दासतापछि नयाँ जीवन पाएका मुक्त कमलरी

Deepa Chaudharyर्गालाल केसी- कम्लरी मुक्त भएर विद्यालय जान थालेको भर्खर दुई वर्ष बितेको थियो । दीपा चौधरी उज्ज्वल भविष्यको कल्पना गरिरहेकी थिइन्, अचानक एक दिन उनको जीवनमा अनौठो घटना आइपर्‍यो । पैसा सकिएपछि दाजु भगतनारायणले उनलाई जुवामा थापेछन् । जुवा खेलिरहेका चार जनामध्ये एक युवकले जिते अनि उनले दीपालाई विवाह गर्न पाउने भए । दाजु ती युवकलाई लिएर घर आए र जबरजस्ती विवाहका लागि टीकाटाला गरिदिए ।

०५८ मा कम्लरी मुक्त भएपछि ६ महिनाको बि्रजकोर्स सकेर उनी एकैपटक ५ कक्षा भर्ना भएकी थिइन् । दाइले जुवामा हार्दा उनी गाउँकै चैनपुर स्कुलमा ७ कक्षा पढ्दै थिइन् । गंगापरस्पुर ७ लोखरपुर गाउँमा उनको घर थियो । पढ्न जानेभन्दा काम गरेर कमाउने कुरालाई परिवारले महत्त्व दिन्थ्यो । उनले जिद्धी गरेर पढ्न थालिन् । जुवामा हारेर विवाह गरिदिने तयारी भएपछि उनी निकै चिन्तामा परिन् । ‘म त अचम्म परेँ । केही भन्नै सकिनँ । निकै तनाव भयो,’ उनले भनिन्, ‘दासताबाट मुक्त भएर नयाँ जीवन सुरु गर्न थाल्दा झन् ठूलो समस्या आइलाग्यो ।’

उनी केही समय निराश भइन् । पढाइ छुटाएर जुवा जित्ने केटासँग विवाह गराइदिने कुरा अघि बढ्यो । उनले बुबा उदनारायण र आमा चितोलीलाई निकै सम्झाइन् । दाइलाई अनुरोध गरिन् । लामो प्रयासपछि उनले बुबा, आमा र दाइलाई सम्झाइन् तर जुवा जित्ने केटाले विवाह नगरी नछोड्ने अडान लियो । अन्ततः उनले न्यायका लागि प्रहरीको सहायता लिनैपर्‍यो ।

पढाइमा उनी तेज थिइन् । कक्षामा प्रथम आउँथिन् । विद्यालयका अतिरिक्त क्रियालापमा भाग लिन्थिन् । यही बेला उनले काठमाडौं गएर गुरुकुलमा कम्लरीको विषयमा नाटक खेल्ने अवसर पाइन् । चार वर्षसम्म उनले मञ्च र सडकमा नाटक खेलिन् ।

उनी कम्लरीका पीडा र दुःख समेटिएका कथा बनाउँथिन् र नाटक मञ्चन गर्थिन् । नाटकमा उनको प्रतिभा देखेपछि ९ कक्षा पढ्दापढ्दै उनलाई कम्लरीकै लागि काम गर्ने अवसर मिल्यो । उनले एक वर्षसम्म गाउँगाउँमा गएर कम्लरीका समस्या बुझ्ने काम गरिन् । १० कक्षा पढ्दा उनले कम्लरीसम्बन्धी काम गर्ने अर्को संस्थामा दाङको कार्यक्रम हेर्ने जिम्मा पाइन् । तीन वर्षसम्म उनले एक्लै कार्यक्रम हेरिन् । पछि अरू कर्मचारी थपिए । अहिले पनि उनी यही संस्थामा कम्लरी शिक्षा कार्यक्रम संयोजक छिन् ।

काठमाडौंमा नाटक खेल्दा दर्शक बनेर आएका सिसहनिया ८ मझेरियाका शरद चौधरीसँग उनको मायाप्रेम बस्यो र उनले ०६६ मा विवाह गरिन् । २६ वर्षीया दीपाको साथमा अहिले साढे चार वर्षकी छोरी छन् । उनले आफ्नै कमाइबाट स्कुटर किनेकी छन् । उनी यसैमा मुक्त कम्लरीका कार्यक्रममा गाउँगाउँ कुद्छिन् ।

