मदन चौधरी। समाज सेवामा सक्रिय नन्दुराज चौधरी ‘सर्वहित’ले एकल प्रयासमा ‘जुनेलीके आश मे’ नामक थारु एलब्म बजारमा ल्याएका छन्। भलै उनले यसको श्रेय एलब्मका नव गायकगायिकालाई दिन्छन्। तर नव प्रतिभालाई समेटेर उनले एकल प्रयासमा यो एलब्म बजारमा ल्याएका हुन्।
थारु भाषाको आधुनिक गीतसँगै एलब्ममा थारु संस्कृति झल्किने र युवा वर्ग लक्षित गीतहरु समावेश गरिएका छन्। नन्दु चौधरी स्वयंले ‘पसिनाके धारा’ बोलको गीत गाएका छन्। जसको रचना उनी स्वयंले गरेका छन्। देशभक्तिले ओतप्रोत भएको उक्त गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए।
नन्दु चौधरीकै रचनामा दोशहरण चौधरीले ‘औंसीके रातमे’ गीत गाएका छन्। दोशहरणले आफ्नै रचनामा अर्को एकल स्वरमा ‘रोजले रहुँ’ गाएका छन्। दुबै गीत कर्णप्रिय छन्।
थारु संस्कृति झल्किने रोशन चौधरीद्वारा गाइएको ‘आँखिमे कजरा’ र ‘पूर्वे मेची पश्चिम महाकाली’ बोलको गीत पनि उत्कृष्ट छ। दोशहरण चौधरीद्वारा रचित गीतमा रोशन स्वयंले संगीत भरेका छन्।
‘पूर्वे मेची पश्चिम महाकाली’मा नन्दु चौधरी, रेनु चौधरी, दोशहरण चौधरी र अन्जु चौधरीको स्वर रहेको छ। उक्त गीतको रचना नन्दु चौधरीले गरेका हुन्।
त्यस्तै एलब्ममा रोमान्टिक गीत पनि समावेश गरिएको छ। ‘मै तुहार गीत हुँ तु मोर सरगम’ बोलको गीत युवावर्गलाई लक्षित गरी बनाइएको छ। दोशहरण र रेनुको स्वरमा रहेको उक्त गीतको रचना खुसी चौधरीले गरेका हुन्।
एलब्ममा भुवन प्रकाश ‘बिरही’को स्वर पनि सुन्न पाइन्छ। उनले ‘फूला जैसन फूलो हरदम’ बोलको एकल गीतमा स्वर दिएका छन्। एलब्ममा रोशन, दोशहरण र भुवनले संगीत भरेका छन्।
गीतहरु सुन्नुहोस्:
एलब्म कसरी निकाल्नुभयो?
अहिलेको युगमा गीतसंगीतले जोडतोडले फड्को मारिरहेको छ। तर देशकै चौथो ठूलो जनसंख्या भएको थारु भाषाका गीतसंगीत भने आज पनि पछि परेका छन्। जुनरुपले थारु भाषाका गीतसंगीत उत्पादन हुनुपर्ने हो त्यसअनुरुप उत्पादन भइरहेको छैन।
समाजसेवामा सक्रिय रहेका नन्दु चौधरीले एलब्म निकाल्ने सोँच कसरी बनाए त? थारुवान डटकमको प्रश्नमा उनी भन्छन्, ‘नयाँ ऊर्जा भएका धेरै प्रतिभाहरुले अवसर पाइरहेका छैनन्। अझ हाम्रो समुदायकाले त झनै पाएका छैनन्। त्यस्तै ऊर्जावान प्रतिभाहरुलाई मैले अवसर जुराइदिएको मात्र हो। रह्यो मेरो कुरा। म आफैं पनि गीतसंगीतमा रुची राख्न मान्छे हुँ।’
एलब्ममा समावेश गरिएका गायकगायिकाले हामी आफैं मेहनत गर्छौं भनेपछि एलब्म निकाल्ने तयारी गरेको उनले बताए।
पश्चिम भाषाको गीतमात्र किन?
नेपालमा थारुहरुको भाषामा विविधता छ। पूर्व र पश्चिमका थारुहरुले आफ्नै लवजमा बोल्ने गर्छन्। दाङका कलाकाहरु भएर होला एलब्ममा पनि उतैको भाषा समावेश गरिएको छ। यिनै कुरालाई लिएर थारुवान डटकमले उनीसँग दोस्रो प्रश्न गरे- पश्चिम थारु भाषामा मात्र किन? उनले भने, ‘सबै थारु कलाकारहरु एकीकृत हौं भनेरै खासमा यो एलब्म निकालेका हौं। भलै यसमा पश्चिमको भाषामा गीत रचिएको छ। तर हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु कलाकाहरुलाई एकीकृत गर्ने उद्देश्यले ‘चम्पन सांस्कृतिक समूह’ गठन गरेका छौं। यसमा सम्पूर्ण थारु कलाकारहरुलाई समावेश गरेर राष्ट्रिय कलाकार उत्पादन गर्न लक्ष्य राखेका छौं। राष्ट्रिय स्तरका कार्यक्रमहरुमा यही समूहबाट कलाकारहरुलाई पठाउनेछौं। मलाई विश्वास छ- आगामी दिनमा हामीले योभन्दा राम्रा राम्रा सिर्जना लिएर आउनेछौं।’
को हुन नन्दुराज चौधरी?
