तराईमा एक-दुई प्रदेश बनाउनु थारुको छातीमा गोली ठोक्नुसरह हो : लेखी

Rajkumar Lekhi

सन्तोष दहित– दाङ- नेपाल थारु अगुवा तथा राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले तराईमा एक वा दुई प्रदेश बनाउनु भनेको थारु समुदायको छातीमा गोली ठोक्नुसरह भएको बताएका छन्। दाङको घोराहीमा थारु पत्रकार संघ र फोनिजद्वारा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो कुरा बताएका हुन्। उनले पहाडमा जति प्रदेश बनाइन्छ, त्यति नै प्रदेश तराईमा पनि बन्नुपर्ने बताए।

नेपालको आधा जनसंख्या बोकेको तराईमा पहाडजस्तै सामान रुपले प्रदेश बनाइनुपर्ने उनले बताए। ‘पहाडमा ७ प्रदेश बनाइन्छ भने तराईमा पनि ७ प्रदेश बन्नुपर्छ,’ उनले भने, ‘तराईमा एक प्रदेश बनाउने नेताहरु तराईका कुनै पनि जिल्लामा पाइला नटेके हुन्छ।’

नेपालका आदिवासी जनजाति समुदायका केही अगुवाले नाम मात्रको संघीयता खोजको आरोप लगाउँदै लेखीले यहाँका आदिवासी जनजातिले वास्तविक संघीयता चाहेको बताए। ‘संघीयताले सबैलाई सम्मान गर्छ,’ उनले भने, ‘पछाडी पारिएका वर्गलाई अधिकार दिलाउनलाई पनि संघीयताको जरुरी छ।’

अहिले संघीयतालाई नाममात्रको व्यख्या भइरहेकाले वास्तविक संघीयाता ल्याउनेका लागि आदिवासीहरु जागरुक हुनुपर्ने बताए। राज्य पुर्नसंरचानाका विषयमा अहिले चलिरहेको चलखेलले कसैलाई पनि हित नहुने बताउँदै लेखीले मुलकलाई शान्ति, सुव्यवस्था र अवसरको खाँचो भएकाले संघीता र प्रदेश निर्माणको विषयमा अलमल नहुन नेताहरुलाई आग्रहसमेत गरे।

थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्रीसमेत रहेका लेखीले तराईलाई बहुप्रदेश नबनाए तिहार र छठपछि तराईमा थारुहरुको दोस्रो आन्दोलन प्रारम्भ हुने बताए। थारु आन्दोलन नगरिकन तराईका थारु समुदायले अधिकार प्राप्त गर्न नसक्ने लेखीले बताए।

तराईका आदिवासीलाई मधेसी बनाउँदा पहाडका आदिवासी जनजाति नेता तथा अगुवाहरुले प्रतिक्रिया नदिनु विडम्बना भएको उनले बताए। यही कारण कारण संघीता र प्रदेश निर्माणको विषयमा समस्या भएको उनले बताए।

फोनिज दाङका अध्यक्ष देविका जीएमको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण थारु पत्रकार संघका अध्यक्ष सन्तोष दहितले गरेका थिए।

Leave a Reply

Your email address will not be published.