सुरुका दिन निकै कष्टकर र संघर्षमय रहे । नाटक खेल्दा उनको कलाबाट प्रभावित भएर काठमाडौं बूढानीलकण्ठ स्कुलका विद्यार्थीले त्यहीं पढ्न बोलाएका थिए । ‘सबैले पैसा उठाएर पढाइ खर्च बेहोरिदिन्छौं भनेका थिए, तर मलाई घरबाट जान दिएनन्,’ उनले भनिन्, ‘पढ्ने कुरामा घरपरिवारले त्यति चासो दिएनन् । मैले आफैं जागिर गर्दै पढेँ ।’ उनी पढ्दापढ्दै कम्लरी मुक्तिका हरेक आन्दोलनमा सक्रियतापूर्वक लागिन् । नाटक देखाउँदै बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म पुगिन् ।

सानै उमेरमा जागिरे भएको देखेर साथीभाइदेखि गाउँका जमिनदारले समेत उनलाई निरुत्साहित गरे । ‘साथीभाइले नराम्रो काम गरेर संस्थामा जागिर पाई भन्ने आरोप लगाउँथे । गाउँका अरू मानिसले यो आफैं कम्लरी हो, कसरी काम गर्छे भन्थे,’ उनले भनिन्, ‘कहिलेकाहीं निराश भएर सबै काम छाडौं कि जस्तो लाग्थ्यो तर म विचलित नभएर निरन्तर काममा लागिरहेँ ।’ घोराहीमा चार वर्ष कम्लरी बसेकी दीपाको परिवार कमैया थियो । उनका बुबा पनि लामो समय कमैया बसेका थिए । जेठी दिदी पनि कम्लरी बसिन् । माइलीको १५ वर्षमै विवाह भयो । दिदीहरूले पढ्नै पाएनन् । एक मात्र दाइ पनि १० कक्ष्ाासम्म पढे ।

दीपाले व्यवस्थापनमा १२ कक्षा उत्तीर्ण गरेकी छन् । बच्चा हुर्काउने र जागिर गर्ने कामले उनले नियमित स्नातक पढ्न पाएकी छैनन् । अब पढ्ने योजना बनाएकी छन् । आजभोलि उनको माइतीमा कहिलेकाहीं विगतबारे छलफल हुन्छ । बाआमा र दाइ गल्ती गरेकोमा पश्चाताप गर्छन् । आजभोलि दाइ पनि मिहिनेती भए । उनी वैदेशिक रोजगारमा जाने आउने गर्छन् । बुबा मिस्त्री हुन् । पहिले ११ कट्ठा मात्रै जग्गा भएकामा अहिले २५ कट्ठा भएको छ ।

 संघर्ष गर्दै निरन्तर अघि बढेपछि दीपालाई सफलता प्राप्त भएको छ । अहिले उनी जीवनप्रति आशावादी छिन् । कुरा काट्ने साथीभाइ र गाउँलेसमेत उनको काममा सहयोग गर्छन् । ‘आफूजस्तै नानीलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ,’ उनले भनिन्, ‘अबका बालबालिका हामीजस्तो दास बन्नु नपरोस् भनेर निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील हुने विचार छ ।’

मालिकका घरमा जुठाभाँडा माझेर बाल्यकाल बिताएकी गंगापरस्पुर ३ पर्साकी २५ वर्षीया अरुणा चौधरी अहिले नेपाल प्रहरीमा सेवा गरिरहेकी छन् । कम्ब्याट पोसाकमा सजिएर ड्युटी गर्न निस्कँदा उनी आफैंलाई अचम्म लाग्छ । यो अनौठो जीवन देखेर घरपरिवार पनि दंग छ । Arruna Chaudhary

१५ जनाको संयुक्त परिवार थियो । ठूलो परिवारमा खानलाउने समस्या भएपछि बुबा गयाप्रसाद र आमा रामतीले उनलाई ९ वर्षको उमेरमा घोराहीमा कम्लरी पठाए । चार वर्ष कम्लरी बस्दा उनले वाषिर्क ज्याला सुरुमा ३ र पछि ५ हजार पाउँथिन् । ‘कम्लरी बस्दा घरभित्रदेखि बाहिरका सम्पूर्ण काम गर्नुपर्थ्यो । बाल्यकालमा अरूको घरमा काम गर्न साह्रै गाह्रो थियो,’ उनले भनिन्, ‘अहिले जीवन बदलिएको छ । यो सोच्दै नसोचेको जीवन ।’

