‘अखण्ड सुदूरपश्चिम’विरुद्ध थारु सभासद्, एमालेका सभासद् अनुपस्थित

संविधानसभामा रहेका थारू सभासदहरूले कैलाली र कञ्चनपुरलाई ‘अखण्ड सुदूरपश्चिम’ मा नराख्न आग्रह गरेका छन्। काठमाडौंमा बसेका थारू सभासदको भेलाले प्रदेशको सीमांकनसहित संविधान ल्याउन माग राख्दै दुई जिल्लालाई ‘थरुहट प्रदेश’ मा राख्न माग गर्ने निर्णय गरेको हो।

उनीहरुले तराईका जिल्लालाई सीमांकन गर्दा उत्तर-दक्षिण नभइ पूर्व-पश्चिम गर्न आग्रहसमेत गरेका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै शुक्रबार संविधानसभा अध्यक्षसहित प्रमुख चार दलका नेतालाई ज्ञापनपत्र बुझाउने जानकारी दिए।

थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितले अधिकारका लागि लड्ने उचित समय यही भएको बताउँदै अहिले नगरे अधिकार कहिले नपाइने बताए। उनले त्यसका लागि चार दलका शीर्ष नेताहरुलाई भेटेरै दबाब दिन सुझाए।

फोरम लोकतान्त्रिकका सभासद् योगेन्द्र चौधरीले पनि कैलाली-कञ्चनपुरक थारुहटमै हुनुपर्ने जोड दिँदै त्यसका निम्ति सबै थारुहरु एक हुन जरुरी रहेको बताए।

माओवादीका सभासद् सन्तकुमार थारुले कैलाली कन्चनपुरलाई कुनै हालत नछाड्ने बताए। उनले त्यहाँ पनि उल्लेख्य थारु समुदायको बसोबास रहेकाले थरुहटमै हुनुपर्ने माग गरे। त्यसका निम्ति सदनदेखि सडकसम्म उत्रिन आफू तयार रहेको बताए।

बैठकमा नेपाली नेपाली कांग्रेसका बुद्धिसागर चौधरी, प्यारेलाल राणा थारु, एमाओवादीका सन्तकुमार थारु, गौरीशंकर चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरी, योगेन्द्र चौधरी, जनकराज चौधरी र थरुहट तराई पार्टीका गोपाल दहित र गंगा थारु, थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महाविर चौधरीलगायत उपस्थित थिए।

एमालेका सभासद् आएनन्

बैठकमा एमाले सभासद्लाई बोलाइए पनि कोही उपस्थित भएनन्। पार्टी ह्विपका कारण उनीहरु उपस्थित नभएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published.