गजेन्द्र बोहरा- ‘अब बाँचिन्छ होला, डाक्टरले भन्याछन्, फस्ट स्टेजमै छ अरे,’ सेतोपाटीले कुरा सुरु गर्नुअघि नै शान्ता चौधरी कसैलाई फोनमा जवाफ दिँदै थिइन्, ‘मेरो त आँशु आ’छैन तपाई किन रुनुपर्यो’ त, क्यान्सर लाग्नासाथ मरिन्छ र?’
काठमाडौँ बसुन्धाराको साँघुरो गल्लीभित्रको एउटा घर। कोचाकोच पारेर सामानहरू थन्क्याइएको एउटा कोठा। भुँइमा तीनजना किशोरहरू लहरै सुतेका थिए। भित्र पस्नासाथ भनिन्, ‘गाउँबाट आएका हुन्, भिसा लगाउन।’
कात्तिक १५ गते दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालबाट काठमाडौं फर्किनुअघि शान्ता चौधरीले आफ्नो फेसबुकमा लेखेकी थिइन् ‘एउटा तारेख सकियो, अझै कति तारेख धाउनुपर्ने हो?’ हो, यसरी नै जीवनमा उनले धेरै’तारेख’ झेलिरहेकी छिन्, अझैँ झेल्दैछिन्।
२०३७ सालमा जन्मिएकी उनलाई रमाइलोसँग बिताउनुपर्ने आठ वर्षकै उमेरमै जमिन्दारको घरमा बुझाइयो, उनी कम्लहरी भइन्। जिन्दगीका अठार वर्ष उनले जमिन्दारको घरमा बिताइन्। उनका बाजे पनि कमैया थिए, बाबु, आमा अनि उनीमात्रै होइन, उनका ६ वटी दिदी बहिनी सबै कम्लहरी।
१५–१६को बैंश भर्खरै फुल्दै थियो, बिहे भयो। उनले आफै मन पराएर पनि होइन, बाबुआमाले मागिदिएको पनि होइन, जमिन्दारले खोजेर ल्याइदिएका रे! ‘त्यसो गर्दा जमिन्दारलाई काम गराइरहन सजिलो हुन्थ्यो, फकाई–फुल्याई जमिन्दार आफैँले बिहे गराइदिन्थे,’ शान्ता मन्द मुस्कान ओंठमा नचाउँदै थिइन् त्यो विगतमा पुग्दा, ‘त्यसलाई के भन्ने? मागेको बिहा कि माया प्रिति गरेर!’
आफ्नो जग्गा जमिन थिएन। पुस्तै सुकुम्वासी। दाङ लक्ष्मीपुर गाविसमा उनका बाजेले गाउँकै जमिन्दारको जग्गामा सानो छाप्रो बनाएका थिए। बाउको पुस्ता पनि उस्तै।
उनीहरू जमिन्दारको जग्गामा बस्थे, अनि उनीहरूकै जग्गा जोत्थे। अँधियार पनि, जग्गामा घर बनाएर बसेका पनि, त्यो बेलाका जमिन्दारलाई के चाहियो? घरका परिवार जति सबै कमैया र कम्लहर, शान्ता मात्रै कसरी बचून्!
बिहेपछि पनि कम्लहरी नै थिइन्। गर्भमा बच्चा थियो। तैपनि उनीहरू जमिन्दारकै घरमा थिए, लोग्नेस्वास्नी दुवैजना। एकदिन दुवैले सल्लाह गरे, ‘अब आफ्नै घर बनाम्।’ नजिकैको एउटा बनको एउटा छेऊमा झार जंगल फाँडेर एउटा छाप्रो हाले।
त्यो बेला पनि उनीहरू जमिन्दारकै घरमा कमैया थिए। अरु केही उपाय थिएन। जवर्जस्ती कमैयाहरूले घर छोडेकाले जमिन्दार रिसाएका थिए। घरमा भाँडा माझ्ने, कमैया–कम्लहरीको आफ्नो छुट्टै घरसंसार बस्न थालेको कति जमिन्दारलाई पो पच्ला र?
त्यो सायद, २०५४ सालतिर थियो। उनी सुत्केरी भएकी थिइन्। छोरो १९ दिनको मात्रै थियो। लोग्ने जमिन्दारकै घरमा काम गर्न गएका थिए। एक हूल मान्छे आए, त्यो छाप्रोमा आगो सल्काइदिए।
छोरोलाई काखमा लिनमात्रै पाइन् राम्रोसँग हेर्न नपाउँदै त्यो छाप्रो एकैछिनमा खरानी भइसकेको थियो। साँझसम्मै कुरिन्, लोग्ने पनि फर्किएनन्। केही दिनपछि थाहा भयो, पुलिसले लगेछन्। आरोप थियो ‘सरकारी रुखहरू काटेर बनको जग्गामा घर हालेको।’ जमिन्दारले नै गाउँलेलाई उस्काएछन्, प्रहरीलाई भनिदिएछन्।
धेरै दिन भइसकेको थियो, खाना खान नपाएको सुत्केरी शान्ता चौधरीको दुध रसाएन। त्यो दूधे बालकले के खाओस्? छोरो काखैमा मर्योथ।
‘अहिले क्यान्सर भएको त्यसैले पनि हो कि जस्तो लाग्छ,’ आफ्नो देव्रे स्तनतिर संकेत गर्दै उनले भनिन्।
‘छोरो मरिसकेको थियो, दुध चुसाउन पाइएन, पछि त्यो दुधलाई निचोर्दै फालेको त थिएँ,’ उनलाई शंका छ ‘त्यै बेला दुध गानिएर गाँठागुठी निस्किएको होला।’
२०६३ सालमा जे पर्ला पर्ला भनेर जर्वजस्ती जमिन्दारको घरमा काम गर्न छाडे उनीहरूले। श्रीमान् ‘इण्डियन लाउरे’ भए।
गाउँमा अलिअलि आन्दोलन चल्दै थियो, भूमिहीनहरूको नाममा। शान्ता त्यसैमा लागिन्। गाउँमा सबैले भन्थे ‘शान्ता थरुनी बिग्रिई, छोराछोरी मारेर नेता बन्दैछे।’
समाजको त्यो लाञ्छनाले उनलाई कत्तिपनि बिचलित पारेन। ‘मलाई एक चम्चा तेल पनि पैंचो दिँदैनथे, तर आन्दोलनमा लागेपछि आफ्नै जग्गा पाइन्छ, आफ्नै घर हुन्छ अनि कसैले आगो लगाउन सक्दैन भन्ने सोंचिरहन्थेँ,’ उनको एउटै सपना थियो, ‘आफ्नै जग्गामा घर बनाउने, जसलाई कसैले आगो लगाउन नसकोस्।’
२०६४ सालमा संविधानसभाको निर्वाचन भयो। नेकपा एमालेले उनलाई समानुपातिकबाट सभासद बनायो। उनी काठमाडौं सरिन्। आफू सभासद। श्रीमानको केही काम थिएन। उनी पनि काठमाडौं आए। ‘लेबर’ भएर। फेरि नेताहरूले गाली गर्न लागे ‘सभासदको लोग्नेले लेवर गर्ने, लाज भयो।’
उनले धेरै समय त मानिनन्। तर, अति नै भएपछि लोग्नेलाई कतार पठाइन्। अहिले पनि श्रीमान उतै छन्। सभासद भएपछि उनले अलिअलि पढ्न सिकिन् तर लोग्नेले अक्षरसमेत चिन्दैनन्।
शान्ता राजनीति गर्ने मान्छेचाहीं होइनन्। उनलाई माओवादी ‘मान्छे मार्ने पार्टी’ जस्तो लाग्थ्यो। कांग्रेसी प्रवृत्ति त उनले राम्रैसँग भोगिसकेकी थिइन्, किनकि उनी कांग्रेस नेताकै घरमा कम्लहरी थिइन्।
एमालेबारे कम्लहरी छँदै सुनेकी थिइन्, ‘मनमोहनको पालामा धेरै सुकुम्वासीलाई जग्गा दिएका थिए, नारा राम्रा थिए।’ त्यसैले उनलाई लागेको थियो ‘एमालेले जग्गा दिन्छ कि!’
आखिर सपना त त्यही थियो, ‘आफ्नै जमिन, आफ्नै घर।’ ‘जग्गा दिने पार्टी त एमाले नै हो’ भनेर अलिअलि झुकाव थियो रे उनलाई। पार्टी सदस्यता त सभासद भएपछि मात्रै लिएकी हुन्, उनले।
२०७० मा फेरि संविधानसभाको निर्वाचन भयो। एमालेले उनलाई टिकट दियो। दाङको क्षेत्र नं. २ बाट उनी चुनाव लडिन्। हारिन्। तर, त्यो चुनाबबाट उनले तीनवटा कुरा सिकेकी छिन् ‘चुनाव जित्नका लागि पैसा, झुठ, अनि चुल्ठे–मुन्द्रे नभइ नहुने हतियार हुन्।’
तर उनीसँग ति सब केही थिएन। पैसा थिएन, उनले आफ्नो चुनावी प्रचारमा हिंडेका सहयोगीलाई खुवाउन ‘चामल’ माग्दै हिंडेकी थिइन्। दाङ शान्ता चौधरीलाई ‘मुठ्ठीदान’ अभियान नै चलेको थियो। झुठ कतै बोलिनन्, सबैले भन्थे, ‘क्यै हुन्छ भनेर गफ नदिइ कसरी चुनाव जित्छ्यौं?’ चुल्ठे–मुन्द्रे थिएनन्, गाउँघरका सामान्य मान्छे थिए। ‘हो, ती चुनाव जित्ने हतियार हुन्’ उनलाई लाग्छ ‘तर मैले चुनाव हार्नुको कारण अरुमात्रै होइनन्, म आफू पनि हुँ कि सायद।’
‘ह्या पिर नगर्नु, अब क्यै हुँदैन,’ कुराकानीकै बीचमा आएको फोनमा उनले कसैलाई भनिन् ‘यहाँ एउटा डाक्टरले पाठेघर सेकाउनुपर्छ भनेर त्यसै गरे त्यै भएर बिग्रियो, दिल्लीमा डाक्टरले गाली गर्दै थिए।’
चुनावको दौडधूप खुब चर्किएको थियो। उनी एकैछिन पनि बिसाउन पाएकी थिइनन्। छाति बेला–बेलामा दुखिरहन्थ्यो। स्तनमा गिर्खाहरू ठूल्ठूला हुन थालेका थिए। पेट पनि दुख्थ्यो। सेतो गन्हाउने पानी बगिरहन्थ्यो।
चुनावले तातेकी उनलाई लाग्यो, ‘धपेडीले गर्दा हो कि?’ करिब तीन वर्षअघि जाँच गराउँदा क्यान्सरका’सेल्स’हरू देखिइसकेका थिए। तर डाक्टरले ‘इन्जेक्सन’ लगाए हुन्छ भनेपछि उनी ढुक्क थिइन्। उनले केही इन्जेक्सन पनि लिइन्। पाठेघरमा त्यस्तै देखियो, डाक्टरले पाठेघर पनि सेकिदिए। चुनावको बेला उनलाई शरिरको केही ख्याल रहेन।
चुनाव सकियो। उनले जितिनन्, फुर्सदिलो भइन्। मनमा डर थियो क्यान्सर बढिसकेको छ कि भनेर। उनी रोइरहन्थिन्। ‘सधैँ मर्छु कि जस्तो लाग्थ्यो, म मरेँ भने छोराछोरीलाई कसले पढाइदेला भन्नेमात्रै सोच्थेँ।’ कक्षा ८मा पढ्ने छोरा अनि कक्षा ६मा पढ्ने छोरीमाथि उनको ठूलो सपना छ ‘तिनीहरू धेरै पढेर अरुलाई पढाउन सकून्।’ उनले आफन्तलाई पनि भनिसकेकी थिइन् ‘म मरेँ भने मेरा छोराछोरीहरूलाई पढाईदिनू।’ आफन्तहरूले उनलाई रुँदै गालि गरे।
दिल्लीको राजीव गान्धी क्यान्सर हस्पिटलमा पुगेर डाक्टरलाई देख्नासाथ उनी डाँको छोडेर रुन थालिन्। डाक्टरले हप्काउँदै भनेका थिए, ‘कसले भन्यो तपाईँ मर्नुहुन्छ? तपाईँले देख्नुभएन, अस्पतालभरि क्यान्सर लागेका बिरामी छन्, सबै बाँच्छन् तपाई पनि मर्नुहुन्न।’
चेकजाँच भयो। रिपोर्ट कुर्नुपर्ने भयो। उनी अस्पताल परिसरमै टोलाइरहिन्। क्षणमै रुन्थिन्, छोराछोरी सम्भि्कन्थिन्, आफ्नो जीवन सम्भि्कन्थिन्। खुब रुन्थिन्।
अस्पतालमा सयौं नेपाली थिए, क्यान्सर लागेका। ‘त्यसमा पनि काठमाडौंका बिरामी थिए अझ धेरै,’ उनले देखिन् ‘धेरै नेपालीलाई क्यान्सर हुँदो रै’छ।’ उनले त्यहाँ धेरै जना त्यस्ता मान्छेहरू पनि देखिन्, जो क्यान्सर निको भएका पनि थिए। उनीहरू क्यान्सर जितेर पनि बाँचेका थिए।
‘त्यसपछि लाग्यो पैसा भए त क्यान्सर भएपनि बाचिदोँ रैछ’ शान्ताको मनमा एकाएक बल भरिएर आयो। ‘म पनि कसो नबाचुँला र?’ शान्ताको रिपोर्ट बुझाउने पालो आयो। उनी डाक्टरको क्याविनमा गइन्।
डाक्टरले भने ‘तपाईँ भाग्यमानी हुनुहुन्छ, फर्स्ट स्टेजमै रहेछ, तपाईँ मज्जाले बाँच्नुहुन्छ।’ क्यान्सरको उपचार धेरै महंगो छ। एउटा सामान्य इन्जेक्सनको मूल्य पनि हज्जारौँ रुपैयाँ पर्छ। ‘बाँचिन्छ तर महंगो छ,’ उनलाई थाहा छ ‘क्यान्सरलाई जित्न साह्रै महंगो लडाई लड्नुपर्छ।’
उनले अलिअलि सुनेकी थिइन्, ‘क्यान्सर भनेको त धनीहरूलाई मात्रै लाग्ने रोग हो, तर त्यस्तो रहेनछ, क्यान्सर जसलाई पनि हुँदो रहेछ।’ ‘तर धेरै महंगो उपचार छ, पैसा नहुनेलाई क्यान्सर लाग्यो भने बाँच्नै गाह्रो हुन्छ,’ डाक्टरहरूले भनेको सुनेरै शान्ताको मन पनि शान्त भएको छ, ‘पैसा भयो भने त थर्ड स्टेजसम्म बिरामी नि बाँच्छन्।’
उनको देव्रे स्तनमा क्यान्सर छ। पाठेघरमा पनि छ। स्तनमा देखिएका गाँठागुठी हराउँछन् भनेर डाक्टरले उनलाई भनेका छन्। तर पाठेघर भने फाल्नैपर्ने भएको छ। डाक्टरहरूले भनेअनुसार नियमित औषधि भएमा यो निको हुन्छ, किनकि दुवै क्यान्सर प्रवेशको चरणमै छ। फैलिन पाएको छैन।
उनीसँग पनि पैसा त्यत्ति छैन। सभासद भएका बेला उनी प्राकृतिक स्रोत साधन समिति सभासपति समेत भएकी थिइन्। पहिलो संविधानसभा विघटन भएपछि सभासद पनि खुस्कियो, चुनाव जितिनन्। आर्थिक रुपमा उनी आफ्नै ‘हैसियत’मा आइन्।
‘सभासद खुस्किएपछि त पैसाको झन् धेरै संकट भयो, उपचारका लागि सरकारले दिएको पाँच लाख थियो, त्यो पनि सक्किइसक्यो, श्रीमानले कतारबाट पठाइदिनुहुन्छ।’ उपचारका लागि उनलाई आफन्तहरू, चिनजानका साथीले पनि सघाइरहेका छन्।
र, पनि उनी थाकेकी छैनन्।
दाङका विभिन्न स्कूलमा पढ्ने विद्यार्थीहरूलाई उनी कापी, कलम र कपडा बाँड्न दाङ जाँदैछिन्। चुनावका बेला उनी धेरै गाउँघर घुमिन् र त्यहाँ देखिन्, ‘हातमा च्यातिएका किताव च्यापेका, फाटेका चप्पल, जुत्ता लगाएका अनि फाटेका कपडा लगाएर विद्यार्थी दौडिरहेका।’ उनलाई लाग्यो ‘यसरी नि यिनीहरूले पढिरहेका छन्, पढ्न नपाएकाहरू त कति होलान्?’ त्यही सोंचले उनले शान्ता फाउन्डेशन खोलिन्। त्यसमा सहयोग जुट्न थाल्यो। त्यसैबाट उनले अहिले जिल्लाका १ सयभन्दा बढी विद्यार्थी पढाईरहेकी छिन्।
‘उनीहरूलाई मेरो रोगबारे क्यै थाहा छैन,’ उनी हल्का हाँस्न खोज्दै थिइन् ‘बरु भनिरा’छन् रे, शान्ता दिदी काँ जानुभो, हाम्रो कापी, कलम सक्कियो।’ त्यसैले, दिल्लीको क्यान्सर अस्पतालबाट फर्किएको पर्सीपल्टै उनी कापी कलम बोकेर जिल्ला फर्किदैँ छिन्।’
‘सायद सुखको पल यही हो, किनकी मैले कहिल्यै सुखको अनुभव गर्नै पाइनँ, पढ्न पाएका बच्चाहरूमा धेरै खुसी देखेको छु।’ क्यान्सरसँग अब शान्तालाई रत्तिभर डर छैन। कुराकानी सकेर विदा माग्दै गर्दा शान्ता भन्दै थिइन्, ‘मेरो रोगभन्दा फाउन्डेशनको बारेमा बढी लेखिदिनुहोला, कसैले विद्यार्थीहरुलाई कापी–किताव देलान्।’
‘क्यान्सर’कै रिपोर्टबाट कुरा सुरु गर्दा भने उनका आँखाका डिलमा आँशु टिलपिट गरिरहेको थियो। छेऊमै लेन्स मिलाईरहेका फोटो पत्रकार प्रकाश लामाले क्लिक गर्नै लाग्दा भने उनी सम्हालिइन्। र, त्यसपछि करिब डेढघण्टाको भलाकुसारीमा कतै पनि मलिन भइनन्, शान्त भइरहिन्। बीचबीचमा खुलेर हाँसिन् पनि।
विदा भएर निस्किदैँ गर्दा उनले भनिन्, ‘अब म रुँदिन, यी हेर्नुस् न तपाईँहरूसँग यत्तिका कुरा गर्दा पनि आँशु खसेन, बरु लड्छु अब क्यान्सरसित।’ हज्जारौँ क्यान्सर रोगीहरूसँगको नियमित साक्षात्कारले उनमा धेरै साहस भरिएको छ।
र, उनलाई लागेको छ, ‘जस्तोसुकै ठूलो रोगको उपचार भनेकै आत्मबल पहिलो औषधी हो, आत्मबल नभए जतिसुकै शक्तिशाली औषधीले पनि काम गर्दैन।’ शान्तालाई पनि विश्वास छ, ‘त्यही आत्मबलले अब क्यान्सर पनि जितिन्छ।’