माघी, मदिरा र थारू अगुवा

KRISHNA SARBAHARI PHOTO.docकृष्णराज सर्वहारी- पिउनेहरूलाई बहाना चाहिन्छ। माघ महिनाभरी माघी नै हो भनेर धेरैले लगातार पिइरहेका छन्। माघ १ गते राजधानीको टुँडिखेलमा माघी महोत्सवमा मदिराको छेलोखेलो थियो, जो विगत एक दशकदेखि देखिँदै आएको दृश्य हो। त्यो दिन झमक्क साँझमा कीर्तिपुरको गाडी उक्लिँदा एक थारू युवा मदिराले लठ्ठ अर्को अधवैंशेलाई ठेल्दै शहीदगेटमा गाडी चढाए। सीट नपाएर अधवैंशेलाई सम्हालेका युवालाई आफै उभिन गाह्रो भएपछि एक यात्रु कराए- ‘खान पाएपछि ठीक्कको खानु नि। माघी हो भन्दैमा घाँटीसम्मै पुग्ने गरी घिच्नुपर्छ?’ त्यो दृश्यले थारू समुदायको यो पंक्तिकारलाई शरम लाग्नु स्वाभाविक थियो। राजधानीको टुँडिखेलमा थारूको माघी महोत्सवमा मात्रै होइन, अन्य जनजतिको ल्होछार, साकेला लगायतको महोत्सवमा मदिराको बाढीले धेरैलाई बगाइरहेको हुन्छ।

यता माघ २ गते चितवन सुल्ताना गाउँमा आयोजित खिचरा (माघी) महोत्सवमा सहभागी हुँदा त्यहाँ मदिरा प्रतिबन्धित भएको अनौठो खबर सुन्नु पर्योन। महोत्सवका संयोजक रहेका थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ चितवनका अध्यक्ष नारायण चौधरीले जानकारी गराए, ‘यहाँ मनाइने माघी महोत्सव मात्रै होइन, चितवनमा आयोजित हुने कुनै पनि महोत्सवमा मदिरा प्रतिबन्धित छ।’ मलाई त्यहाँका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकप्रति सम्मान गर्न मन लाग्यो। कुनै पनि महोत्सवको प्रायः मुख्य प्रायोजक रुस्लान भोड्का, वियर, लगायत मदिरा कम्पनी नै हुन्छन्। तिनले महोत्सवमा प्रत्येक सटलमा आफना उत्पादन प्रवर्द्धन गर्छन्। चितवनमा आयोजना हुने हरेक महोत्सवमा मदिरा रहित हुने असल कामको सिको अरु जिल्लाले पनि गर्न सक्नु पर्छ।

थारू समुदायको दारु (मदिरा) सँगको साइनो युगौँदेखिको होला। यसबारे मेरा हजुरबा निबुलाल चौधरीले एक कथा सुनाएका थिए– एकपटक भगवान शिवको काम सघाइ दिए वापत रात्री भोजमा थारू समुदायका प्रतिनिधिहरूलाई डाकियो। मदिराले सबैलाई हल्का मात्रै छोयो, कोही लठ्ठ परेनन्। सबै सद्दे पाराले घर आइपुगे। सबैको गुनासो रह्यो, हत्तेरिका भगवान जस्तोले पनि के खाले मदिरा पिलाएको होला? एउटा रौँ पनि हल्लिएन।

भक्तहरूको गुनासो भगवानलाई थाहा नहुने कुरै भएन। अर्कोपटक काम सघाइदिए बापत उनले फेरि रात्री भोजको आयोजना गरे। यसापाली ककटेल पार्टी दिएका थिए। विदा गर्ने बेला भने, लौ राम्ररी जानु, अरु त थाहा छैन, आँखासम्म जोगाइ दिने मेरो जिम्मा भो। नभन्दै मदिराले लठ्ठ परेकाहरू लड्दै पर्दै आएका थिए। कसैको हात खुट्टा भाँचिएको, कसैको टाउको फुटेको तर आँखा भने जोगिएको थियो। चोटपटक लागेकोमा उनीहरूको भगवानप्रति कुनै गुनासो थिएन । बरु मख्ख थिए, कि यसपाली भगवान शिवले क्या खतरा पार्टी दिए भनेर।

यसपाली आफ्नो गृह गाउँ दाङको देउखुरी लमही नपा–७ छुट्की घुम्ना गाउँमा माघी सकिएपछि पुग्दा उही शिववाला कहानी सुन्नु, देख्नु पर्योक। मेरो गाउँको एक युवा पिएर पिच रोडमा लड्दा आँखी भौ सिलाउन समेत नमिल्ने गरी चोटग्रस्त थिए। अर्को प्रहरी जवान युवा माघीको पहिलो हप्ता विहेको साइत निकालेर विदा मिलाएर घर आइपुगेका थिए। तर माघी बेस्सरी लागेर लड्दा दुवै गाला कोतारिएको थियो। उनी एकाबिहानै मेरै घरमा मदिरा तन्काइरहेका भेटिए। मेरो घर शुद्ध शाकाहारी घर हो, घरमा कोही सदस्य माछा, मासु खाँदैनन्, मदिरा पिउँदैनन्। मैले आमासँग गुनासो पनि गरेँ, ‘खानेभन्दा ख्वाउने मान्छेले जान्नु पर्योै। बिहानै कसैले पिउन माँग्दा किन दिनु हुन्छ?’ ती प्रहरी जवान युवा मुहारभरी घाउ लिएर जन्ती गई दुलही भित्र्याए। सुहागरातमै त्यस्तो अनुहारको जीवनसाथीको फेला पर्दा विचरी ती दुलहीको माथिंगल कति रिंगायो होला?

