नयाँ वर्षको अगमनसँगै प्रकृतिको शुभकामना स्वरुप सिराहाको सलहेस फूलवारीमा फुल्ने अनौठो फूल यसपाली पनि फुलेको छ। लहान देखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीस्थित हारमको रुखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ।
यस फूवारीको असंख्य रुख मध्ये मालिनी मन्दिर दक्षिण टासिएको हारमको दुईवटा रुखमा वर्षको एक दिन(वैशाख १ गत्ते) माला आकृत फूल फुल्छ। यही दिन लाग्ने फूलवारी मेला भर्न आउने दर्शनार्थीको मूख्य आकर्षण यही फूल बन्ने गर्छ। नयाँ वर्षको दिन पूर्वाञ्चलबासीको मन फूलवारीमा तनिन्छ। सलहेसको गाथासंग जोडिएको माला आकृति फूल ‘सुनाखरी’ को विशेष प्रजाति भएको लहानका वन तथा वातावरण विज्ञ दिनेश यादव बताउँछन्।
यो पनि पढ्नुस् : पूर्वमा शिरुवा पर्व र फूलवारी मेलाको उल्लास
मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार, नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र दौना मालिनीको ‘प्रेम प्रतिक’ हो। दशौं पुस्ताका पुजारी धामी भन्छन्, सुरुवात देखि जुन रुखमा यो फूल फुल्यो अहिलेसम्म उही रुखमा उस्तै स्वरुपमा फुल्दै आएकोे छ। ‘फूलवारीको आकर्षण वर्षमा एक दिन फुल्ने ‘फूल’ हेर्न पूर्वी तराई र विहार र देशभित्रका अन्य जिल्लाबाट श्रद्धालु आउँने गर्छन्। भारत विहारबाट आउँने श्रद्धालुहरुमा ‘दुसाद’ जातिको संख्या उल्लेख्य रहेको पुजारी बताउँछन। राजा सलहेश ‘दुसाद’ जातिका कुल देवता भएकोले पुजा गर्न र मेला भर्न आउने भारतीय श्रद्धालुमा यो जातिको सँख्या उल्लेख्य हुन्छ।
भारत दरभँगाबाट मेला भर्न आएका झरी पासवानले फूलवारीको पहिलो अनुभूति यसरी सुनाए,’वर्षौ देखि सुन्दै आएको गाथा भन्दा यहाँको वास्तविकता हेर्न पाउँदा अलौकिक अनुभूति भयो। यस्तो आलौकिक फूल ६० वर्षको उमेरमा पहिलो पटक देख्न पाएँ पासवानले भने,’रुखकोबीचमा माला आकृत फूल!, आश्चर्य हो’। फूलवारीमा फूल शृंगार्ने ‘दौना मालिनी’ जो राजा सलहेससंग औधी प्रेम गर्थिन, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रुपमा प्रकट हुने लोकविश्वास छ।
एक दिन मात्र फुल्ने यो फूल दैविशति्कको प्रतिक हो, धार्मिक उपज हो वा कुनै वनस्पतिक विशेषता यस बारेमा ठोस अनुसन्धान भएको छैन्। लहानका वन तथा वातावरण विज्ञ यादव भन्छन्,’ सुनाखरीकोे ३५ प्रजाति मध्ये यो अनौठो हो।’ नेपालमा सुनाखरीको ८ प्रजाति पाइन्छ। वैशाख १ गते पूर्णरुपमा फुल फूलेर फक्रिनु र २ गते देखि विस्तारै मुर्झाउँदै जानु अद्भुत घटना भएको उनले भने। अरु फूल मुर्झाएर तिनका पात भुइँमा झर्छन तर, यो फूलको एउटै पत्र भुइँमा नझर्ने पुजारी धामी बताउँछन्। सलहेस फूलवारी र यो फुललाई संरक्षित फूल र वन बनाएर अनुसन्धान गर्नुपर्ने यादवको भनाइ छ।
मिथिलेश यादव/नागरिकन्युज