कथा अमलटारीको (थारु होम-स्टे)

Amaltari_Tharu Homestay 05

सन्तोष पोखरेल- ‘थारु होम–स्टेमा आउनु भएको छ। यहाँलाई हाम्रो गाउँमा हार्दिक स्वागत छ’ गाउँ प्रवेशको मुखैमा रहेको सामुदायिक भवन अघिल्तिर थारु पहिरनमै सजिएका महिलाले निधारमा रातो टिका लगाइदिँदै फूलको गुच्छा दिएर यिनै शब्दले स्वागत गर्छन्। अनि बल्ल सुरु हुन्छ, अमलटारी होम–स्टेको कहानी। चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्ज जोडिने चितवन, मकवानपुर, नवलपरासी र पर्साका भुभाग समेटेर मध्यवर्ती क्षेत्र बनेको छ। मध्यवर्ती क्षेत्र ७ सय ५० वर्ग किलोमिटरमा फैलिएको छ। मध्यवर्ती क्षेत्रभित्रै पर्ने नवलपरासीको अग्यौली गाउँको बाघखोर जुन अहिले कावासोती नगरपालिका– १५ मा पर्छ। यहिँ गाउँमा छ–अमलटारी मध्यवर्ती होम–स्टे।

बागखोर गाउँ कुनै बेला निकुञ्जका जंगली जनावरबाट सताइएको थियो। बालिनाली देखि मानवीय क्षति समेत तीनै जंगली जनावरले गरे। जनावरको आक्रमणमा परेर घाइते त कति भए कति, लेखाजोखा नै छैन। जनावरबाट वाक्वदिक्क भएका गाउँले वनजंगल जोगाउनुपर्छ भन्ने शब्द समेत सुन्न चाहदैनथे। वनजंगल जोगाए झनै बढि जंगली जनावर बढ्ने र त्यसको खतरा आफुहरुलाई नै हुने उनीहरुको सोच थियो। वन जोगाउनुको साटो नोक्सान गर्नपट्टि उनीहरु अग्रसर हुन्थे। कसरी हुन्छ वन मास्नुपर्छ भन्ने ध्यान थियो।

Amaltari_Tharu Homestay 03

जंगली जनावरको अवैध शिकार र ओसारपसार गर्ने गतिलो आश्रयस्थल पनि बनेको थियो बाघखोर गाउँ। जनावर मार्ने र नोक्सानको कुनै लेखाजोखा थिएन। राष्ट्रिय निकुञ्जसँग जोडिएपनि गाउँलेले वनबाट कुनै फाइदा लिन सकेका थिएनन्। उल्टो सताइएका थिए। वन्यजन्तु देखाएर आम्दानी गर्न सकिन्छ भन्ने त गाउँलेलाई ज्ञानै थिएन। न त चाँसो नै थियो।

जब केहि अगुवा र संस्थाले वनलाई संस्थागत गर्नेतर्फ लागे। गाउँलेलाई आत्मनिर्भर बनाए मात्र वन जोगिने अगुवाको सोचपछि बल्ल गाउँ परिवर्तनतिर ढल्कियो। गाउँसँग जोडिएको गुन्द्रही ढकाहा वनलाई सामुदायीक वनाएपछि बल्ल गाउँले मुहार फेर्न थालेको हो। वन संरक्षण नहुन्जेल कहिलेकाहि एकादुइ एकसिंगे दुर्लभ गैडा देख्न पाईन्थ्यो। सबै अवैध शिकारको फन्दामा परेका थिए। वन त जोगिएको थिएन नै, गाउँ पनि उजाड लाग्दो थियो। पढेलेखेका युवा कोहि थिएनन्। घरमा महिला, वृद्ध र बालबालिका मात्रै थिए। खेतीकिसानी गर्दै उनीहरुले जिविकोपार्जन गर्थे। हत्तपत्ति युवा देखिदैनथे। अधिकांश विदेश पलायन थिए। खाडि मुलुक पुग्नु नै युवाको लक्ष्य थियो। जोस, जाँगर र उत्साह केहि थिएन। जव वन संरक्षण हुन थाल्यो, गाँउले बिस्तारै कोल्टे फेर्न थाल्यो। यदाकदा देखिने एकसिंगे गैडा पनि २५ मा उक्लिए। एकसिंगे गैडा औसी पुर्णिमा जस्तै हुने गरेकोमा अहिले दिनहुँ देख्न पाउँदा गाउँले दंग परेका छन्।

