माघीको अवसरमा चितवनमा खिचरा महोत्सव हुने

Chitwan Khichara Mahotsaw

कारी महतो, चितवन- थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को आयोजनामा पुस २९ देखि माघ ३ गतेसम्म पाँच दिन खिचरा महोत्सवको दोस्रो संस्करण खैरहनी नगरपालिकास्थित सुर्तानाको चौरमा हुने भएको छ।  मंसिर २७ गते सम्पन्न भएको एक भेलाबाट उक्त निर्णय गरिएको हो। महोत्सवलाई भव्यताका साथ सफल पार्नका लागि भेलाबाट क्षेत्रीय सभापति नारायणप्रसाद महतोको संयोजकत्वमा ५१ सदस्यीय खिचरा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ।

गत वर्ष भएको दुई दिने महोत्सवको सफलतापछि यस वर्ष पाँच दिनको लागि आयोजना गर्ने कुरा क्षेत्रीय सभापति नारायणप्रसाद महतोले जानकारी दिए। महोत्सवलाई सफल पार्न विभिन्न विधाका १३ वटा उपसमितिहरु पनि गठन गरिएको छ।

जसमध्ये आर्थिक समितिका संयोजक टीकेन्द्र चौधरी, प्रचारप्रसार समितिका संयोजक संजय कुमार चौधरी, शोभायात्रा समितिका संयोजक प्रणाम चौधरी, सांस्कृतिक समितिका संयोजकमा चन्द्रकुमारी चौधरी, मञ्च व्यवस्थापन समितिका संयोजक राजु चौधरी, स्टल व्यवस्थापमन समितिका संयोजक दिलीप महतो, स्मारिका प्रकाशन समितिका संयोजक कारी महतो, अतिथि सत्कार समितिको संयोजक तेजकुमारी चौधरी इत्यादि छन्।

त्यस्तै पार्किङ व्यवस्थापन र स्वयं सेवक परिचालनका लागि डायमण्ड क्लब सुल्तानालाई जिम्मा दिइएको छ। मंसिर २७ गतेकै भेलाबाट १५ सदस्यीय महोत्सव सचिवालय समिति र पाँच सदस्यीय महोत्सव स्टेयरिङ समिति साथै सल्लाहकार समिति पनि गठन गरिएको छ।

भेलाबाट आगामी शनिबारदेखि स्टल बुकिङ खुल्ला गर्ने निर्णयसमेत भएको छ। निःशुल्क प्रवेश टिकट भएको त्यस महोत्सवलाई यस वर्ष थारुलगायत चितवनका अरु आदिवासी जनजाति समुदायका विभिन्न सांस्कृतिक कार्यक्रमका साथै थारु खानाका परिकार भएका स्टलहरुका साथै व्यापारिक स्टलसमेत राखिने छ।

खानाका परिकारहरुमा चिचर, पोका, माछा, घोंघी, निचा, ग्वागा, निजइ, नकगर रोटी, नुनमर्चा इत्यादि परिकारहरुमा अन्य समुदायका दर्शकहरुको बढी घुँइचो हुने गरेको अनुभव सहभागीहरुले सुनाए। यस वर्ष थारु परिकारका खानाका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने जनाइएको छ।

माघेसक्रान्तीलाई थारु समुदायले परापूर्वकालदेखि नै हर्षोल्लासका साथ मनाउँदै आएको भए पनि नेपाल सरकारले यसलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गरी सार्वजनिक विदाको व्यवस्था गरेपछि अझ व्यवस्थित एवं सामूहिक रुपमा मनाउन थालिएको हो।

यस पर्वलाई विभिन्न क्षेत्रका थारु समुदायले कतै माघी त कतै खिचरी भन्ने नामले सम्बोधन गर्छन् तर चितवनमा भने खिचरा पावनी भन्छन्। यस दिन बिहानै चितवनका थारुहरु देवघाट धाममा स्नान गर्न जान्छन्। देवघाट जान सम्भव नहुनेहरु पनि सबेरै उठेर बच्चादेखि वृद्धसम्म सबैजना नजिकको खोला वा घरमै नुहाउनै पर्ने परम्परा छ।

नुहाइसके पछि भान्जाहरुलाई बोलाएर दान दक्षिणा दिइसकेपछि मात्र खिचराको परिकार खाने गर्छन्। चितवनका थारु समुदायले त्यस दिन चिचर र त्यसबाट बनेको पोका र माछा खाने गर्छन्। चिचरले शरीरलाई निकै न्यानो बनाउँदछ।

यता नारायणी नदीको किनारमा पुष २५ गते देखि माघ ५ गतेसम्म हरेक दुई वर्षमा गरिने चितवन महोत्सवको दशौं संस्करण हुने भएको छ। तथापि गत वर्षझै खिचरा महोत्सवलाई अन्य महोत्सवले कुनै असर नगर्ने बताइएको छ। गत वर्ष खिचरा महोत्सव सञ्चालन हुँदा त्यसको नौ किलोमिटर पश्चिममा रत्ननगर महोत्सव पनि सञ्चालन भैरहेकै थियो।

Leave a Reply

Your email address will not be published.