 ०५७ को माघीमा कम्लरीबाट उद्धार भएपछि उनले ३ महिना बि्रज कक्षा पढिन् । त्यसपछि स्थानीय मावि चैनपुरमा एकैचोटि कक्षा ४ मा भर्ना भइन् । ‘घरको काम गर्दै पढाइलाई निरन्तरता दिएँ । ०६४ मा एसएलसी पास गरेँ,’ उनले भनिन्, ‘पढ्न पाउँदा साह्रै खुसी लागेको थियो । दासताबाट मुक्ति पाएर पढ्न पाइएला भन्ने कहिल्यै सोचिएको थिएन ।’

१२ कक्षासम्म पढिन् तर उत्तीर्ण हुन सकिनन् । खाली समयमा घरको काममा साह्रै खट्नुपर्ने बाध्यता बढ्दै गयो । त्यसैबेला नेपाल प्रहरीमा भर्ती खुलेको थाहापछि त्यसतर्फ रुचि जाग्यो । ‘जस्तोसुकै अवस्थामा पनि पुलिसको जागिर खान्छु भन्ने अटोट लिएँ । अंकलले मान्नुभएन तैपनि घरबाट जबरजस्ती निस्केर भर्ती हुन हिंडेँ,’ उनले भनिन्, ‘एक्लै गएर फाराम भरेँ । मिहिनेतका साथ तयारी गरेँ र सफल भएँ ।’

०६९ चैत २५ मा पुलिसमा भर्ना भएपछि उनले समाजमा पूर्वकम्लरीको आँट र क्षमता प्रदर्शन गरेकी छन् । कुनै दिन थारूका चेली जमिनदारको घरमा काम गर्न जन्मेका हुन् भन्ने धारणा राख्ने समाजलाई उनले कामबाटै जवाफ दिएकी छन् । ‘जीवनमा ठूलो संघर्ष गरेर रोजगारी पाएकामा गर्व छ । गाउँ समाजमा पनि फरक पहिचान भएको छ,’ उनले भनिन्, ‘आमाबुबाले पनि राम्रो मान्नुभएको छ । कहिलेकाहीँ सोच्छु कम्लरी मुक्त नभएको भए मेरो जीवन कस्तो हुन्थ्यो होला ?’ उनी अहिले जागिर गर्दै अपुरो रहेको उच्च शिक्षालाई निरन्तरता दिइरहेकी छन् । पढेर प्रहरी निरीक्षकसम्म पुग्ने लक्ष्य रहेको उनले बताइन् ।

त्रिपुर नगरपालिका वसन्तापुरकी विमला चौधरीको बाल्यकाल दास बनेरै बित्यो । आफ्नो घरजग्गा थिएन । बाआमा कमैया कम्लरी बसेकाले उनलाई पनि पछिपछि लागेर कम्लरी बस्नु बाध्यता थियो । १० वर्षको हुँदा उनी बाआमा छोडेर पूर्ण रूपमा अर्को जमिनदारको घरमा काम गर्न गइन् । तीन वर्ष गाउँ र तीन वर्ष बुटवलमा कम्लरी बसेपछि ०६५ फागुनमा उनको उद्धार भयो । 

मुक्त भएर उनी एकैपटक ६ कक्षा भर्ना भइन् । गाउँमा कम्लरी बस्दा उनले विद्यालयमा नाम लेखाएकी थिइन् तर परीक्षा दिने बेला उनको सट्टा बाआमा काम गरिदिन जान्थे । बुटवल गएपछि त त्यही पनि मिलेन ।

गाउँमा वाषिर्क ४ हजार तलब पाइन्थ्यो तर बुटवलमा केही पाइएन । कम्लरी बस्दा उनका लागि खाना छुट्टै पाक्थ्यो । मालिकका परिवारले खाने खाना पाइँदैनथ्यो । ओढ्ने ओछ्याउने पातला थिए । उनलाई मानवीय व्यवहार पनि हुँदैनथ्यो ।

