साउन ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौँ- संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सभासद्हरुको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव सङ्कलन गर्ने कार्यलाई मध्यनजर गरी सुझाव सङ्कलन कार्य र अत्यावश्यक सेवामा प्रत्यक्षरुपमा संलग्न कर्मचारीबाहेकलाई साउन ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बैठकले बाराको कलैयामा बलात्कार भई उपचारका क्रममा निधन भएकी कञ्चनकुमारी ठाकुरका नजिकका हकदारलाई रु छ लाख आर्थिक सहयोग दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो।

साथै सरकारले बाराकै कलैयामा अपहरण गरी हत्या गरिएका भारतीय नागरिक अशिष साहका नजिकका हकदारलाई पनि रु छ लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षमा डा कुलबहादुर बस्नेतलाई नियुक्त गर्ने निर्णय गर्नुका साथै नेपाल स्वास्थ्य सेवाको अधिकृतस्तर १२ आँै तहमा डा किरण रेग्मी र डा मधुदेव भट्टराईलाई बढुवा गरेको मन्त्री डा रिजालले बताउनुभयो।

सरकारले त्रिभुवन र संस्कृत विश्वविद्यालयमा लामो समयसम्म रिक्त दरबन्दीमा करारमा कार्यरत भारतीय शिक्षकमध्ये पाँचदेखि १० वर्षसम्म काम गरेकालाई प्रति वर्षको आधा महिनाको, १० देखि १५ वर्षसम्म कार्यरतलाई प्रतिवर्ष एक महिनाको र १५ वर्षभन्दा बढी काम गरेकालाई प्रतिवर्ष डेढ महिना बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले स्थानीय शान्ति समितिको म्याद २०७३ असार मसान्तसम्म थप गर्नुका साथै राहत तथा पुनःस्थापना एकाइको म्याद २०७२ पुस मसान्तसम्म थप गरेको सञ्चारमन्त्री डा रिजालले बताउनुभयो।

बैठकले गरिब घरपरिवार सहयोग समन्वय बोर्डका कार्यकारी उपाध्यक्षको पदावधि बढीमा एक वर्षका लागि थप गर्नुका साथै स्वामी डा प्रपन्नाचार्यलाई आजीवन मासिक रु ३० हजार उपलब्ध गराउने निर्णय गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.