सन्तोष दहित- घोराही नगरपालिकादेखि ६ किलोमिटर पश्चिम-दक्षिन सौडियार गाविस-९, सिसहनियामा एउटा ठूलो बस्ती छ। जुन गाँउम दुई सयभन्दा बढी घरधुरी छन्। सिसहनिया गाँउमा दुईचार घरबाहेक सबै थारु समुदायको बसोबास छ। त्यही गाँउको दक्षिणतिर खोलाको किनारमा छ- थारु नमूना ग्राम।
परम्परागत शैलीम पाँच वटा ‘बाँरा’ टहरा घर निर्माण गरिएको छ। घरको उत्तरपत्ति दुईवटा पोखरी बनाएको छ। जसमा माछापालन गरिएको छ। घरको पूर्वतिर सानो बन छ। पश्चिमतिर करेसाबारी छ। जुन बारीमा बेमौसीअनुसार तरकारी खेती गर्दै आएका छन्- थारु नमूना ग्रामको रेखदेख गर्नेले।
त्यो ठाँउ पुग्न घोराहीदेखि बस चढेर ४५ मिनेटमा पुग्न सकिन्छ भने मोटरसाइकलमा ३० मिनेटमा। त्यहाँ पुग्दा पक्कै पनि थारु बस्तीमा गएको महसुस हुन्छ। हरेक बस्तु थारुहरुको परम्परा सामग्री देख्न सकिन्छ। घरलाई पनि थारु समुदायका पूर्खाले बस्दै आएको परम्परागत शैलीमा उतारिएको छ। घरको भित्तामा समेत पूर्खाहरुले निर्माण गरिएको हाते चित्र हात्ति, मयुर, माछालगायत माटोले बनाएको पाइन्छ।
जुन घरलाई नमूना थारु ग्राम भनि जिल्ला विकास समिति दाङबाट घोषणा भइसकेको छ। त्यो नमूना थारु ग्राममा गएपछि पक्कै थारु समुदायको पहिचान ‘सैदान’ देख्न पाइन्छ।
यतिमात्र नभएर नमूना थारु ग्राममा परम्परागत चालचलन, रीतिरिवाज, खानपिन, पूजाआजा, नाचगानसमेत देख्न सकिन्छ। त्यस्तै नमूना थारु ग्राममा परम्परात सामग्रीहरु धान कुट्ने ढेकी, दाल पिस्ने चकिया, माछा मार्ने हेल्का, जाल, माछा बझाउने खोङ्ग्या, माछा राख्ने डेल्या राखेका छन्।
त्यसैगरी बैठक कोठाको उत्तर पट्टिको भित्तामा कृष्णजन्मास्टमीको दिन बनाइने चित्रहरु देख्न पाइन्छ। सुत्ने कोठामा लुगा राख्न पुर्खाले प्रयोग गर्दै आएको ‘भौका’माथि टांगिएको छ। त्यही घरम आवासीयरुपमा जाने पर्यटकलाई बस्ने, सुत्ने व्यवस्था गरिएको छ।
नमूना थारु ग्रामलाई देखाउनका लागि मात्र नभएर व्यवहारमा समेत ल्याएको पाइन्छ। नमूना थारु ग्राममा पर्यटकका लागि थारु परिकारको पनि व्यवस्था गरिएको छ। थारु परिकारकारमा डर्या भात, उज्जर भात, दाल, सिन्की, कप्वा, माछा, गुल्यहार घोङी, नम्मा घोङी, गंगुता, सुंगुरको मासु, लोकल चल्लाको मासुको स्वाद चाख्न पाइन्छ।
त्यसैगरी चिसो मार, तातो मार, जाँरक झोल, अन्दी जांरको झोल, छब्वा जाँर, हिहोर्वा जाँर र रक्सी पनि पाइन्छ। त्यतिमात्र नभएर पर्यटकहरुको मागअनुसार बजारमा पाइने फरक आइटमका खानपिनको पनि व्यवस्था गर्दै आएको नमूना थारु ग्रामका अध्यक्ष बेझलाई चौधरीले बताए।
त्यस्तै थारु नमूना ग्राममा बास बस्न जाने पर्यटकलाई थारुको संस्कृति झल्किने नृत्य पनि देखाइन्छ। जस्तै मघौटा, छोक्रा, हुरदुँख्ग्या, संख्या, दशैको पैयासमेत देखाइन्छ।
यो नमूना थारु ग्रामबाट पक्कै पनि थारु जातिको पहिचान र अस्तित्व कायम गर्दै अरुलाई थारुको संस्कृतिलाई चिनाएको छ। यतिमात्र नभएर नमूना थारु ग्राम थारु समुदायको रहनसहन, लवाइखवाइबारे अध्ययन गर्ने एउटा माध्यमसमेत बनेको छ। जुन माध्यमबाट थारु समुदायका नयाँ पुस्तालाई आफ्नो पहिचानबारे अध्ययन गर्न सहयोग पुग्नेछ।
पछिल्लो समयमा थारु भाषा, लवाइ, खवाइदेखि लिएर थारुहरुको भेषभुषा, संस्कृति, नाचगान लोप हुँदै गइरहेका बेला सिसहनिया गाँउका सम्पूर्ण थारु समुदायले आफ्नो संस्कृतिलाई बचाउन परेका छन्। यस्तो सराहनीय कामका लागि सिसहनियाबासी धन्यवादका पत्र भएको बेझलालले बताए।
नमूना थारु ग्रामलाई व्यापक प्रचारप्रसार गर्नसके दाङको लागि मात्र नभएर मध्यपश्मिकै लागि ठूलो पर्यटकीय स्थल बन्ने सम्भावाना देखिन्छ। अहिले विदेशबाट थारु समुदायको रहनसहनदेखि लिएर उनीहरुको संस्कृतिलाई अध्ययन गर्ने विदेशीहरुको घुइँचो लाग्ने गरेको छ।
यसलाई व्यवस्थित गरी प्रचारप्रसारमा ल्याउने हो भने नमूना थारु ग्रामलाई मात्र नभएर जिल्लालाई पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूला सहयोग मिल्नेछ। यसलाई अझ व्यवस्थित गरी होमस्टेसँगै संग्रहालयको स्थापना गर्नसके जिल्लाको लागि राम्रो पर्यटकीय स्थल बन्नसक्ने थारु अगुवाहरु बताउँछन्।