त्यसो त थारू समुदायमा माघीको ऐतिहासिक महत्व छ। गाउँको बरघर (अगुवा) यसै अवसरमा चुनिन्छ। बरघरको कामको समीक्षा यसैबेला हुन्छ। तर गाँठो त्यसबेला पर्छ, जब एकाबिहानैको बैठकमा मदिराले लठ्ठ सहभागी बरघरको काम कर्तव्यको खोइरो खन्न थाल्छ। नपिएको बेला उसले कुनै आवाज उठाउन सक्दैन। पिएर नानाभाँतीको कुरा फलाक्न थालेपछि असल मनसायले स्वयम्सेवी ढंगले गाउँको सेवामा जुट्ने बरघरको आत्मामा चोट पुग्छ। यसले पुनः अगुवाई गर्ने मनशाय उसले त्याग्दा गलत व्यक्तिको नेतृत्वमा गाउँ पुगेर विकासको काम अवरुद्ध भएको उदाहरण पनि यदाकदा देखिन्छ।

त्यसो त थारूहरूको आर्थिक स्तर न्यून हुनुमा अधिक मदिराको सेवन मात्रै कारक होइन। मदिरा त्यागेर क्रिश्चियन, जयगुरुदेव पथ अँगाल्ने थारू समुदायका व्यक्तिहरूको आर्थिक अवस्था पनि उकासिन सकेको छैन। बरु ती धर्म अँगाल्ने थारूहरू आफ्नो समूहमा मात्रै रमाउन थालेका छन्। बरघरको मूलधारको प्रशासन प्रणालीलाई चुनौती दिन थालेका छन्। यसले थारू गाउँको एकतालाई खलल पार्दैछ। भविष्यमा यसको नराम्रो रुप देखिनेछ।

माघी थारूहरूको लेनदेन, हरहिसाव फर्छयौट गर्ने बेला पनि हो। त्यसैले, माघीलाई मदिरामय र मघौटा नाचको संगीतमा रमाउने अवसरको रुपमा मात्र नलिई थारूहरू कसरी आर्थिक क्रान्ति गर्न सक्छन्? यसको अवधारणाबारे गम्भीर बहस चलाइनु जरुरी छ। बेस लगायतका संस्थाले कमैया मुक्ति हुनु अघि नै जसरी शैक्षिक क्रान्ति विशेषगरी थारू समुदायलाई लक्षित गरी गरे। त्यसरी नै अब आर्थिक क्रान्तिको जरुरी छ। त्यसो त गाउँ गाउँमा आर्थिक कारोबार गर्ने समूह खुलेका छन्। तर त्यसमा हुने ऋण प्रवाह प्रायः घरायसी कामको लागी हुने गरेको छ। थारू समुदायमा युवाहरु विदेशिदै छन्। तर तिनले पठाएका रकम घर खर्च, घडेरी जोड्न, घर बनाउनमा सीमित छ। उद्योग व्यावसायमा त्यो रकम रुपान्तरण भएको देखिन्न।

कमैया बस्ती आर्थिक रूपले समयको गोरेटोसँगै गुल्जार हुन सकिरहेको छैन। कमाइ छ, तर बचत गर्ने बानीको बिकास हुन सकेको छैन। यसले उनीहरूलाई पुनः बँधुवा बनाउने खतरा उत्तिकै छ। त्यसैले हप्तौसम्म माघी महोत्सवको नाममा नाचगान, खानपीनको स्टल राख्ने आयोजक तथा माघ महिनाभरी त माघी नै हो भनेर रमाउने अभिभावकहरू आगामी दिनका माघीमा ठण्डा दिमागले सोच्नुपर्छ। आर्थिक रुपले छलाङ मार्ने बहसलाई माघीकै एक पाटोको रुपमा जोडिनु मनासिब देखिन्छ। समाजलाई विविध ढंगले उचाइमा पुर्याटउनेहरूलाई माघीको अवसरमा सम्मान गर्ने परम्परा बसाल्नुपर्छ।

ललितपुरको कुपण्डोलमा नाइटिंगेल स्कूलका संस्थापक प्रिन्सिपल रहेका काँग्रेस सभासद तेजुलाल चौधरीले थारू कम्युनिटीले चलाएको फेसबुक वालको पाँचौ बार्षिकोत्सका अवसरमा प्रमुख अतिथिको हैसियतले हालै भनेका थिए, ‘थारू समुदायलाई अघि बढाउनु छ भने दुइटा कुरा मात्रै गरे पुग्छ, पहिलो शैक्षिक क्रान्ति, दोश्रो मदिराको न्यूनीकरण अभियान। म यो दुई अभियानमा आजीवन लाग्नेछु।’ ती सभासदको अभियान ठीक हो त? प्रश्न थारू अगुवाहरूलाई नै।

साभारः नागरिक दैनिक, पश्चिमेली 

Leave a Reply

Your email address will not be published.