‘जनताले आन्दोलन चाहेकै छैनन्’

Bijay-Kumar-Gachchhadar

एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलनलाई उचाइमा पुर्‍याउने भन्दै संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । तर मोर्चाकै एक घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिइरहेका छन् । मोर्चाका कतिपय निर्णयप्रति उनले सार्वजनिक रूपमै फरक मत राख्दै आएका छन् । आन्दोलन मात्र विकल्प हो भन्ने धारणाप्रति चर्को असहमति राख्ने गच्छदारसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :

तपाईंसमेत सहभागी विपक्षी मोर्चाले आन्दोलन उचाइमा पुर्‍याउने निर्णय गरेको छ । तर तपाईं आन्दोलन ठीक छैन भन्दै हिँड्नुभएको छ, किन ?

जनताले आन्दोलन चाहेकै छैनन् । मुलुक फेरि राजनीतिक मुठभेड र द्वन्द्वमा जाओस् भन्ने चाहेका छैनन् । जनताले शान्ति र संविधान चाहेका छन् । यस्तो अवस्थामा वार्ता र छलफलबाटै सहमतिमा पुग्नुपर्छ । सहमतिमै संविधान जारी गर्नुको विकल्प छैन । आम सहमति नभए पनि विगतका आन्दोलनकारी शक्तिहरूबीच अधिकतम सहमतिमा संविधान जारी गर्नुपर्छ ।

त्यसो भए मोर्चाले आन्दोलनको निर्णय गर्दा किन विरोध नगर्नुभएको ?

प्रक्रियाबाट संविधान जारी गर्ने सत्तापक्षको हठका कारण आन्दोलन बाध्यात्मक बन्न पुगेको हो । सत्तापक्षले त्यो हठ त्याग्नुपर्छ । अर्कोतर्फ चर्को आन्दोलन गर्ने, आमहड्ताल, अनिश्चितकालीन नेपाल बन्दजस्ता अतिवादी सोच पनि ठीक छैन । हाम्रो आन्दोलन सत्तापक्षमाथि दबाब सिर्जना गर्न मात्र हो । सत्तापक्षलाई सहमतिको बाटोमा फर्काउनका लागि हो ।

तर मोर्चाले आमहड्तालसम्मका कार्यक्रम घोषणा गरिसक्यो नि ?

अझै पनि २/४ दिन बाँकी छ । यसबीच वार्ता र छलफलबाट सहमतिमा पुग्नुपर्छ । समयको सदुपयोग गर्नुपर्छ ।

मोर्चाले त सत्तापक्षले सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धतासहित ठोस प्रस्ताव नल्याएसम्म वार्तामै नबस्ने निर्णय गरेको छ त ?

सत्तापक्षले विगतका सम्झौताका र आन्दोलनकारी शक्तिबीचको अधिकतम सहमतिका आधारमा संविधान जारी गर्न तयार छौ भनेर प्रतिबद्धता जनाउँदा के बिग्रन्छ ? सत्तापक्षले विश्वसनीय र ठोस आधार तयार गर्‍यो भने वार्तामा बस्दिन भन्नु हुँदैन । संविधानसभाबाट सहमतिमै संविधान जारी गर्नु हाम्रो प्रमुख दायित्व हो ।

मोर्चाले चैत २३ को संविधानसभा बहिष्कार गर्ने निर्णय गरेको छ । प्रक्रिया अगाडि बढ्यो भने त संविधानसभामै रहने कि नरहने भनेर समीक्षा गर्ने भनेको छ, के भन्नुहुन्छ ?

सहमतिमा संविधान जारी गर्ने ठोस् आधार नबन्दासम्म हामी संविधानसभामा जाँदैनौं । तर संविधानसभा नै परित्याग गर्ने भन्ने अपरिपक्व कुरा हो । यही संविधानसभाका लागि हजारौंको रगत बगेको छ । संविधानसभा त्याग्नु भनेको सहिदहरूको अपमान हो । हामी संविधानसभाबाटै संविधान जारी गर्न भनेर आएका हौं । त्यसैले यहीभित्र रहेर संघर्ष गर्नुपर्छ । परित्याग गर्नु भनेको संविधानसभालाई औचित्यहीन बनाउनु हो ।

भनेपछि विपक्षी मोर्चाकै कतिपय घटकका धारणाप्रति तपाईं सहमत हुनुहुन्न ?

हो, मोर्चाभित्रका कतिपय घटक र नेतामा चरम अतिवादी सोच छ । आन्दोलन मात्र विकल्प हो भन्ने, सत्तापक्षले १० प्रदेशको खाकामा सहमति नगरेसम्म वार्तामै बस्नु हुँदैन भन्ने कुराप्रति मेरो विमति छ । मोर्चाका संयोजक प्रचण्ड (एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल) ले समन्वयकारी भूमिका खेल्नुपर्छ । फेरि मुलुकलाई मुठभेड र द्वन्द्वमा जानबाट रोक्नुपर्छ । उहाँले विगतमा पनि त्यत्रो सशस्त्र युद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएर परिपक्व नेताको भूमिका खेल्नुभएको छ । अहिले पनि मुलुक र राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर सहमतिबाटै संविधान जारी गर्न उहाँले जिम्मेवार भूमिका खेल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.