प्रचण्डले धोका दिएको भन्दै मधेसी मोर्चाद्वारा छुट्टै आन्दोलनको तयारी

madhesi Morchaएकीकृत नेकपा माओवादी अध्यक्ष एवं ३० दलीय मोर्चाका संयोजक पुष्पकमल दाहालको भूमिकाप्रति शंका गर्दै तराई–मधेसकेन्द्रित राजनीतिक दलहरू अलग्गै संघर्ष गर्ने तयारीमा जुटेका छन्। आफ्नो असहमतिका बाबजुद पूर्वनिर्धारित आमहडताल फिर्ता लिने निर्णय मोर्चामा गराएपछि दाहालसँग असन्तुष्ट तराई–मधेसकेन्द्रित दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामार्फत सघंर्ष गर्ने तयारीमा लागेका हुन्।

तराई–मधेसकेन्द्रित पार्टीका युवा नेताले पनि शीर्ष नेतृत्वलाई अलग्गै कार्यक्रमका लागि दबाब दिइरहेका छन्। त्यसका लागि शीर्ष नेताहरूको अलग्गै बैठक बस्ने बारेमा गृहकार्य भएको सद्भावना पार्टीका महासचिव मनीष सुमनले बताए।

‘नेतृत्वकर्ता एमाओवादीले उचाइ लिइरहेको आन्दोलनलाई बीचैमा रोक्ने प्रस्ताव ल्याएर धोका दिएको निष्कर्ष मधेसी नेताहरूले निकालिरहेका छन्,’ सुमनले नागरिकसँग भने, ‘माओवादी मोर्चाबाट अलग भएर मधेसी मोर्चाबाट संघर्षका कार्यक्रम चलाउने प्रारम्भिक छलफल सुरु भएको छ।’ उनका अनुसार मंगलबार बैठकमा घोषित आमहडताल फिर्ता लिने दाहालको प्रस्तावमा मधेसी नेताहरूले असन्तुष्टि पोखेका थिए।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले पनि ३० दलीय मोर्चालाई असर नपर्ने गरी तराई–मधेसका मुद्दामा केन्द्रित भएर अलग्गै संघर्ष गर्नुपर्नेमा छलफल सुरु भएको बताए। ‘तराई–मधेसका मुद्दा अलग्गै प्रकृतिका छन्, त्यसलाई उठाउन मधेसी मोर्चाले अलग्गै कार्यक्रम दिनुपर्छ भन्ने बारेमा प्रारम्भिक छलफल सुरु भएको हो,’ त्रिपाठीले नागरिकसँग भने, ‘३० दलीय मोर्चाबाट सम्बोधन नहुने मुद्दा लिएर मधेसी मोर्चाले अलग्गै कार्यक्रम दिनुपर्ने भएको छ।’ उनले अहिले विभिन्न कारणले तराई–मधेस आन्दोलनका लागि तयार भएको बताए।

मंगलबार आमहडताल फिर्ता लिने दाहालको प्रस्तावमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादीका अध्यक्ष अशोक राई, समाजवादी लोकतान्त्रिक पार्टीका पासाङ शेर्पालगायतले असहमति जनाएको तमलोपा नेता बृषेशचन्द्र लाल बताए। ‘अधिकांशले आमहडताल फिर्ता लिनु हुँदैन भनेर जोडबल गर्नुभएको थियो्क तर प्रचण्ड (दाहाल) जीको सामु कसैको केही लागेन,’ लालले नागरिकसँग भने, ‘अचानक आएको त्यो प्रस्तावले हामीलाई शंकाको लाभ दिएको छ।’ उनका अनुसार बिहीबार रौतहटको गौरमा आयोजना हुने सभापछि तराई–मधेसकेन्द्रित दलका शीर्ष नेताको अलग्गै बैठक बस्ने तयारी छ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एमाओवादी नेतृत्वमा भन्दा पनि मधेसीकै नेतृत्वमा अलग्गै संघर्ष कार्यक्रम गर्न आन्तरिक रूपमा दबाब परेको बताए। ‘एमाओवादीले फेरि पनि मधेस र मधेसी जनतालाई धोका दिएको छ, अब अलग्गै संघर्षका कार्यक्रम लिएर जानुपर्छ भनेर आन्तरिक दबाब आइरहेको छ’ यादवले नागरिकसँग भने। उनका अनुसार विभिन्न पार्टीमा रहेका युवा नेताले शीर्ष नेतृत्वलाई छुट्टै संघर्ष गर्न दबाब दिइरहेका छन्।

तर, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव भने ३० दलीय मोर्चाभन्दा अलग गएर कुनै पनि कार्यक्रम गर्न नहुने पक्षमा छन्। ‘केही साथी आवेगमा आएर मधेसीको बेग्लै संघर्षका कार्यक्रम बनाउनुपर्छ भनिरहेका छन्, तर हाम्रो पार्टी ३० दलीय मोर्चाभन्दा अलग्गै कार्यक्रम बनाएर जाने पक्षमा छैन,’ यादवले नागरिकसँग भने।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाले आमहडताल फिर्ता लिने निर्णय गरेर मधेस र मधेसी जनतालाई गम्भीर धोका दिएको आरोप लगाइसकेका छन्। ‘सरकारले विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने ठोस प्रतिबद्धता जाहेर नगरेसम्म र मोर्चाले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भनेर ३० दलीय मोर्चाले चैत १ गते गरेको निर्णयविपरीत आमहडताल फिर्ता लिएर जनतालाई धोका दिएको’ फोरम नेपालले जनाएको छ।

सद्भावना पार्टीकी नेत्री सरिता गिरीले मधेस र मधेसी जनतालाई संविधानसभाबाट अधिकार दिन माओवादीसँग अलग हुनुपर्ने धारणा राखेकी छन्। ‘संविधानसभाबाट मधेसीलाई अधिकार दिलाउने नै हो भने मधेसी मोर्चाले अलग भएर स्वतन्त्र र अहिंसात्मक आन्दोलन गर्नुपर्छ,’ गिरीले भनेकी छन्। गिरी आबद्ध अनिल झा नेतृत्वको सद्भावना पार्टी ३० दलीय मोर्चाबाट डेढ महिनादेखि अलग रहँदै आएको छ।

आमहडताल फिर्ता लिने निर्णयपछि असन्तुष्ट मधेसी दलप्रति एमाओवादी भने आक्रमक देखिएको छ। ‘हामीले एउटा उद्देश्य प्राप्त गर्न मोर्चा बनाएका हौं, कुरा मिल्दासम्म एकै ठाउँमा बस्ने हो, नमिले अलग हुने हो,’ एमाओवादी सचिव टोपबहादुर रायमाझीले रिपोर्टर्स क्लबमा भने, ‘फुटने जुट्ने काम भइरहन्छ, कसैको ठेक्का लिन सकिँदैन। तराई–मधेसकेन्द्रित केही दल अलग भए पनि मोर्चालाई फरक पर्दैन।’

प्रकाश तिमल्सिना/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.