थारू संग्रहालयको शिलान्यास

Photot Surkhet 02

सुर्खेत– थारू कल्याणकारिणी सभा, सुर्खेतको आयोजनामा विनपा–१७ कालीमाटीमा भएको थारूहरूको भेलाले सुर्खेतमा थारू संग्रहालय तथा ठन्वा (मन्दिर)का लागि भवन निर्माणार्थ एक कार्यक्रमबीच शिलान्यास भएको छ । स्थानीय बुद्धिजीबी तथा समाजसेवी राजु थापा र रमेश थापाले कालिमाटीमा बन्न लागेको थारू संग्रहालय तथा ठन्वा निर्माणका भवन बन्ने जग्गाको संधियारमा केही जमिन उपलब्ध गराएपछि भवन निर्माण बन्ने पक्का भएको हो ।

स्थानीय बुद्धिजीबी एवं समाजसेवी तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति डम्मर जिसीले थारूहरूको विधिअनुसार फरूवाले खनी जल र रक्सी चढाएर शिलान्यास गरेका हुन् । शिलन्यासका क्रममा प्रमुख अतिथि जिसीले सुर्खेत उपत्यकाकै आदिवासी थारू जातिका मौलिक पहिचानका सांस्कृतिक वस्तु, हस्तकला, पुराना गरगहना, चालचलन, रीतिरिवाजमा प्रयोग गरिएका चिज आदि दिनप्रतिदिन लोप हुँदै गइरहेकाले यसको संरक्षण हुनु लागेकोमा खुशी व्यक्त गरे । थारू समुदायले गर्न लागेको यो कार्यले जिल्लामै थप पर्यटकीय क्षेत्रमा इँटा थपिने बताउँदै आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

स्थानीय बुद्धिजीबी राजु थापाले थारूहरूको यो महान कामको लागि सधैं सहयोग गर्न तयार रहेको बताए । उनले काम गर्दा सबैसँग समन्वय गरी चार किल्लाका मानिसलाई बोलाएर सबैको सहमतिबाट काम गर्न थाकसलाई सुझाव दिए ।

नेकपा एमालेका उपाध्यक्ष अमृत विसीले थारूहरूको पहिचान धरासयी बन्दै गइरहेको अवस्थामा यो प्रयास प्रशंसनीय रहेको बताउँदै दीर्घकालीन योजना बनाइ अघि बढ्नुपर्ने बताए । सबै वर्ग समुदाय क्षेत्रबाट समन्वय गरी सबैको साझा सम्पत्तिको रूपमा विकास गर्न सुझाव दिए ।

स्थानीय बुद्धिजीबी तथा समाजसेवी कानुनविद् धु्रवकुमार श्रेष्ठले आफू थारू गाउँमा हुर्किएकाले आफ्नै गाउँमा थारू संग्रहालय बन्न लागेकामा खुसी व्यक्त गर्दै जस्तोसुकै सहयोग गर्ने बताए ।

Photot Surkhet 01

थारू बुद्धिजीबी एवं थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद मानबहादुर चौधरी पन्नाले थारू संग्रहालय तथा ठन्वाका लागि आफू निरन्तर लागिरहेको र अझै कटिबद्ध भएर लागिरहने बताए । उनले संग्रहालय तथा ठन्वा निर्माणले यस क्षेत्रकै पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पुग्ने बताए ।  उनले जिल्लाकै प्रतिष्ठामा वृद्धि हुने भएकाले अब सबै राजनीतिक पाटी, बुद्धिजीबी, सबै समुदाय, व्यापारी, आमनागरिकको सहयोग हुनेमा आफू विश्वस्त भएको बताए । यसका लागि राज्यले सहयोग गर्नुपर्ने र थारू समुदाय पनि जुमुर्रानुपर्ने बताए ।

स्थानीय बुद्धिजीबी तथा समाजसेवी गणेश वलीले थारू संग्रहालय स्थापनासँगै थारू मन्दिर (ठन्वा) निर्माणले थारूहरूको धार्मिक परम्परासमेत संरक्षण हुने गरी दीगो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

वडा–१५ का नागरिक मञ्चका संयोजक एवं केन्द्रीय पार्षद भागीराम थारूले भोलिको पुस्ताले थारूहरूको अवस्था रहन–सहन भेषभुषा, संस्कार कस्तो थियो ? युवा पुस्तामा त्यो समेत सिकाउन नसकिने अवस्था आएपछि सबै थारूहरू लागि परेको बताए । सुर्खेती थारूहरूको यो साझा सबाललाई मुर्त रूप दिन थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभाले व्यापकरूपमा पहल गर्नुपर्ने सुझाव दिए ।

राप्रपा नेपालका प्रतिनिधि अमृत बहादुर रानाले राप्रपाको तर्फबाट थारू संग्रहालयका लागि संसद विकास कोषबाट दुई लाख पचास हजार रूपैयाँ विनियोजित भएको बताउँदै थारू उत्थान एवं विकासका लागि आफू पनि सहयोग गर्ने बताए । कार्यक्रममा स्थानीय बुद्धिजीबी विद्याभुषण मानन्धर, ऋषि गिरी, पासाङ महतरा, सागर बोहरा, सुवास श्रेष्ठ, विन्तीराम महतो लगायतका वक्ताले आफ्ना भनाइ राखेका थिए । कार्यक्रम थारू कल्याणकारिणी सभाका अध्यक्ष कृष्णबहादुर थारूको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन थाकसका सचिव पवन कुमार थारूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.