‘भितिया गौवर’ पर्व मनाँउदै थारु महिला

tharu lady

कमला चौधरी, बुटवल- नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो। नेपालमा बस्ने हरेकको आफ्नो छुट्टै मौलिक पहिचान छ। त्यसमा पनि पूर्व मेचिदेखि पश्चिम तराईका फाँटहरुमा बसोबास गर्ने नेपालको भूमीपुत्र मानिने थारु समुदायको आफ्नै विशेषता छ। यो समुदायको आफ्नै मनमोहक संस्कृति, लवाइखवाइ, रीतिरिवाज छ। हरेक महिना थारु समुदायले चाड मनाउँछन्। भर्खरैमात्रै नेपालीहरुको महान् चाड बडादसैं सकियो। थारु समुदायले दसैंलाई दशहराको रुपमा मनाए। दशहरा सकिएको एक हप्ता नबित्दै थारु समुदायले भितिया गौवर पर्व मनाउँदैछन्।
पूर्व र पश्चिमका थारु समुदायले नमनाए पनि नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायतका अन्य जिल्लामा थारु महिलाले आजमध्ये रातदेखि भितिया गौवर पर्व मनाउन लागेका हुन्।

भितिया गौवर (करवा चौथ) भनेर पनि भनिन्छ। करवा चौथ भनेर छिमेकी राष्ट्र भारतमा भनिए पनि नेपालमा थारु समुदायले भितिया गौर भनेर मनाउँछन्। भितिया गौवरको पौराणिक कथन बताउँदै थारु महिला अगुवा तथा थारु कल्याणकारिणी सभा रुपन्देही सचिव सरिता चौधरी यस्तो भन्छिन्- भतिया गौवर पर्व खास गरी विवाहित महिलाले आफ्नो श्रीमानको सुस्वास्थ्य, दीर्घायु र घरपरिवारमा सुखःशान्तिको कामना गर्दै मनाउने गर्छन्। एक जना थारु समुदायको घरमा विवाहित महिलाले यसै समयमा ब्रत बस्न सुरु गरे। त्यसै समयमा उनको अविवाहित नन्दले म पनि ब्रत बस्छु भन्दै जिद्ध गरिन्। भाउजुले अविवाहित छोरीचलीले ब्रत बस्नु हुँदैन। विवाहितको लागि मात्रै हो भनि सम्झाइन्। नन्द हुन्छ भन्दै जिद्ध गर्न छाडिन्। त्यसको एक वर्षपछि नन्दको विहे भयो। विहे भएपछि दिन आयो। ब्रत बस्ने चाजोपाजो गर्न थालिन्। रातदेखिनै ब्रत बस्ने तयारी गर्नुपर्ने भएकाले त्यसको अघिल्लो दिन नै थारु महिलाले आफ्नो घर लिपपोत गर्ने, सफा सुग्घर राख्ने गर्छन्। घरलिपपोतकै लागि भनेर नन्द भर नजिकैको खेतमा माटो लिन गएछन्। माटो खन्ने क्रममा सानो कोदालेले झुक्किएर मुसालाई लागेछ। मुसाको मृत्यु भएछ। भोलिपल्ट पतिको लागि भनेर दिनभर निराहार ब्रत बसेछिन्। उता भने पतिको मृत्यु भएछ। पतिको मृत्यु भएको खबर माइत पक्षलाई खबर हुन्छ। सबै परिवार त्यहाँ जान्छन्। भाउजु नन्दलाई तपाईँले केही चीज मार्नुभएको हो भन्दै सोध्दा हिजो माटो खन्ने क्रममा मुसा मरेको सुनाइन्। भाउजुले ब्रत बस्नु अगाडि पशुपंछीको बध गर्नु हुँदैन भनिन्। सोही कारण पतिको मृत्यु भएको भनियो। घरमा रुवाबास चल्यो। मेरो पतिलाई बचाइदिन पर्‍यो भन्दै रुवाबास चल्यो। एक जना गुरुवाले नजिकैको जंगलमा अमृतको जडीबुटी छ, त्यो ल्याए खुवाएपछि होस् आउँछ। जडीबुटी ल्याइयो, खुवाएपछि होस् आयो। र, त्यस घरमा खुसीयाली छायो। गाउँमा पनि थारु महिलाले खुसीसाथ नाचगान गरी भितिया गौवर ब्रत बसे।
यसरी ब्रतको समयमा कुनै पनि जिउँदो चीजलाई मार्नु हुँदैन भन्ने ज्ञान भयो। थारु महिलाले आज रातको १२ बजेभित्रै माछामासु खाने जसलाई सरगाही (दर खाने) भन्छन्। १२ बजेपछि भोलि बिहान दिनभर पानी पनि नखाइ निराहार ब्रत बस्छन्। खान नखाए पनि गीत गाउने, नाचगान गर्ने, समूहमा रमाइलो गर्छन्। कजरीको रुखको लिङ्गो गाडेर, ढकियामा दियो बत्ति, दुलहीजस्तै बनेर साँझ परेपछि चन्द्रमालाई अर्ग दिएर पुनः माछामासु, ढिकरी खाँदै घरमा रमाइलो गर्ने चलन छ।

खासगरी थारु महिलाले आफ्नो घरमा पतिपत्नीबीचको सुमधुर सम्बन्ध र परिवारिक सुख र शान्तिका लागि यो पर्व मनाउने गर्छन्। पहिला विवाहितले मात्रै मनाए पनि आजभोल अविवाहितले पनि ब्रत बस्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *