‘मेरो धोती बिकोस, टोपी बिकोस तर, कला मर्दैन’, यो कुनै दन्त्य कथाको हरफ होईन । साहित्य रचेर प्रकाशक खोज्दै हिँडेकी एक महिला स्रष्टाले यस्तो भनेकी हुन ।
साहित्यप्रति लगाव राख्ने उनी आफूलाई बहुमुखी प्रतिभाको रुपमा चिनाउन त सफल भइन् । तर, पैसा नभएपछि रचनाहरु मुद्रण हुन सकेको छैन । यतिखेर दुई वर्षे सन्तान काखी च्यापेर धनगढीको भीडमा प्रकाशक खोज्दै हिड्नु पर्ने बाध्यता उनलाई छ । कैलाली स्थित टीकापुर नगरपालिका-९ राजीपुरकी स्रष्टा दीव्य प्रयासीले यस्तो अवस्थासंग जुध्नु परेको हो ।
उनलाई धेरै व्यक्ति र संस्थाले आश देखाए । तर, सहयोग भएन । एक साहित्यिक कार्यक्रमको क्रममा भेटिएकी प्रयासीले दुखेसो पोख्दै भनिन्–‘यसअघि पनि तीन वटा संग्रह निकाल्नका लागि प्रयास गरे । मेरो रचना लिइयो । प्रकाशन गरिएन ।’
त्यसो त, महिला स्रष्टाहरु मुलुकमै थोरै छन् । औंलामा गिन्ती गर्न सकिने अवस्था छ । तर, भएकै स्रष्टाले पनि समयमा आफ्नो रचना बाहिर ल्याउन पाएनन् भने उनीहरुमा नैराश्यता बढ्न नसक्ला भन्न सकिन्न ।
साहित्यकार प्रयासीको रचना सुनेर वाहवाही गर्ने धेरै भेटिए । तर लगानी गर्ने सहयोगी अहिलेसम्म नभेटिएको उनीसंग अनुभव छ ।
साहित्यकार प्रयासीले यसअघि थारु भाषाको ‘बज्रा केवँरिया’, ‘टुटल मरैया’, ‘गजल गुञ्जन’ प्रकाशन गर्ने प्रयत्न गरेकी थिइन् । उनको रचनालाई मुद्रण गर्ने भन्दै केहीले पाण्डुलिपी लगेपनि । तर, मुद्रण त के, पाण्डुलिपीकै अत्तोपत्तो छैन ।
उनी भन्छिन्–‘२०६५ सालमा दिएको मेरा रचनाहरु प्रकाशन हुन सकेनन् । बरु जसलाई दिएको थिएँ । उहाँहरुको हातबाटै हरायो ।’
कविता, गजल, मुक्तक, निबन्ध, उपन्यास, कथा लेख्ने उनी पछिल्लो पटक गीत लेखनकार्यमा पनि हात हालेकी छन् । आफ्नो आर्थिक हैसियत नभएकाले व्यक्तिगत रुपमा एल्बम निकाल्न नसकी गीत अरुलाई दिने गरेकी छन् । प्रयासीले पछिल्लो गीत चर्चित गायक प्रमोद खरेललाई दिएको सुनाइन् ।
‘प्रमोद खरेल जी मेरो मन पर्ने गायक हुनुहुन्छ’, उनले भनिन्- ‘मैले आफैँ एल्बम् निकाल्न नसक्दा एउटा आधुनिक गीत प्रमोद जी लाई दिएको छु ।’
सानैदेखि साहित्यमा रुचि भएको उनी कृति प्रकाशन गर्न नसकेर बाहिर चर्चामा आउन नसकेकी प्रतिभा हुन्। प्रयासी कैलालीको पुराना स्रष्टा मध्येमै पर्ने साहित्यकार भएपनि अहिलेसम्म उनको एकमात्रै कृति प्रकाश हुन सकेको छ ।
‘यस अघि मेरो ‘मुस्कानके असरा’ भन्ने कृति प्रकाशित भएको थियो’, उनले भनिन्- ‘त्यसपछि मैले आफ्नो लगानीमा कुनैपनि कृति निकाल्न सकेन । प्रकाशक खोज्दै हिड्ने अवस्था आयो ।’
