मातृभाषा विकासमा गोरखापत्रको भूमिका अहम्

Gorkha patra-1

लक्की चौधरी, काठमाडौं- मातृभाषाको विकास तथा प्रवर्द्धनमा गोरखापत्रको अतुलनीय योगदान भएको विभिन्न विज्ञहरुले धारणा राखेका छन्। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा गोरखापत्र ‘नयाँ नेपाल’ शाखाद्वारा शुक्रबार आयोजित ‘मातृभाषा विकासमा गोरखापत्रको भूमिका’ तथा मातृभाषा कवि गोष्ठी कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्दै मातृभाषाले सबै समुदाय र वर्गको पहिचान स्थापित गर्ने गरेको तर्क गरे।

पूर्व सञ्चारमन्त्री तथा वरिष्ठ लेखक प्रदीप नेपालले साहित्य र संस्कृति राजनीतिको गुरु भएको तर्क गरे। तृभाषाको विकास तथा संस्कृतिको सही बुझाईविना राजनीतिक संस्कार सही हुन नसक्ने उनले तर्क गरे। गोरखापत्रले विभिन्न २९ भाषाका पृष्ठ प्रकाशन गरेर भाषा उत्थान तथा संरक्षणमा ठूलो गुन लगाएको तर्कगर्दै उनले भने, ‘मातृभाषा विकास र उत्थानका लागि राज्यले पाठ्यक्रमको व्यवस्था गर्नुपर्छ।’

आफू शिक्षामन्त्री भएको बेला तत्कालिन सरकारले आफ्नै प्रस्तावमा गोरखापत्रबाट बहुभाषिक पृष्ठ प्रकाशन गराउने छलफल भई शुरुवात भएको स्मरण गर्दै उनले तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरालाई गोरखापत्रलाई समावेशी चरित्रको बनाउन सुझाव दिएको प्रष्ट्याए। छोराछोरीलाई अंग्रेजी सिकाएर मातृभाषाको संरक्षणमा लाग्नेहरुप्रति व्यंग्य गर्दै प्रमुख अतिथि समेत रहनुभएका नेपालले भने, ‘मातृभाषालाई विर्सेर अंग्रेजीभाषी भएकाहरु नै बढी मातृभाषाको गफ दिएको देख्दा हाँसो उठ्छ।’

गोरखापत्र संस्थानका अध्यक्ष रमेश तुफानले नेपाल भाषिकहिसावले विविधतायुक्त रहेकाले भाषाको संरक्षण तथा प्रवर्द्धनमा राज्य चुक्न नहुने बताए। गोरखापत्रमा प्रकाशन भइरहेको २९ भाषालाई कायम राख्दै थप भाषा प्रकाशनकालागि आवश्यक पहल लिइने प्रतिवद्धता व्यक्त गरे। सो विषयमा गोरखापत्र व्यवस्थापन समितिले गृहकार्य गरेर अघि बढ्ने उनले चर्चा गरे।

Gorkha patra-2

महाप्रबन्धक सुशील कोइरालाले भाषा संरक्षणका निम्ति सरकार र समुदायको चेतना जागृत गर्नमा गोरखापत्रले भूमिका खेलिरहेको बताए। ‘बढी बोलिने भाषाभन्दा पनि संकटमा परेको भाषालाई पहिलो स्थान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो, सूचीकरणमा परेका अन्य भाषालाई पनि क्रमशः गोरखापत्रमा स्थान दिँदै जाने हाम्रो योजना छ,’ उनले प्रतिवद्धता जनाए। न्यूनतम स्रोत साधनकाबीच उदार मन लिएर गोरखापत्र संस्थानले भाषाभाषीलाई स्थान दिइरहेको उनले प्रष्ट्याए।

‘गोरखापत्रमा विभिन्न भाषाका पृष्ठहरु सुरु गर्दा लहडको भरमा गरिए पनि त्यसको सही व्यवस्थापनको जिम्मा अहिले हाम्रो काँधमा आएको छ, तर त्यसकालागि सरकारले स्वामित्व लिनमा कन्जुस्याई गर्नु हुँदैन,’ महाप्रबन्धक कोइरालाले भने।

संस्थानका पूर्व अध्यक्ष विजय चालिसेले समावेशी भाषा पृष्ठ भाषा तथा संस्कृति संरक्षणको दरिलो माध्यम बनेको बताए। गोरखापत्रबाट प्रकाशित हुने पृष्ठहरुलाई लक्षित वर्गसामु पुर्याणउन अझै नसकिएकोमा चिन्ता व्यक्तगर्दै उनले पत्रिकालाई सो वर्गमा पुर्याटउन सकेमात्र त्यसको सही प्रतिफल आउने तर्क गरे। ‘गोरखापत्रले समावेशी पृष्ठलाई स्थायीरुपमा प्रकाशन गर्न सरकारको सधैं मुख ताक्नुभन्दा पनि आफ्नै स्रोतसाधनमा टिक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।

वरिष्ठ कवि तुलसी दिवसले आमाको गर्भबाट कोहीपनि भाषा सिकेर नआउने तर समाज र संस्कृतिबाटै सिक्ने गरेको चर्चा गरे। भाषिक, सांस्कृतिक सहअस्तित्वको खाँचो औल्याउँदै उनले देशको पहिचान तथा समृद्धिकालागि पनि नेपालमा बोलिने भाषाको उचित संरक्षणको आवश्यकता रहेको सुझाव दिए।

नयाँ नेपालका संयोजक लक्की चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उर्दू भाषाका संयोजक अब्दुल सलाम खाँनले कार्यपत्र प्रस्तुत गरे। उनले गोरखापत्रबाट प्रकाशन हुँदैआएको पृष्ठहरुलाई अझ परिस्कृत र पठनीय बनाउन गोरखापत्र व्यवस्थापन समितिले भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा आवश्यक उपकरणहरु उपलब्ध गराउनमा ध्यान दिनुपर्ने सुझाव दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष नारद गौतम, बराम भाषाका संयोजक किरण बरामले धारणा राख्नुभएको थियो। कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्रका प्रधान सम्पादक सीताराम अग्रहरी, प्रबन्धसम्पादक कमल रिजालको पनि उपस्थिति थियो।

कार्यक्रममा मारवादी भाषाका जयप्रकाश अग्रवाल, गुरुङ्भाषाकी अनिता गुरुङ, भोजपुरीका दिनेश गुप्ता, बज्जिकाको रामअवतार पासवान, कुमालका तिलक कुमाल, धिमालकी मोनालिसा धिमाल, ताजपरियाकी पूर्णिमा ताजपुरिया, नेपाल (नेवार) को रमेश स्थापित, मैथिलीको सुधिर आचार्य, थारुको पवन चौधरी, किसानको भीम किसान, अवधिकी हंसावती कुर्मी, मगहीकी राजकुमारी महतोले मातृभाषाको कविता वाचन गर्नुभएको थियो।

गोरखापत्रले २०६४ असोज १ गतेदेखि विभिन्न २९ भाषाको समावेशी पृष्ठहरुको प्रकाशन गर्दैआएको छ।

Leave a Reply

Your email address will not be published.