मुक्त भएपछि उनले मिहिनेत गरेर पढिन् । पढ्दा उनलाई नेता बन्न निकै रुचि थियो । त्यसैले उनी कक्षाको क्याप्टेन बन्थिन् । कम्लरी आन्दोलनमा अगुवाइ गर्थिन् । उनको यही क्षमतालाई सम्मान गर्दै ०७० असोज १६ मा मुक्त कम्लरीले मुक्त कम्लरी विकास मञ्चको केन्द्रीय अध्यक्ष बनाए । २० वर्षीया विमलाले पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १२ हजारभन्दा बढी मुक्त कम्लरीको अगुवाइ गरिरहेकी छन् । विमलालाई यति ठूलो जिम्मेवारी ग्रहण गर्न कम चुनौतीपूर्ण छैन तैपनि उनी हरेक समस्यालाई पार गर्दै अघि बढिरहेकी छन् । Bimala Chaudharyउनले आफ्नो नयाँ जीवनलाई अवसरका रूपमा लिएर काम गरिरहेको बताइन् । ‘कम्लरीबाट उद्धार नभएको भए मैले यो अवसर पाउने थिइनँ । अहिले म सम्पूर्ण मुक्त कम्लरी साथीका लागि लडिरहेकी छु,’ उनले भनिन्, ‘पहिले पिँजडामा भएजस्तो लाग्थ्यो । अहिले जीवन अकल्पनीय तरिकाले बदलिएको छ ।’ अहिले उनको सामाजिक प्रतिष्ठा छ । बाआमा पनि उनको सफलता देखेर छक्क छन्, बाल्यकालमा कम्लरी पठाउनुपरेकामा दुःख व्यक्त गर्छन् ।

उनका दाइ प्रदीप पनि कमैया बसे । उनी एक्ली छोरी हुन् । भाइ चिरबहादुर अहिले १२ कक्षा पढिरहेका छन् । विमला २ कक्षा पढ्दा भाइ एक कक्षा पढ्थे तर कम्लरी बस्नुपरेकाले उनको पढाइ पछि पर्‍यो । उनले भर्खर एसएलसी दिइन् । बुबा कमैया हुँदासम्म उनीहरू मालिककै जग्गामा सानो घर बनाएर बसेका थिए । कमैया बस्न छोडेपछि मालिकले बस्न दिएनन् ।

उनीहरू केही समय अर्काका घरमा बसे । पछि दाइ र बुबाले केही कमाइ गरे, केही ऋण गरे अनि डेढ कट्ठा जग्गा किने । त्यसपछि मात्र उनीहरूले आफ्नो जग्गामा घर बनाउन पाए ।

अहिले दाइ र बुबा कमाउन विदेश गइरहन्छन् । गाउँमा ६ कट्ठा जग्गा किनिसकेका छन् । जग्गा अधियाँ लगाउन भने अझै छुटेको छैन । ‘बाँझै भएकाले आजभोलि अधियाँ पाउन कठिन छैन । पहिले अधियाँ पाउन छोरी कम्लरी पठाउनुपथ्र्यो,’ उनले भनिन्, ‘समय बदलिइसकेको छ । अब दासताको बाध्यता हट्दै गएको छ ।’

दीपा, अरुणा र विमला केही उदाहरण हुन् । पश्चिम तराईमा दासताबाट मुक्त भएर जीवन बदल्नेको संख्या ठूलो छ । कम्लरी उद्धार, पुनस्र्थापना, शिक्षा र आत्मनिर्भरताका लागि सहयोग गर्दै आएको नेपाल युथ फाउन्डेसनका अनुसार अहिलेसम्म पश्चिम तराईमा १२ हजार ७ सय २ कम्लरीको उद्धार भइसकेको छ । अझै ३ सय २४ को उद्धार हुन बाँकी छ । मुक्त भएकामध्ये ५ हजार ३ सय ५६ विभिन्न तहमा अध्ययनरत रहेको फाउन्डेसनका मध्यपश्चिम कार्यक्रम संयोजक मानबहादुर क्षेत्रीले बताए ।

कान्तिपुर दैनिकबाट साभार

One thought on “दासतापछि नयाँ जीवन पाएका मुक्त कमलरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *