थाविसको महाधिवेशन तयारी अन्तिम चरणमा

Tha Bi Sa Chitwan

कारी महतो- चितवन- ‘थरुहट स्वायत्त: प्रदेशसहितको संघीय संविधान, सर्वसुलभ, रोजगारमुखी शिक्षा प्रणालीको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पुस १०, ११ र १२ गते चितवनको पर्यटकीय नगरी सौराहामा हुने थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

महाधिवेशनका लागि थाविस चितवनले आर्थिक संकलन अभियान भने जारी राखेका छन्। विभिन्न ११ वटा टोली बनाएर आर्थिक संकलन अभियान सञ्चालन गरेकोमा जिल्ला उपाध्यक्ष धनकुमारी महतोको टोलीले पुस ६ गतेसम्म सबैभन्दा बढी ६० हजार रुपैयाँ संकलन गरेको छ। आज रत्ननगर नगरपालिकाको सौराहा चोकदेखि टाँडी बजारसम्मा त्यस टोलीले ब्यानरसहित प्रचारात्मक आर्थिक संकलन सम्पन्न गरेका छन्।

ऐच्छिकरुपमा व्यापारी वर्गले सहयोग पनि गरेका छन्। त्यस टोलीमा नेपाल उच्च मावि रत्ननगर र क्वेष्ट मोडेल कलेज रत्ननगरका थारु विद्यार्थीहरुले साथ दिएका छन्। थाकस चितवन क्षेत्र नं. ८ (रत्ननगर नगरपालिका) का भरथी चौधरी निरन्तररुपमा उपस्थित भइ आर्थिक संकलन अभियानलाई साथ दिएका छन्।

अन्य टोलीहरुमा पदमपुर गाविसमा सचिव अजय चौधरी, थारु पत्रकार संघका उपाध्यक्ष र कोषाध्यक्ष क्रमशः सुमित्रा चौधरी र पुरन कुमारी चौधरीको नेतृत्वमा तीन ओटा टोली खटाइएका छन् भने खैरहनी नगरपालिका र कठार गाविसमा जिल्ला अध्यक्ष कमल चौधरीका नेतृत्वमा नगद तथा जिन्सी संकलन जारी राखेका छन्।

त्यस्तै माडी नगरपालिकामा सविता चौधरी र आशिष चौधरी को नेतृत्वमा नगद तथा जिन्सी सहयोग संकलन भइरहेको छ भने पश्चिम चितवनमा महेश चौधरीको नेतृत्वमा सहयोग संकलन जारी छ। त्यस्तै कार्यक्रम स्थल क्षेत्रमा पनि दुई टोली सक्रिय छन्। धनकुमारी महतो नेतृत्वको टोलीबाहेक अन्य टोलीहरुको कति कति संकलन भयो भन्ने बारे जानकारी आउन बाँकी रहेको कुरा जिल्ला अध्यक्ष कमल चौधरीले बताए।

यसरी पुस १०, ११ र १२ गते हुने थाविसको ऐतिहासिक छैठौं राष्ट्रिय महाधिवेशन आउन तीन दिनमात्र बाँकी हुँदा पनि मूल आयोजक समितिको सबैजना उपस्थित छैनन्। वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरी र उपाध्यक्ष विजय चौधरीमात्र कार्यक्रम हुने जिल्लामा उपस्थित भइ निकै सक्रियतापूर्वक काम गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published.