सिकलसेल एनिमिया रोगका बिरामीको निःशुल्क उपचार हुने

दाङमा आयोजित सिकलसेल रोगको परीक्षण गर्दै थारु समुदाय।
दाङमा आयोजित सिकलसेल रोगको परीक्षण गर्दै थारु समुदाय।

नेपालगन्ज- भेरी अञ्चल अस्पतालले सिकलसेल एनिमिया रोगबाट प्रभावितको निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था मिलाएको छ। सो अस्पतालका प्रमुख चिकित्सक श्यामसुन्दर यादवका अनुसार आर्थिक अभावका कारण रोगको उपचार गर्न नसक्ने पश्चिम नेपालका नागरिकको निःशुल्क उपचारका लागि बढीमा रु एक लाखसम्मको खर्चमा उपचार गर्ने व्यवस्था मिलाएको छ।
अस्पतालले निःशुल्क उपचार सेवा सुरु गरेपछि त्यस रोगका बिरामी अस्पतालमा आउने क्रम दिनहुँ बढ्दै गएको छ। हालसम्म ८० जनाले उपचार गराइसकेको छ। सो रोगका बिरामीको प्रभावकारी उपचारका लागि अस्पतालले तीन दक्ष चिकित्सकसहितको स्वास्थ्यकर्मीको समेत व्यवस्था गरेको छ भने चाँडै छुट्टै वार्डसमेत सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको छ।
पश्चिम नेपालका तराईका जिल्लामा बसोबास गर्ने आदिवासी थारू समुदायमा सिकलसेलका हजारौँ बिरामी छन्। लामो समयदेखि थारू समुदायका बिरामीमा पेट, छाती, जोर्नी दुख्ने र जन्डिसको जस्तो लक्षण देखिएर उपचारका लागि अस्पतालमा पुग्थे । तर के कारणले बिरामीमा त्यस्ता लक्षण देखिएको हो भन्ने पहिचान नगरी अनुमानका भरमा औषधि उपचार हुँदा हजारौं बिरामी निको नभए पनि लाखौं रुपैयाँ खर्च हुँदै आएको थियो।
कतिपय बिरामी त नेपालगन्ज, काठमाडौँ मात्रै नभएर भारतको दर्जनौँ अस्पतालमा पुगेर जाँच गर्दा पनि निको नहुँदा समस्यामा परेकालाई अस्पतालको सो व्यवस्थाले ठूलो राहत मिलेको छ। रासस

Leave a Reply

Your email address will not be published.