माघीसँगै आफन्तको स्वागतमा

bardiya maghiबर्दिया- थारू समुदायको विशेष पर्व माघीको बुधबारबाट बस्तीहरूमा उत्साह र चहलपहल बढेको छ । नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले बिहानै उनीहरू नुहाइधुवाई गरेर सेतो चामलको टीका लगाउने चलन छ । 

यसै अवसरमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बेलवा गाविसको उत्तर भकारीमा थारू समुदायको घर माघी पर्व अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै परिकारसहित खाना खाएका थिए । घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्याएर दिने गरेको पदनाहाका फूलपाती चौधरीले बताए । यस चाडमा गच्छेअनुसार थारूहरूले, ढिक्रीलगायतका परिकार सुँगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गर्छन् । माघीका दिन थारूहरू बिहानै उठेर नुहाइधुवाई गरी शिवजीको पूजा गर्छन् । सोही दिन ठूलाबडा आफन्तलाई ढोग्ने चलन छ ।

जिल्लाको ठाकुरद्वारास्थित ठाकुरबाबाको मन्दिरमा माघी पूर्वसन्ध्यामा श्रद्धालुको भीड लागेको छ । करिब ६० हजारभन्दा बढीले बाबाको पूजाआजा गर्ने स्थानीयवासी बताउँछन् । माघीमा हरेक वर्ष यहाँ सातासम्म मेला लाग्छ ।

कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published.