थारू गाउँमा घन्कियो ‘सखिए हो, माघीक गुरी गुरी जार…’

Maghi_bake

रजेन्द्र नाथ– ‘सखिए हो, माघीक गुरी गुरी जार…।’ थारू गाउँहरूमा मादलको धुनसँगै सखिए हो को मधुर स्वर सुनिन थालेको छ । माघी आउनु साताअघिदेखि नै थारू बहुल गाउँहरूमा गीत/संगीतले माहोल फेरिएको हो ।

पश्चिम नेपालका थारू गाउँहरूमा माघीअघिको बेग्लै रौनक छ । नयाँ वर्षका रूपमा माघ १ गते माघी मनाउने परम्परा भए पनि त्यसको रौनकले अहिल्यै गाउँघर ढाकेको हो । परम्परागत भेषभूषामा सजिएका थारू युवायुवती नाचगानमा व्यस्त छन् । ‘भान्छामा दिनहँु मीठो परिकार पाकिरहेको छ,’ स्थानीय सुमित्रा चौधरीले भनिन् ।

आफन्तसँग एउटै चुलो वरिपरि बसेर बितेको वर्षको समीक्षा तथा नयाँ वर्षका लागि योजनामा सल्लाह भइरहेको छ । माघी सांस्कृतिकमात्र होइन, थारू स्वतन्त्रताको पर्व पनि हो । घरमूलीले वर्षभरिको आय-व्यय विवरण मौखिक रूपमा प्रस्तुत गर्छन् । पारिवारिक सदस्यलाई फरक मत राख्न पाउने अधिकार हुन्छ । कुरा बुझ्न सक्नेदेखि सबै उमेरका परिवारिक सदस्य र गाउँका सर्वसाधारणलाई माघीले समान अधिकार दिएको छ । त्यसैले पछिल्लो समयमा पर्वलाई ‘लोकतान्त्रिक पर्व’ का रूपमा पनि विश्लेषण गरिने गरिएको थारू अगुवा चन्द्रलाल चौधरीले बताए ।

‘घरमूलीले वर्षभरिको आर्थिक आय-व्ययको मौखिक प्रतिवेदन पेस गर्दा परिवारका सबैजनाले चिसापानी गाभरभ्यालीका अर्का थारू अगुवा कृष्ण चौधरीले युवायुवती मघौटा, छोक्रा र सखिया नाँचमा मस्त हुन थालेको बताए । पुसको अन्तिम साताबाट सुरु भएको माघीमा बाँके र बर्दियामा विभिन्न सांस्कृतिक कार्यक्रम तथा महोत्सव आयोजना भइरहेका छन् । थारू युवायुवती सांस्कृतिक पहिचानका लागि आफ्नै वेशभूषामा सजिने गरेका छन् ।

संयुक्त परिवारमा बस्ने वा छुट्टिएर बस्ने भन्ने अधिकार पनि माघीले दिने गरेको छ । गाउँलाई रेखदेख गर्ने चौकिदार, कपाल काट्ने नाउँ, गाउँका अगुवा (बडघर), कुलपूजाका लागि चिराकिया, गुरुवा, ओरगानको चयन पनि गाउँहरूमा गरिन्छ । गाउँले एकै ठाउँमा बसेर सरसल्लाह गरी बहुमतका आधारमा छनोट गरिने परम्परा छ ।

सरकारले कमैया मुक्तिको घोषणा गरे पनि अझै पनि कमैया, बुकरही (कमैयाका श्रीमतीलाई घरेलु काममा प्रयोग), कम्लरी -कमैयाका छोरीलाई जमिनदारको घरमा प्रयोग), छेगरहवा (बाख्रा चराउने), भैसरवा (भैंसी चराउने) लाई माघीको दिन स्वतन्त्रता प्रदान गरिन्छ । उनीहरूलाई काम गर्ने वा नगर्नेबारे आत्मनिर्णय गर्नसमेत दिने गरेको थारू भाषा, संस्कृतिका जानकार विश्वराज पछल्डङग्याले बताए ।

माघी पर्वको महङव पछिल्लो समयमा बढ्दै गएको छ । पहिले थारू समुदायमा मात्र सीमित रहेको यो पर्व अहिले अन्य समुदायले पनि मनाउने, संरक्षण गर्ने र प्रचारप्रसार गर्नेतर्फ लागेका छन् । त्यसैले पश्चिम नेपालका विभिन्न जिल्लामा हरेक वर्ष माघी महोत्सव हुन थालेको छ ।

यस वर्ष बाँकेको बैजापुर र मैटहवामा माघी महोत्सव हुने भएको छ ।

माघीका अवसरमा कतै शुभकामना साटासाट त कतै माघी महोत्सव सञ्चालन भइरहेका छन् । माघीकै अवसर पारेर थारू पत्रकार संघ, बाँकेले शनिबार नेपालगन्जमा माघी मिलन कार्यक्रमको आयोजना गर्‍यो । सो अवसरमा सहभागी सबै समुदायका व्यक्तित्वहरूले माघीको सन्देशले देशमा नयाँ संविधान जारी गर्न प्रेरणा मिल्नुका साथै थारू समुदायको हकहित संविधानमा समेट्न सभासदहरूलाई आग्रह गरेका थिए । ढिग्री, अचार खाँदै थारू समुदाय नाचगान गर्दै रमाए ।

कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published.