सात साना दलले भन्यो- ‘सत्तापक्षको गठबन्धनमा गएका छैनौं’

पहिचानमा आधारित संघीय गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, नेपाल, नेपाः राष्ट्रिय पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले ३० दलीय गठबन्धनबाट अलग भई नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध रहेको सरकारी दलहरुको गठबन्धनमा आवद्ध भएको भनी आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार बसेको गठबन्धनको आकस्मिक बैठकले सो समाचार सरासर भ्रामक, झुटो, पहिचानवादीहरुलाई बदनाम गर्ने र पहिचानको आन्दोलनमा भ्रम छर्ने षड्यन्त्र भएको जनाएको हो।

बैठकले पहिचानमा आधारित संघीय गठबन्धनमा आबद्ध रहेका दलहरु आदिवासी जनजाति पार्टी, नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी, नेपाल, नेपा राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल र संघीय लिम्बुवान पार्टी, नेपालसमेत ७ दल ३० दलीय गठबन्धनमा दृढताका साथ आबद्ध रहेको खुम्बुवान राष्ट्रिय मोर्चाको अध्यक्ष आरके खुम्बुले जनाए।

‘जातीय ऐतिहासिक पहिचानसहितको संघीयता र उत्पीडित जाति समुदायको अधिकारको लागि स्थापित दलहरु र हामी यसका नेताहरु तथा माननीय सभासदहरु पहिचान विरोधी, प्रतिगामी, यथास्थितीवादी, जनताको अधिकार विरोधीहरुको कित्तामा उभिने कुराको कल्पनासम्म पनि गर्न सकिन्न भन्ने कुरा समस्त न्यायप्रेमी नेपाली जनतामा विश्वस्त तुल्याउन चाहन्छौं,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तीमा जातीय मुक्ति र सामाजिक न्यायको लागि स्थापित उपरोक्त राजनीतिक दलहरु व्यक्तिगत स्वार्थमा लागेर जनतालाई धोका दिने काम भविष्यमा पनि कुनै हालतमा नहुने र जनताको बलिदान र संघर्षहरुबाट प्राप्त उपलब्धिहरुको रक्षा र संस्थागत गर्नको लागि दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published.