उनी आफू महिला स्रष्टा भएकाले संघसंस्थाहरुले प्राथामिकतामा राखेर सहयोग गर्नु पर्ने मान्यता राखेकी छन् । उनले भनिन्- ‘कसैले सहयोग गर्ला भन्ने आश राखेकी छु । तर, सहयोग पाइन भने मजदुरी गरेर भएपनि मेरो कृति प्रकाशन गर्नेछु ।’
पहिलाका तीन संग्रह प्रकाशन गर्न नपाएपनि अहिले ‘दीव्य सन्देश’ नामक नेपाली- थारु भाषामा रहेको सत्यवाणी पुस्तक निकाल्ने जमर्को प्रयासीले गरेकी छन् । तर, उनको प्रयास सार्थक हुने गरी सहयोग भएको छैन ।
आफ्ना पुराना संग्रह प्रकाशन नभएपनि निराश नभएको सुनाउ“दै उनले ‘दीव्य सन्देश’ प्रकाशन गर्न पाए पुराना सबै पीडा भुल्ने बताइन् । उनले भनिन्–‘धेरै मान्छे व्यक्तिगत स्वार्थका लागि सोच्छन् । तर, मेरो प्रतिभा बुझ्ने ठूलो हृदयका कोही न कोही होलान भन्ने आश गरेकी छु ।’
सुदूरपश्चिममा साहित्य र स्रष्टासंग सरोकार राख्ने विभिन्न संघ संगठनहरु छन् । तर, बहुमुखी प्रतिभाकी एउटा स्रष्टाले प्रकाशक चहार्ने अवस्था आउनु बिडम्बना रहेको उमाकान्त जोशीको बुझाई छ ।
उनले भने- ‘एउटा महिलालाई त्यसैपनि धेरै कामको चाप हुन्छ । त्यस्तो अवस्थाबाटपनि साहित्य लेखेकी महिला स्रष्टाले प्रकाशक खोज्दै हिड्नु पर्ने अवस्था आउनु लज्जास्पद हो ।’
जोशीले साहित्यसंग सरोकार राख्ने संस्थाहरु उल्लेख्य काम नगरेको भन्दै आलोचना गरे । ‘स्रष्टाको प्रतिभा उजागर गर्नु भन्दापनि कतिपय संघसंस्थाले साहित्यको ठेकेदारी गरेर खान मात्रै जानेका छन्’ उनको आरोप छ ।
साहित्य क्षेत्रमा काम गर्ने संघसंस्थाहरु आफै माग्ने अवस्थाबाट गुज्रेका कारण स्रष्टा प्रयासीलाई सहयोग नभएको हुन सक्ने सुदूरपश्चिम गजल मञ्चका पूर्व अध्यक्ष टोपेन्द्र शाह ‘रसिक’ ले बताए ।
उनले भने- ‘संघसंस्थाहरु आफै माग्ने अवस्थामा छन् । तर, महिला स्रष्टालाई हामी सबैले प्रोत्साहन गर्नु आवश्यक छ । हैन भने, उनीहरुमा साहित्यप्रति बितृष्णा जाग्न सक्छ ।’
साहित्यकार प्रयासीले प्रकाशक चहार्दै हिडेको देखेपछि उनीप्रति लेखक संघ कैलालीले सहानुभूती देखाएको छ । संघ आबद्ध केहीले व्यक्तिगत रुपमा केही रकम उठाएर उनलाई हस्तान्तरण गरेका छन् ।
उनीहरुकै सहयोगकका कारण प्रयासीको ‘दीव्य सन्देश’ छापाखानासम्म पुगेको छ । तर, त्यति रकम कृति प्रकाशनका लागि प्रयाप्त नहुने बताइएको छ । साहित्यकार प्रयासी आफूलाई सहयोग गर्ने हातहरुको प्रतिक्षामा छिन् ।
-पश्चिमटुडेबाट साभार