हात्ती हाँक्नुको मजा

Elephant

जनक नेपाल- सर्लाही हरिपुरका सुकलाल चौधरी ३० वर्षदेखि हात्तीको सेवामा छन् । ५१ वर्षीय सुकलाल आफूभन्दा तीन वर्ष जेठी श्यामकलीका फडित छन् । उनी हात्तीका सुसारे मात्र हैनन्, गुरु बा पनि हुन् । हात्तीका छावा १० वर्ष ननाघ्दै तालिम दिइसक्नुपर्छ । एकमहिने त्यस्तो तालिम दिएर उनले निकुन्जका ६ वटा हात्तीलाई मान्छेको आदेश र इसारा बुझ्ने बनाइसकेका छन् । 

सबैभन्दा ठूलो वन्यजन्तुलाई तालिम दिनु सहज छैन । तर, वर्षौं हात्तिसारमा काम गर्दै आएका सुकलालहरूका लागि यो रोमाञ्चक जागिर हो । छावालाई तालिम दिनुअघि केही अभ्यास गराइन्छ । छुँदा पनि झम्टिन खोज्ने छावाको जीउ सुम्सुम्याइन्छ, ताकि उसलाई काउकुती नलागोस् । काउकुती नलाग्ने भएपछि मात्र छावा तालिमका लागि तयार हुन्छन् ।

हात्तिसारमा कालो बोकाको बलि दिएर वनदेवीको पूजा गरिन्छ । अनि, सुरु हुन्छ हात्ती तालिम । छावाको घााटी र खुट्टामा डोरी बााधिन्छ । दायाँ-बायाँ हात्तीमा बसेर डोरी तानेर माउतेहरूले उसलाई भाग्न दिंदैनन् । तालिमका गुरु बा छावामा चढ्छन् । ‘यो निकै खतरनाक हुन्छ । सानो गल्ती भए ज्यानै जान सक्छ,’ सुकलालले भने । गाडी देखेर वा हर्न सुनेर नतर्सिओस् भनेर तालिमे छावालाई भुरीगाउा र कोठियाघाटसम्म लग्ने गरिएको छ । तालिमका नियम र संकेतहरू एकैप्रकारका हुन्छन् । न कुनै पाठ्यसामग्री, न व्यवस्थित ‘कोर्स’ । पुराना माउतेका परम्परागत अनुभवले छावाहरू प्रशिक्षित हुन्छन् । त्यसबाट सिकारु माउतेहरू पनि पारङ्गत हुन्छन् । तालिम सफलतापूर्वक सकिनुलाई वनदेवीसँगको भाकल पूरा भएको ठानिन्छ । तालिम सकिँदा पनि बोकाको बलि दिने चलन छ ।

हात्ती रिसायो भने त्यसको पहिलो सिकार माउते हुन्छ । गत वैशाख १० गते पछुवा छोट्कु थारूको उनैले स्याहार गर्ने जात्राकलीले कुल्चेर मृत्यु भयो । छोट्कु बिहान साढे ६ बजे बर्दिया निकुन्जको जंगलमा हात्तीकै लागि घाँस काट्दै थिए । घाँस डोरीले बाँध्न उनलाई सँगै गएका अर्को हात्तीका माहुते सोभतीराम थारूले सघाउन थाले । सोभतीराम सुँडबाट चढ्न मात्र के खोजेका थिए, हात्ती रिसायो । सोभतीरामलाई सुाडले समातेर टाढा मिल्कायो । उनी घाइते मात्र भए । टाउकोमा बसेर घाँसका मुठा बाँध्दै गरेका छोट्कुलाई भुईंमा खसाल्यो र खुट्टाले कुल्चियो । उनको घटनास्थलमै मृत्यु भयो । ठाकुरद्वारा-९ का छोट्कु आठ वर्षदेखि निकुन्जमा कार्यरत थिए । उक्त घटनापछि ४० वर्षकी जात्राकलीलाई हात्तिसारबाट लग्ना मचान पोस्टमा सारिएको छ । त्यहाँ उसलाई गस्तीमा खटाइएको छ । अहिले जात्राकली कुन्सा थारूले हाँक्छन् ।

हात्तिसारमा रैथाने थारू समुदायका युवाहरूको बाहुल्य छ । बर्दिया सूर्यपटुवाका २८ वर्षीय महेश चौधरी शिवकली हाँक्छन् । पाँच वर्षअघि निकुन्ज छिरेका उनी तीन वर्षअघि स्थायी पनि भए । ठाकुरद्वाराकै ३० वर्षीय बलिराम थारू सात वर्षदेखि ठाकुरगज हाँक्छन् । ३९ वर्षीय छेदुवा थारू आठ वर्षदेखि श्यामकलीको स्याहारमा छन् ।

बर्दिया हात्तिसारमा सबैभन्दा वृद्ध लोककली ७५ वर्षकी भई । उसलाई उनीभन्दा आधा कान्छो उमेरका बालकृष्ण थारूले हाँक्छन् । सबैभन्दा कान्छो समिरगज ११ वर्षको भयो । उसलाई भागा थारूले हाँक्छन् । अरू केही साना छावाहरू छन् । बर्दिया मात्र हैन, पूर्वी तराईका थारूको पनि माउते पेसाप्रति आकर्षण छ । तीन दशकदेखि हात्ती हाँक्दै आएका बाराका परशुराम चौधरी भन्छन्, ‘हात्ती हाँक्नुमा जे मजा छ, अरू जागिरमा छैन । जे खतरा छ, त्यो पनि अरू काममा छैन ।’ उनी २५ वर्षकी शिवकली हाँक्छन् । शिवकलीको १९ महिने छावा छ, प्रेमप्रसाद । चञ्चले छावालाई चलायो भने हात्ती रिसाउँछ ।

हात्तिसारमा बिहान ४ बजेदेखि नै खैलाबैला सुरु हुन्छ । कोही फोहोर सफा गर्न थाल्छन्, कोही घाँस काट्न त कोही खुवाउन । ठीक सात बजे निकुन्ज मुख्यालयमा हात्ति सफारीका लागि हाजिर हुन्छन् । दुई घन्टा जंगल सफारीपछि हात्तिसारमा फर्किन्छन् । ‘घाँसमा धान बेरेर डल्ला बनाउँछौं । एउटा हात्तीका लागि १५ केजी धान र घाँस दाना चाहिन्छ,’ आठ वर्षदेखि पछुवा रहेका ठलीराम चौधरीले भने, ‘भैंसी पाल्नुजस्तो सजिलो छैन हात्ती पाल्न ।’

कान्तिपुर कोसेलीबाट

2 thoughts on “हात्ती हाँक्नुको मजा

  1. थारुहरु जे पेषामा लागे पनि दिलोज्यान दिएर काम गर्दछ । पहिले पहिले थारुहरु हातीलाई घरपालुवा जनावरकै रुपमा पालेका थिए र उनिहरुले गित गाएर नै जंगली हातीलाई मनत्रमुग्ध पारेर समात्ने गर्दथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *