दुर्गालाल केसी, दाङ- घरवास र अभिभावकविहीन मुक्त कम्लरीले छात्रावासमै सामूहिक रूपमा माघी मनाएका छन् । सोनपुरको सूर्यविनायक प्रस्तावित मावि नर्तीस्थित लावाजुनी छात्रावासमा बसेका १ सय ३ मुक्त कम्लरीले बुधबार नाचगान गरी दु:खसुख बाँडे । माघी थारूको महान् पर्व भए पनि अभिभावक नभएकाले उनीहरू छात्रावासमै बस्न बाध्य छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललाई पनि छात्रवासमै बोलाएर मीठामीठा थारू परिकार खुवाए । नाचगान देखाए । प्रजिअ अर्यालले उनीहरूलाई खानेकुरा, कपडा पर्याप्त भए नभएको सोधे । ‘नुन, तेल, बेसार छ कि छैन ? कपडा छ कि छैन ?’, उनले सोधे, ‘माघी राम्रोसँग मनाउनु । चाडपर्वमा रमाउनुपर्छ । दु:खी हुने होइन ।’
केही समयअघि विद्यालयको लापरबाहीका कारण छात्रावासमा नुन, तेलसमेत अभाव थियो । प्रजिअले तत्काल व्यवस्था गर्न निर्देशन दिएपछि विद्यालयले हाल सबै व्यवस्था गरेको मुक्त कम्लरीले बताए । छात्रावासमा माघी रमाइलो बनाउन पूर्वकम्लरी तथा सभासद शान्ता चौधरी पनि उपस्थित थिइन् । उनले आजको माघी हिजोजस्तो दु:खद नभएको बताइन् । ‘हिजो माघी आउँदा अब कहाँ कम्लरी बस्न जानुपर्ने हो भन्ने चिन्ता हुन्थ्यो । माघी कम्लरी बस्ने दिनका रूपमा परिचित थियो,’ उनले भनिन्, ‘आज माघी मुक्तिको दिन बनेको छ । माघीले अहिले कम्लरीलाई मुक्त गर्ने ऊर्जा दिन्छ ।’
छात्रावासमा माघी खल्लो नहोस् भनेर मुक्त कम्लरी विकास मञ्चकी जिल्ला अध्यक्ष उर्मिला चौधरी पनि सँगै नाचिन् र रमाइन् । उनले माघीलाई रचनात्मक बनाउनुपर्ने बताइन् । ‘माघी जाँडरक्सी खाने पर्वका रूपमा मनाउने होइन, यसलाई नयाँ वर्षका रूपमा मनाउनुपर्छ,’ उनले भनिन्, ‘माघी थारूहरूको नयाँ वर्ष हो । माघीदेखि नयाँ कामका योजना बन्छन् । हामीले पनि नयाँ योजना बनाएर काम गर्नुपर्छ ।’
घरमा कोही नभएकाले माघी सबै साथी मिलेर छात्रावासमै मनाउन थालेको ९ कक्षामा अध्ययनरत वसन्ता चौधरीले बताइन् । ‘आमाको सानैमा मृत्यु भएपछि बुबा छोडेर कता हिंडे । कोही नभएपछि म कम्लरी बस्न काठमाडौं गएँ,’ उनले भनिन्, ‘मुक्त भएपछि केही वर्ष मामाको घर बसें । त्यहाँबाट पनि पढ्न गाह्राे भएपछि छात्रावासमा बस्न थालें ।’ उनको सतबरिया ३, फचकपुरमा मामाघर छ । उनको आफ्नै घरबास र बाआमा नभएकाले माघी खल्लो हुन्छ ।
छात्रावासका सबै साथीको एउटै समस्या भएकाले दु:ख साटासाट गरेर माघी मनाउन थालेको १० कक्षामा अध्ययनरत इन्दिरा चौधरीले बताइन् । ‘रातभर सबै मिलेर मीठामीठा परिकार बनाएका छौं । सँगै खान्छौं र नाचगान गर्छौं,’ उनले भनिन्, ‘हाम्राे घरबास नै छात्रावास हो । कम्लरी बस्दा माघी मनाउन पनि पाइँदैनथ्यो । घर आए पनि अर्को ठाउँ कम्लरी पठाउने तयारी हुन्थ्यो ।’ अहिले छात्रावासमा बसेर पढ्न पाएकाले यसैमा रमाइरहेको उनले बताइन् ।
सरकारले छात्रावासमा बस्ने कम्लरीका लागि प्रतिव्यक्ति मासिक खानाको २ हजार ५ सय र पकेट खर्च ५ सय गरी ३ हजार दिने गर्छ । यो खर्च १० महिनाको मात्र दिने भएकाले बाँकी दुई महिना के खाने भन्ने समस्या छ ।
कान्तिपुर दैनिकबाट