मोर्चाको बन्दका कारण थरुहटसहति तराईको जनजीवन प्रभावित

bazar band garaudai morchaka karyakarta (1)

विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको तराई बन्दको कारण आज बिहानैबाट यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। बन्दका कारण तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती झेल्न परेको छ। बन्दका कारण यस क्षेत्रबाट बाहिरिने सबै लामो दूरीका सवारी साधन ठप्प भएका छन् भने छोटो दूरीका सवारीसाधनमा पनि सञ्चालनमा आउन नसक्दा काम विशेषले हिँडेका यात्रुको बिचल्ली भएको छ। बन्दका कारण शैक्षिक संस्था र उद्योगधन्दा पनि ठप्प भएका छन्।

प्रेस, विवाह तथा एम्बुलेन्स र दमकलबाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको विपक्षी मोर्चाका पर्सा जिल्ला संयोजक मधेसी जनअधिकार फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताए। उनले आज एक दिनका लागि शैक्षिक संस्था र कलकारखाना पनि बन्द आह्वान गरिएको बताए। बन्द सफल बनाउनका लागि मोर्चाका कार्यकर्ता बिहानैबाट सडकमा उत्रिएका छन्।

शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी प्रत्यक्ष मारमा परेको अभिभावकले बताएका छन्। उद्योगधन्दा बन्द हुँदा आफूहरुलाई करोडौँको घाटा लाग्ने वीरगन्जका उद्योगी अशोक वैद्यले बताए। संविधानसभाबाट सहमतीय प्रक्रियाबाट नै संविधान जारी गर्नु लगायतका विभिन्न माग राख्दै विपक्र्षी मोर्चाले आज मधेससहित थरूहट बन्दको आह्वान गरेको हो। बन्द भएको थाहा नपाएर भारतबाट नेपाल छिरेका यात्रु तथा पर्यटकको पनि सीमा क्षेत्रमा बिचल्ली भएको छ।

विराटनगर– तीस दलीय गठबन्धनले आज गरेको मधेस बन्दको पूर्वाञ्चलको तराई क्षेत्रमा बिहानैदेखि व्यापक रुपमा असर परेको छ।

यस क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित पूर्व–पश्चिम राजमार्गका साथै सहायक मार्गमा बिहानैदेखि यात्रुवाहक बसलगायत निजी सवारी पनि ठप्प भएका छन्। बन्दको प्रभाव विद्यालय र उद्योगमा पनि परेको छ।

एकीकृत नेकपा (माओवादी) मधेसी मोर्चालगायत ३० दलीय गठबन्धनले पहिचानसहितको सङ्घीयताको माग गर्दै आज मधेस बन्दको आह्वान गरेको हो। जिल्ला प्रहरी कार्यालयले बन्द शान्तिपूर्ण रहेको अहिलेसम्म कुनै प्रकारको अप्रिय घटना नभएको जनाएको छ।

कञ्चनपुर– एकीकृत नेकपा (माओवादी¬)सहितका ३० दलको आह्वानमा गरिएको बन्दका कारण कञ्चनपुर जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ।

आज बिहानैदेखि जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क बाट सञ्चालन हुने लामो र छोटो दूरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। मुख्य बजार, विद्यालय, क्याम्पस समेत बन्द रहेका छन्।

भारतमा मजदुरी गरी माघेसङ्क्रान्ति मनाउन घर जानका लागि आएका तीन दर्जनभन्दा बढी पहाडी क्षेत्रका यात्रु महेन्द्रनगर बस पार्कमै अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व पश्चिम राजमार्ग र बजार क्षेत्रमा प्रहरीको गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरिएको छ।

सरकारमा सहभागी राजनीतिक दलले जनआन्दोलनको मर्मविपरीत बहुमतका आधारमा पेलेरै भएर पनि संविधान जारी गर्ने प्रयत्नमा लागेकाले त्यसका विरुद्ध बन्दको आह्वान गरिएको एकीकृत नेकपा (माओवादी)का कञ्चनपुरका अध्यक्ष टेकेन्द्रप्रसाद भट्टले बताए।

‘सहमतिको वातावरण हुँदाहुँदै पनि बहुमतको प्रक्रिया सुरु गर्न खोजेर जनआन्दोलनमा सहभागी राजनीतिक दलको भावनामाथि कुठाराघात गरेकाले दबाबका लागि बन्द आह्वान गरेका छौं,’ उनले भने। रासस

दाङ- तीस दलीय मोर्चाले सोमबार दाङलगायत पश्चिम तराईका जिल्लाहरुमा बन्द आह्वान गरेको छ। प्रकृया मार्फत संविधान जारी गर्न नहुने अडान लिँदै आएको मोर्चाले सहमतीका लागि दवाव दिन भन्दै थरुहट क्षेत्र बन्द आह्वान गरेको हो। बन्दका कारण दाङमा विहानै देखि यातायातका साधन ठप्प छन्। यसैगरी बजार शिक्षण संस्था,उद्योग धन्दा समेत ठप्प भएका छन्। विहान ५ वजे देखि बन्द आह्वान गरेको मोर्चाले वेलुका ५ वजे बन्द सकिने जनाएको छ।

एता देउखुरीमा भने बन्द नरहेको मोर्चाले जनाएको छ। देउखुरी लमहीमा जारी महोत्सवलाई लक्षित गर्दै बन्द नगरिएको मोर्चाले जनाएको छ। लगातार दुई दिन देखिको बन्दले सर्वसाधारणहरुलाई सास्ती भएको छ। यसअघि आईतवार मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले संविधान निर्माणको बिरोधमा दाङ लगाएत पश्चिम तराईका जिल्लामा बन्द गरेको थियो।

तस्बिर : मदन ठाकुर

Leave a Reply

Your email address will not be published.