Amaltari_Tharu Homestay 04

आउँदो जेठ ५ गते अमलटारीमा होम–स्टे सुरु भएको दुईवर्ष पुग्दैछ। होम–स्टे सुरु भएदेखि अहिलेसम्म गाउँलेले १६ हजार स्वदेशी पाहुनालाई स्वागत गरिसकेको छ। ती मध्ये ५ सय ५० जना विदेशी पाहुना छन्। गाउँका २१ घरमा होम–स्टे छ। हरेक घरमा ४ जनाको दरले पाहुना बस्न पाउँछन्। एकरातमा ८४ जनालाई आतिथ्यता दिनसक्ने गाउँसँग क्षमता छ। गाउँले अहिलेसम्म पाहुना भित्रयाएर करिब ८१ लाख रुपैयाँ कमाइसकेको छ।

होम–स्टे सुरु भएपछि गाउँको मुहार फेरिएको छ। विदेशीएका युवा गाउँ फिरेका छन्। होम–स्टे भएका घरले मात्र नभई अन्यले पनि त्यसैलाई देखाएरु आम्दानी लिन सकेका छन्। गाउँमै रहेका बोटे मुसहर बस्तीले पनि होम– स्टे बाट फाइदा पाएका छन्। होम–स्टे बोटे, मुसहर लगायतका धेरै थारु समुदायका बासिन्दाले हलेदो खेती गरेका छन्। कतिपयले तरकारी खेतीसँगै कुखुरा पाल्न थालेका छन्। पालेका कुखुरा गाउँमै खपत भएपछि उनीहरुलाई बजारको अभाव छैन। मुसहर र बोटेको जीवनस्तर उकास्न दुई समुदायका लागि ४–४ वटा माछापोखरी बनाइएको छ। तीनै पोखरीमा माछा पालेर मुसहर र बोटेले आम्दानी गरेका छन्।

होम–स्टे संचालन गरेको अमलटारी मध्यवर्ती होम–स्टे समितिका अध्यक्ष प्रेमशंकर मर्दनीया थारु हिजोका दिन सम्झँदा निकै दुखी हुन्छन्। ‘हाम्रो गाउँको अवस्था भनिसाध्य छैन। मान्छेले चाहे गएगुज्रेको गाउँको मुहार पनि फेर्न सक्ने रहेछन् भन्ने यहिँ पुष्टि भएको छ’ उनी भन्छन्, गाउँको आम्दानी त बढेको छ नै गाउँले पनि निकै खुसी छन।’ ‘गाउँमा पाहुना आउन थालेपछि यहाँको जीवनस्तरका फरक आयो। नौलो अनुहार देख्दा डराउने गाउँले अहिले घरमै पाहुना बसाउन पाउँदा निकै दंग छन्’ उनले भने, ‘गाउँको मुहार नै फेरिएको छ। गाउँलेको मनै फेरियो, अनि नियति र दैनिकी पनि फेरियो।’

गाउँमा होम–स्टे बनाउन चितवन राष्ट्रिय निकुञ्ज, विश्व वन्यजन्तु कोष (डब्लुडब्लएफ) लगायतका निकायले सघाएका थिए। सबैतिरबाट पछाडि परेको गाउँको विकासको लागि तीनै दाताको सहयोगमा हरेक घरले ५० हजार रुपैयाँ सहयोग पाए। अपुग रकम घरमुलीले नै खर्चे। होम–स्टे बनाउन हरेक घरले करिब २ लाख रुपैयाँसम्म खर्चेका छन्। त्यो रकमले चिटिक्कको घर बनाएर आवश्यक सामान राखिएको छ। ‘अन्यत्रका होमस्टेमा पाहुना जाँदा घरमुलि अन्यत्र बास बस्न जानुपर्छ। तर, यो अवस्था यहाँ छैन’ अध्यक्ष थारु भन्छन्, ‘पाहुना र घरमुलिको लागि शौचालय समेत भिन्दाभिन्दै छन्।’ पाहुनालाई कुनै बाधा नहोस भनेर हरदम सचेत हुन थालेका छन्।’ होम–स्टे सुरु भएपछि घरमुलीलाई घर वरिपरिको सरसफाई, पाहुनाको स्वागत, खानपीनको व्यवस्था गर्दै दिन बितेको पत्तो हुँदैन।

