बाराको प्रसिद्ध गढीमाई मेलाका लागि नेपालका विभिन्न जिल्ला र सिमावर्ती भारतबाट आएका दर्शनार्थीको भिड बाक्लिँदै गएको छ। शुक्रबार मूल पुजारीले पञ्चबली चढाएपछि सर्वसाधारणको लागि बलि खुल्ला हुनेछ। त्यसअघि मेला मानिसको बाक्लो उपस्थिति ढाकिसकेको छ। मन्दिरका पुजारी मंगल चौधरीले बिहीबार दिनभरमा एक लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान गरे।
मंगलबारदेखि दर्शनार्थीको अनवरत ताँती रातको समयमा पनि टुटेको छैन्। बिहीबारको मध्यरातिपछि शुक्रबार अगहन शुक्ल पक्षको सप्तमी तिथि लागेपछि जंगली मुसा, कुखुरा, सुंगुर, बोका, रांगाको बलि चढाइनेछ। दर्शनार्थीको भिडलाई व्यवस्थित गर्न पाँच सयभन्दा बढी स्वयंसेवक र करिब १२ सय सुरक्षाकर्मी तैनाथ गरिएका छन्। गढीमाई मेलातर्फ जाने सवारी साधनको लाम वीरगन्जको नयाँ बसपार्कदेखि नौतनसम्म चार किलोमिटर छ भने कलैयादेखि बरियारपुरसम्म करिब ८ किलोमिटर बाटोमा सवारीको लाम छ। यसपालि एक करोडभन्दा बढी श्रद्धालु दर्शक मेलामा आउने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले आँकलन गरेको छ। त्यसै अनुसार आवश्यक व्यवस्थापन गरिएको समितिका अध्यक्ष रामचन्द्र साहले बताए।
मन्दिरभन्दा २ सय मिटर पूर्वमा रहेको बलिस्थल बनाइएको स्थानीय रंगशालामा बलिका लागि करिब ५ हजार राँगा बिहीबार साँझसम्म जम्मा भइसकेको थियो। समितिले करिब १० हजार राँगाको यसपालि बली चढ्ने अनुमान गरेर त्यस बराबरको ठेक्का प्रतिराँगा १ हजार ६ सय रुपैयाँ तोकेर १ करोड ६० लाख १० हजारमा दिएको छ।
देशभित्र र बाहिरबाट विभिन्न संस्था र व्यक्तिहरूले गढीमाईको बलिप्रथा रोक्न दबाब दिए पनि त्यसको खासै असर देखिँदैन। भारतको माथिल्लो अदालतले सीमापारिबाट बलिका लागि राँगा आउन नदिने आदेश गरेले त्यसको आंशिक असर देखिन्छ।
‘धर्म र आस्थाको सवालमा सरकार र अदालतको हस्तक्षेप हुनु हुँदैन, वर्षौंदेखि हामीकहाँबाट राँगा ल्याएर बलि दिने परम्परा छ,’ भारत बिहार पूर्वीचम्पारण चिरैयाबाट राँगा लिएर बलि चढाउन आइपुगेका रामअश्रय प्रसादले भने, ‘मैले भाकल भंग गर्ने कल्पना गर्न सक्दिनँ।’
बजार र बस्तीसँग नाका जोडिएका ठाउँमा भारतीय सुरक्षाकर्मीले कडाई गरेपछि त्यताका श्रद्धालुले खेतैखेतको खुला सिमाना पार गरेर राँगा ल्याउँदैछन्। ‘हाम्रोतर्फका थानेदार (इलाका प्रहरी अधिकृत) पनि गढीमाईका भक्त रहेछन्, खसै अप्ठेरो भएन्,’ राँगा लिएर आएका एक भारतीयले भने।
रौतहटको गौर नाका हुँदै गढीमाई भेलाका लागि भित्रिनेहरूको संख्या पनि ठूलो छ। सयौंको संख्यामा भारतीय नम्बर प्लेटका सवारी साधन गढीमाई मेलाका लागि आएको छ। रौतहटको लक्ष्मीपुर वेलविछवा, सदरमुकाम गौर, बन्जरहा, औरैया, रामपुरखाप, बंकुल तथा बाराको कर्चोवा, सिम्रौनगढ, खजानी, पिपरपाती, वेलदारी, मटिअर्वालगायत नाकामा दिनभर भारतीय दर्शनार्थी भरिएको गाडीहरूको लर्को थियो।
विभिन्न नाकामा भारत सरकारको निर्देशनबमोजिम बलिका लागि कुनै पनि पशु प्रवेश गर्न नदिन एसएसबीले कडाइ गरेको छ। यद्यपि राँगा, बोका र परेवा विभिन्न माध्यमले नेपाल भित्रिइरहेका छन्। भाकल पूरा भएपछि बलि दिन बोका लिएर आउँदै गर्दा भारतीय सीमामा तैनाथ एसएसबीले रोकेपछि दर्शनार्थीले यहाँका ग्रामीण क्षेत्रमा निकै महँगो मूल्य तिरेर बलिका लागि राँगा, बोका किनिरहेका छन्।
‘एसएसबीले बोका ल्याउन नदिएपछि राजपुर फरहदवामा बलिका लागि बोका किनेँ,’ भारत सीतामढीको पुनौराधामका किशोरी साहले भने। भाकल पूरा भएपछि गढीमाई बलि दिन ल्याएको बोका बागमती पुलमा तैनाथ सुरक्षाकर्मीले खोसेको सीतामढीकै मेजरगन्थका नगिनाप्रसाद यादवले गुनासो गरे। ‘भाकल अनुसार बलि नदिँदा ठूलो पाप लाग्छ,’ उनले भने, ‘अब नेपालमै किनेर चढाउँछु।’
नागरिकन्युजबाट साभार