दाङको देउखुरीमा सामान्य परिवारमा जन्मिएका नन्दुराज चौधरी जीवनमा धेरै संघर्ष गरेका छन्। १३ वर्षको कलिलै उमेरमा उनी वि. सं २०४९ सालमा राजधानी आए। पढ्न पाउँछु कि भनेर राजधानी आएका उनी यहीँ संघर्ष गरे। उनले आफ्नो पढ्ने सपनालाई पूरासमेत गरे। २०५६ सालमा दरवार हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेका उनले संघर्षसँगै आइए पास गरे। उनी अहिले पनि समाजशास्त्रमा स्नातक गरिरहेका छन्। पढ्नलाई उमेरले छेक्न नसक्ने भन्दै उनी समाजशास्त्रको विद्यार्थी भएर पढिरहेका छन्।
एसएलसी पास गरेपछि उनले राष्ट्रियि मृगौला केन्द्रमा जागिरसमेत पाए। पछि उनले दाङमै मागी विवाह गरे। जागिरकै सिलसिलामा उनले आफूजस्तै दुःख, पीडामा परेकालाई सहयोग गर्ने उद्देश्यले ‘सर्वहित समाज’नामक संस्थाको स्थापना गरे। राजधानीमा बस्ने दाङकै मान्छेहरुलाई समावेश गरेर उनले केही रकमसमेत जम्मा गरे। तिनै संस्थामार्फत् गाउँमा उनले स्वास्थ्य शिविर पनि सञ्चालन गरे। आज पनि सर्वहित समाजले राम्रो राम्रो काम गर्दै आएको छ।
सर्वहित समाजको गठन
‘सर्वहित’को अर्थ नै ‘सबैको हित’ भएकाले सबैको हित हुने कामका लागि सर्वहित समाजको गठन गरेको उनले बताए। सर्वहित समक्ष गुहार माग्न आउने जोकोहीलाई पनि केही न केही सहयोग गरेको उनको भनाइ छ। उनी भन्छन्,’ ‘ज जसले सम्पर्क गर्छन्, सबैलाई केही न केही सहयोग गर्दै आएका छौं। सर्वहित यो उद्देश्यका निम्ति काम गर्छ भनेर गठन गरिएको होइन। यसले एउटा मात्र अर्थ बोकेको छ। सबैको हित। त्यसैले सबैलाई सहयोग गर्न पाइयोस्।’
उनी हल्लाभन्दा पनि कार्ममा बढी विश्वास गर्छन्। त्यही भएर उनी काम गरेर देखाउन हरदम तत्पर रहन्छन्। उनी भन्छन्, ‘भलै सर्वहित दर्ता भएको छैन। चाँडै दर्ता गर्छौं पनि। तर हामी कर्मलाई विश्वास गर्ने मान्छे। बढी फोकस त्यसैलाई गर्छौं।’
साहित्यमा कसरी लाग्नुभयो?
कार्यक्रमको सिलसिलामा थारु पत्रकार तथा साहित्यकार कृष्ण सर्वहारी र शत्रुघन चौधरीसँग भेट भयो। २०६५ साल थियो। राजधानीमा बस्ने दाङबासी मिलेर पिकनिक पनि गयौं।
पिकनिकमा बर्दियाली थारु विकास मञ्चलगायतले पनि सहकार्य गरेको थियो। त्यही बेलादेखि साहित्यमा बढी रुची बढ्यो। किनकि त्यही बेलादेखि थारु भाषामा हामीले ‘बिहान’ पत्रिका निकाल्न थाल्यौं। जसले थारु भाषा, संस्कृति र साहित्यलाई प्रबर्द्धन गर्दै आएको छ।
त्यसपछि २०६७ सालमा ‘पुर्वे मेची’ शीर्षकको रचना गोरखापत्रमा प्रकाशित भयो। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म जुनरुपमा थारु भाषामा विविधता छ। त्यही बेला यसलाई एकीकृत गर्नुपर्छ भनेर मैले यसको रचना गरेको थिएँ। गोरखा पत्रमा प्रकाशित भएपछि मैले साहित्य लेखनलाई बढी नै ‘प्रायोरिटी’ दिन थाले। त्यसकै कारण भन्नुपर्छ हामीले कीर्तिपुरमा हरेक महिना सहित्य भेला आयोजना गर्छौं। त्यही भेलाका उत्कृष्ट रचनालाई हामीले ‘परगा’ नाम दिएर कविता संग्रह पनि निकालेका छौं। त्यसअघि कक्षा ९ मै पढ्दा भने हामीले हवाइ पत्रिका चलाउँथ्यौं।