Amaltari_Tharu Homestay 01

विभिन्न गाउँमा होम–स्टे संचालन भएपनि बाघखोरको यो होम–स्टे साच्चैको सुविधायुक्त छ। गाउँ प्रवेशसँगै स्वागत थापेपछि कुन घरमा बस्ने भन्ने समितिले नै व्यवस्था मिलाईदिन्छ। एक घरमा चारजना मात्र बस्न मिल्छ। होम–स्टे भएका घरमा पाहुनाका लागि सानो आकारको घर बनाइएको छ। हरेक घरमा २/२ कोठा छन्। कोठामा दुईजना सुत्न मिल्ने गरि खाट राखिएको छ। अट्याच वाथरुम सहित २४ सै घण्टा पानीको व्यवस्था छ। बिजुली बत्ती नभएको बेला सोलारको उज्यालो पाइन्छ। कोठाका आवश्यक सबै सामानको जोहो गरिएको छ। खाना खानका लागि बाहिर भिन्दै कटेज बनाइएको छ। कतिपयले पाहुनालाई भान्सामै बसाएर पनि खुवाउँछन्।

हरेक कोठाको एकरातको शुल्क ५ सय रुपैयाँ छ। मासु खानाको २ सय र सादा खानाको १ सय रुपैयाँ तिर्नुपर्छ। बिहान नास्ताको १ सय रुपैयाँमात्र लाग्छ। विदेशीले भने कोठाको ८ सय, सादा खानाको १ सय ५० र मासु सहित २ सय ५० रुपैयाँ तिर्नुपर्छ। घरमा बस्ने पाहुनाले गाउँकै उत्पादन खान पाउँछन्। गाउँलेले पाहुनालाई गाउँमै पालिएका कुखुरा देखि उत्पादित तरकारीसँग खाना खुवाउँछन्। बिहान नास्ता पनि गाउँकै उत्पादन हुन्छ। नास्ताको रुपमा थारु परिकार चिचर (चामल उसिनेर बनाईने परिकार), सजुवा रोटी (चामलको रोटी) लगायत खान पाइन्छ। हाँसको छोइला, घुँगी, माछा समेत यहाँ पाईने थारु खाना हुन्। ती परिकारको पनि स्वाद लिन पाइन्छ।

Amaltari_Tharu Homestay 02

खानपिन सकेपछि हरेक दिन बेलुकी पाहुनाको अनुरोध बमोजिम थारु र बोटेको सांस्कृतिक कार्यक्रम पनि हेर्न पाइन्छ। थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाँच यहाँ देख्न पाइने सांस्कृति कार्यक्रम हुन्। थारु र बोटे पहिरनमा ठाँटिएका युवायुवतीले राती ८ बजेदेखि २ घण्टासम्म मनोरञ्जनात्मक कार्यक्रम पस्किन्छन्। आफ्नै भाषा, लवज र स्वरमा पस्किने मनोरञ्जनात्मक कार्यक्रमको अन्तिममा चल्तीका गित सुनाएर पाहुनालाई नाचौनाचौ बनाउँछन्। पाहुनालाई नाच्न आग्रह गर्दै कुर्सिसम्मै लिन आईपुग्छन्। हरेक दिन बिहान जंगलभित्र जिप सफारी, हात्ति सफारी, नारायणी नदिमा बोटिङ, पोखरीमा फिसिङ, पैदलवाक गर्न पाईन्छ। त्यसका लागि समय र प्रकृति हेरेर भिन्दै शुल्क तिर्नुपर्छ। जंगली गतिविधिमा जान चाहनेलाई गाइडको साथ लगाउँछन्। गाउँमै ‘कोसेली घर’ बनाएर पाहुनाले उपहार किन्ने व्यवस्था समेत मिलाउने तयारी भइरहेको छ। त्यस्तै ‘मिनि संग्रहालय’ बनाउने पनि गाउँको योजना छ।

अग्यौली गाउँ अहिले पुरै व्यस्त छ। गाउँमा अहिले कसैलाई फुर्सदिलो भेटाउन सकिन्न। बिहान उठेर घर सरसफाइदेखि पाहुनाको रोजाईको नास्ता तयार पार्नेमा उनीहरु व्यस्त हुन्छन्। राती पाहुना सुतेपछि मात्र गाउँलेले आराम पाउँछन। होम–स्टे संचालकले चाहदैमा धेरैजना पाहुना पाउने होईन। समितिले नै तोकेर घरघरमा पाहुना पठाउने गर्छ। दिनैपिच्छे पाहुना राखेर धेरै आम्दानी गरौला भन्ने मौका कसैले पाउँदैन। समितिले सबैलाई समान हुनेगरि पालैपालो घरघरमा पाहुना पठाउँछन्।

‘कोहि घरले कमाउने, कोहि पाहुना नपाएर छटपटिने भन्ने हुँदैन। सबैले समान तरिकाले पाहुना राख्न पाउँछन’ होम–स्टे व्यवस्थापक धनीराम गुरौ भन्छन्, ‘सबैले बरोबर कमाई गरुन भनेर यो व्यवस्था गरेका हौ। कसैले बढि र कसैले कम कमाउने भन्ने रहन्न।’ मासिक २० हजार रुपैयाँसम्म घरले कमाउँछन्। घरमा बसेका पाहुनाले गास र बासको पैसा घरमुलीलाई तिर्नुपर्दैन। समितिलाई नै तिर्ने हो। मासिक रुपमा जम्मा भएको पैसामध्ये १० प्रतिशत कटाएर समितिले घरमुलीलाई बुझाउँछ। कसैलाई बीचमा पैसा आवश्यक परे पेश्की पनि समितिले दिलाउँछ। काटिएको १० प्रतिशत समिति व्यवस्थापनमा खर्च गरिन्छ।

पाहुनाको आकर्षण बढ्दै जान थालेपछि अहिले बाघखोर गाउँ बिहानैदेखि बेलुकीसम्म व्यस्त रहन्छ। पाहुनाको स्वागतमा खट्ने बाहेक घरका अरु सदस्य काममा खट्छन। होम–स्टे सुुरु नहुन्जेल यहाँका युवाहरु काम नपाएर यता र उता बरालिने गर्दथे। अहिले केहि न केहि काममा व्यस्त छन्। घरमा हत्तपत्ति पाहुना खाली नहुने भएपछि उनीहरुका लागि चाहिने खानेकुरा जुटाउँदा पनि उनीहरु बेफुर्सदीलो हुन्छन्। युावहरुको दौडधुप चलिरहन्छ।

होम–स्टेमा बास बस्न पालै कुनुपर्ने अवस्था आउन थालेको छ। अग्रिम बुकिङ नगरे बास बस्न समेत पाईदैन। ८४ जना अट्ने होम–स्टेमा कहिलेकाहिँ त १ सय जना भन्दा बढि पाहुना हुन्छन्। उनीहरुलाई मिलाएर राख्नुपर्दा सबैभन्दा ठुलो चुनौती व्यवस्थापनलाई हुन्छ। अधिकांश एकै समुहमा आउने भएकोले पनि क्षमता भन्दा बढि भएका पाहुनालाई अहिलेसम्म मिलाउन सकेको व्यवस्थापक गुरौ बताउँछन। पछिल्लो समय कतिपय संस्थाले गोष्ठि, सेमिनार र तालिम पनि यहि गाउँमा गर्न थालेका छन्। त्यसले पनि गाउँमा हत्तपत्ति पाहुना खालि हुन छाडेका छन्। सातासम्मको लामो कार्यक्रम लिएर आयोजक गाउँ पुग्न थालेका छन्। त्यसले स्थानीयलाई झनै व्यस्तता दिलाएको छ।

Amaltari_Tharu Homestay 06

‘एकयुवा एक रोजगार’ को नारा गाउँलेले अंगालेका छन्। कोहि पनि फुर्सदिलो बस्न नपरोस भनेर युवायुवतीलाइ विभिन्न सीपमुलक काम दिलाईएको छ। कोहि गाडि चलाउँछन् भने कोहि खेतीपातीमा व्यस्त छन्। कतिपय पर्यटकलाइ जंगल टुर गराउने गाइड बनिसकेका छन्। केहि न केहि काम युवाले पाएका छन्।

वज्यजन्तु, पर्यापर्यटन र जीवजन्तुसँग निकै शत्रुता रहेको यो गाउँ र गाउँले अहिले तीनै वन्यजन्तुसँग मित्रवत व्यवहार गरिरहेका छन्। वन्यजन्तु र जंगल देखाएर गाउँलेलाई आम्दानी दिलाउन सफल भएपछि अहिले जो कोहिलाई हत्तपत्ति वन्यजन्तु बारे सूचना पनि दिँदैनन्। ‘होम–स्टेमा बास बस्न आउने सबै एकैनासका हुँदैनन्। कतिपयमा शिकार गर्ने र जंगली जनावर ओसारपसार गर्ने नियत पनि हुनसक्छ। त्यहि भएर हामीले सबैलाई कुन जनावर कहाँ बस्छ र कतिखेर आउँछ भनेर जानकारी दिन्नौ’ व्यवस्थापक गुरौ भन्छन्, ‘यसले वन्यजन्तुको सुरक्षामा समेत सहयोग पुगेको छ।’

