मीनराज चौधरी। राजकुमार लेखीजीको मन्तब्य पढ्न पाइयो। उहाँको धारणाअनुसार पद्मरत्न तुलाधरलाई कम्पनी भन्ने, विदेशबाट चन्दा असुल्ने संगठन भएको आरोप लगाउनुभएको छ। उहाँले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरिरहेको आन्दोलनप्रति कहिल्यै सकारात्मक सोँच राख्नु भएन।
बडा गजब लाग्छ। न गर्न सक्ने, न गरेको देखनसक्ने? उहाँको यस किसिमको अभिब्यक्ति र गतिविधिले समग्र आदिवासी जनजाति आन्दोलन कमजोर भइरहेको छ। नेपाल आदिवासी जनजाति महासंघ बिना जनजाति आन्दोलन नउठ्ने, जनजातिको मुक्ति नहुने धारणा राख्ने लेखीजीले महासंघको अधक्ष्य हुँदा विदेशीको सहयोगमा चलेको प्रोजेक्टको निर्देशक भएर तलब-भत्ता लिएको सबैलाई अगवत छ।
तपाईं नै भन्नुस् आज महासंघले गरेको आन्दोलन किन सशक्त हुन सकिरहेको छैन? ५९ वटा आदिवासी जनजातिको सिङ्गो महासंघले गरिरहेको आन्दोलन किन यति कमजोर छ? के हामी एक्ला एक्लै लडेर गन्तब्यमा पुग्न सक्छौं? तपाईँ महसंघको सल्लाहकार भएको नाताले पक्कै पनि गम्भीर भयर विश्लेषण गर्नुभएकै होला। पद्मरत्नल तुलाधरलाई कम्पनी भन्दै चन्दा उठाउने संगठन भन्दै आरोप नलगाउनुस्।
आन्दोलन गर्दा अर्थको पनि अति आवश्यक हुन्छ। हामी सबैले बुझेकै कुरो हो। यसर्थ आन्दोलनलाई सशक्त र सफल बनाउन देश विदेशमा रहेका शुभचिन्तक, साथीभाइ, इस्टमित्रले स्वइच्छाले दिएको रकमप्रति यति धेरै रिस नगर्नुस्। महासंघतर्फ फर्केर हेर्नुस्, महासंघसँग पैसा र प्रोजेक्ट भएन भने सायद ५९ जातिबाट सय जना पनि मानिस उपस्थित गराउन सक्दैन।
४० लाख थारु समुदायको प्रतिनिधित्व गर्ने थारु कल्याणकारीणी सभाभन्दा जेष्ठ संगठन हो। तर आज यो हविगत किन? यो सबै आम जनसमुदायले राम्ररी बुझिसकेका छन्। तपाईं थारु समुदायको प्रखर, सकृय एक अभियान्ता हो, तपाईंहरु जस्तो सकृय नेताहरु र थारु कल्याणकारीणी सभाबाट थारु समुदायले धेरै आशा एवं अपेक्षा गरेका छन्। त्यसैले यति संकीर्ण सोँच नराखनुस्। बरु सबै मिलेर संयुक्तरुपमा संघर्ष गर्ने वातावरण बनाउनको लागि पहली कदम लिनुस् यसैमा सबैको भलो हुनेछ।
लेखक थरुहट तराई पार्टी नेपालको सचिव हुन्।