघरी झोलाझिम्टी छतमा राख्ने गरे पनि केहीबेरमा झार्ने गरेको उनले बताए । ‘आजै पनि ३/४ पटक गाडी चल्छ भनेर सामान छतमा राख्दै उतार्दै गरेको छु,’ उनले भने ।

अछाम मंगलसेनका मानबहादुर रोकाया पनि महेन्द्रनगर बसपार्कमा अलपत्र अवस्थामै छन् । उनी सिमलाबाट सोमबार बिहान मात्रै महेन्द्रनगर पुगेका हुन् । ‘१०/१५ दिनअघि सिमला गएको थिएँ, बिरामी भएर घर फर्किंदै छु,’ उनले भने, ‘तर यहाँ त झन् बिजोग होलाजस्तो छ ।’ उनी भोलिसम्म यातायात सञ्चालन नभए फेरि हल्द्वानी नै फर्किने मनस्थितिमा छन् ।
अखण्ड पक्षधरले सुदूरपश्चिम टुक्रयाउन नपाइने भन्दै ५ दिन अघिदेखि सुरु गरेको कैलाली बन्दका कारण यातायात सञ्चालन हुन नसकेको हो । ४ राजनीतिक दलहरूबीच ६ प्रदेशमा सहमति भएपछि अखण्ड पक्षधरले बन्द फिर्ता लिएपछि थरुहट पक्षधर आन्दोलनमा उत्रेका छन् । उनीहरूले कैलाली र कञ्चनपुरलाई थरुहटमै राख्नुपर्ने माग गरेका छन् ।

कैलाली बन्दकै कारण महेन्द्रनगरबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधनहरू चल्न सकेका छैनन् । कञ्चनपुरमा बन्द नभए पनि सुदूर र मध्यपश्चिमका पहाडी जिल्ला र काठमाडौंलगायत पूर्वतिर कैलाली भएरै यातायात चल्ने भएकाले सञ्चालन हुन नसकेको हो । जसका कारण यात्रुहरू झिटीगुन्टा बोकेर बसपार्कमै यताउता गर्न बाध्य छन् । ‘कहिले गाडी चल्ला भनेर दिनभरि याताउता गर्दैमा थाकियो,’ खैरेले भने, ‘बसवाला पनि यता र उता मात्रै बोलाउँछन् ।’

मोहन बुढाऐर/गणेश चौधरी/कान्तिपुर

Leave a Reply

Your email address will not be published.