समुदायको अर्काे राम्रो पक्ष होम–स्टेमा दिउँसोमा गएर आराम गर्छाै भन्नेले कोठा पाउँदैन। रात बस्नैपर्ने अनिवार्य छ। केहि होटलले युवायुवतीको जोडिलाई दिउँसो पनि कोठा बेच्ने गरेको र त्यसले नराम्रो सन्देश फैलिने गरेको थाहा पाएपछि गाउँले त्यसप्रति सचेत छन्। ‘दिनभरका लागि कोठा चाहियो भनेर आउने जोडि वा जो कोहि होस। उसले कोठा पाउँदैन। बरु पाहुना नै राख्दैनौ, तर दिनका लागि कोठा दिन्नौ’ अध्यक्ष थारुले भने, ‘दिउँसोमा पनि कोठा बेच्न थाल्ने हो भने गाउँमा विकृति फैलिन्छ।’

पाहुना र गाउँको सुरक्षार्थ स्थानीय युवाहरुले गस्ती पनि गर्छन। गाउँका युवाहरु ७ जनाको समुह बनाएर रातभर गस्ति गर्छन। यसले गाउँको सुरक्षासँगै जंगली जनावरबाट जोगिने गरेको छ। नजिकै रहेको सेनाको र युवाको गस्तिले गाउँ सुरक्षित छ।

पुर्व पश्चिम महेन्द्र राजमार्गको नवलपरासीस्थित डण्डाबाट ७ किलोमिटर भित्र पर्ने यो गाउँमा नियमित गाडि पाइन्छ। केहि गरि ढिलाई हुन गएर सवारी नपाए होम–स्टे संचालकले गाउँसम्मै लैजाने व्यवस्था छ। त्यसका लागि युवाहरुले मोटरसाइकलको जोहो समेत गरेका छन् गाउँ आउन लागेका पाहुना सवारी नपाएर अलपत्र नपरुन भनेर सेवा दिन मोटरसाइकल किनेका छन्। तीनै युवा पाहुना ओसार्न राजमार्गसम्म पुग्छन। बसेका पाहुनालाई बिदाइ गर्ने यहाँको चलन छ। ‘हाम्रो गाउँमा आएर बसिदिनु भो। यसका लागि धेरै धन्यवाद। यहाँहरुको यात्रा शुखद् होस। फेरि पनि आउँदै गर्नुहोला’ विदाई गर्दा टिका लगाएर हातमा फूल दिएर यहाँको यात्रा सकिन्छ।

 

प्रेमशंकर मर्दानिया थारु

अध्यक्ष

अमलटारी मध्यवर्ती होम-स्टे

Prem Shankar Mardaniya Tharuदुईवर्ष अघिसम्म यहाँको गाउँ निकै उजाड थियो। गाउँले जंगली जनावरबाट पीडित थिए। जनावरबाट गाउँलेले राहतको साटो आहत पाएका थिए। तर, होम–स्टे सुरु भएपछि गाउँको मुहारै फेरिएको छ। गाउँलेले आयआर्जन गर्न थालेका छन्। घरमै बसिबसि मासिक २० हजार रुपैयाँसम्म कमाउन थालेका छन्। गाउँ सरसफाई र सुग्धर बनेको छ। बाटोघाटो सफा छ। कसैले एउटा कागजको टुक्रो समेत बाटोमा फ्याक्दैन।

जंगली जनावर र वनलाई देखाएर आम्दानी हुन थालेको छ। होम–स्टे चल्नुअघि गाउँलेमा पर्यटन, संस्कृति, पर्यापर्यटनबारे ज्ञान थिएन। संस्कृति, प्रकृति, वन्यजन्तु जोगाएर आम्दानी गर्न सकिन्छ भन्ने मा विश्वास नगर्ने गाउँले अहिले तीनैलाई देखाएर कमाउन सकेका छन्। यसले गाउँको विकास भएको छ। विदेश गएका गाउँले घर फर्केर पाहुना स्वागत गर्न थालेका छन्। समुदायबीच एकता कायम भएको छ। हिजो वन्यजन्तुबाट पीडित भएका गाउँले अहिले तीनै वन्यजन्तु देखाएर आम्दानी हुन थालेपछि संरक्षण गर्नुपर्छ भन्न थालेका छन्। गाउँको गरिबि घटेको छ। झुपडिको बास पक्किघरमा बिस्तार भएको छ।

Leave a Reply

Your email address will not be published.