१७औं एसियाली खेलकुद सुरु

Flag bearer of Nepal Sneh Rajya Laxmi Rana leads the team into the Opening Ceremony of the 17th Asian Games in Incheon

इन्चोन एसियाड मुख्य रंगशालामा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हीले उद्‍घाटन गरेसँगै १७ औं एसियाली खेलकुद शुक्रबार साँझ औपचारिक रुपमा सुरु भएको छ। एसियालाई एकताको सुत्रमा बाँध्ने नारासहित सुरु भएको एसियाली खेलकुद १६ दिन सम्म चल्नेछ। झण्डै चार घन्टा चलेको उदघाट्न समारोहले दक्षिण कोरियाको पश्चिम तटीय क्षेत्रको आकर्षणको केन्द्र इन्चोन शहरलाई एशियाका अन्य शहरसँग जोड्ने सेतुको रुपमा प्रतियोगितालाई परिभाषित गर्ने प्रयास गरेको थियो।

एसियाको विकासलाई चार भागमा प्रस्तुत गरिएको उद्घाटन समारोहमार्फत ‘यहाँ विविधता उदाउँछ’ भन्ने सन्देश दिने प्रयास गरिएको थियो। एसियाड आयोजक कमिटिका अध्यक्ष किम योङ सोले इन्चोन शहरवासीलाई धन्यवादै दिदै भने, ‘यो इन्चोनवासीको सफलता हो। एशियालाई एकताको सुत्रमा बाँध्ने प्रतियोगिताले इन्चोनवासीलाई पक्कै एकतामा बाध्नेछ। ‘

उनले प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी र खेल अधिकारीलाई धन्यवाद दिन भ्याए। त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष शेख अहमद अल फहद अल शबहले इन्चोन शहरवासीलाई भव्य कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै खेलकुदले एशियालाई एकतामा बाँध्ने आशा व्यक्त गरे।

एसियाली खेलकुदको उद्घाटनमा कोरियाली संस्कृति झल्किने पुङमुल नाटक र कोरियाको चर्चित बोय ग्रुप एक्सोको मुख्य प्रस्तुति थियो। इन्चोनलाई सपनाको चुम्बक, इन्चोन जहाँ सबै मित्र बन्छन् र हामीले सोचेजस्तो भविष्यको इन्चोन शीर्षकमा विविध प्रस्तुतिहरु पस्किइएको थियो। जहाँ कोरियाका चर्चित कलाकारहरुको समेत सहभागिता थियो। ‘गङनाम स्टाइल’का चर्चित कोरियाली गायक पीएसवाईको प्रस्तुतिसँगै उद्घाटन सत्रको अन्त्य गरिएको थियो।

कोरियाले २००७ मा एसियाड आयोजनाको अवसर पाएसँगै इन्चोनले तयारी सुरु गरेको थियो। आधुनिक इन्चोन यति बेला सिंगारिएको छ। कोरियाले आयोजनाको भव्यताभन्दा एसियाली राष्ट्रबीचको भावनात्मक एकतामा बढी जोड दिएको पाइन्छ। एसियाली भावनाको प्रतिनिधित्वको सन्देश दिने अवसर पाउनुलाई नै इन्चोनले गर्वको विषय मानेको छ। उद्घाटन कार्यक्रमका कला निर्देशक जाङ जिनले प्रतियोगिता आयोजनाभन्दा पनि इन्चोनलाई एशियामा चिनाउने र सम्पूर्ण एशियालाई एकताको सुत्रमा बाँध्ने नै एशियाडको मुख्य लक्ष्य रहेको भनाई राखे।

उद्घाटन कार्यक्रमलाई परापूर्व कालको एशिया, समुद्रको माध्यमबाट भाइचारा बढाउने, मित्र र परिवारजनका रुपमा विकसित हुँदै गरेको एशिया, अहिलेको एसिया र भविष्यलाई जोड्ने सशक्त एशिया झल्काउने गरि विभिन्न सामग्रीहरु प्रस्तुत गरियो।

भव्य आतिशवाजीबीच भएको मार्च पासमा नेपालको झण्डा शुटिङ्गकी स्नेहा राजयलक्ष्मी राणाले बोकेकी थिइन्। कोरियाली वर्णानुक्रम अनुसार नेपालको नाम पहिले आउने भएकाले यो पटक मार्चपासमा नेपाली खेलाडीले मार्चपासको सबैभन्दा सुरुमा अभिवादनको अवसर पाए। मार्चपासमा नेतृत्वको मौका पाएको नेपालले एसियाली खेलकुद इतिहासकै ठूलो टोली पनि यसै पटक उतारेको छ। १६ औं एसियाली खेलकुदमा बक्सिडका दीपक महर्जनको एक कांस्य पदकमा चित्त बुझाएको नेपालले इन्चोनमा २५ खेलमा २ सय ४ खेलाडी उतार्दैछ। नेपालका प्रशिक्षक र अफिसियलको संयुक्त संख्या खेलाडी भन्दा ठिक आधा १ सय २ जना छन्। आयोजक कोरियाले सहभागितामा कीर्तिमान कायम गर्दै ८ सय ३१ खेलाडीलाई ३६ खेलमा प्रतिस्पर्धा गराउँदैछ।

एशियाका ४५ राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिता कोरियाले आयोजना गर्न लागेको यो तेस्रो पटक हो। कोरियासँग यसअघि सन् १९८६ मा शोल र २००२ मा बुसानमा एसियाड आयोजना गरेको अनुभव छ।
रंगशाला धाएर प्रत्यक्ष र टेलिभिजनमार्फत गरि विश्वका ४ अर्ब ५० करोड दर्शकले एसियाली खेलकुदको उद्घाटन सत्र हेरेको आयोजकको अनुमान छ। १६ दिन सम्म चल्ने यसपटको एसियाडमा खेलाडी र अफिसियल गरी ४५ देशबाट १३ हजारको सहभागिता छ। एसियाली खेलकुदको सबभन्दा ठूलो खेलमेलामा विभिन्न ३६ खेलमा ४ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।
स्वर्ण र रजत पदकको कमै अपेक्षा राख्ने गरेको नेपाली टोलीमा कम्तीमा खाली हात फर्कनु नपरोस् भन्ने अपेक्षा देखिन्छ।
हरेक एसियाड जस्तै चीन एशियाली खेलकुदको पदक तालिकामा शीर्ष स्थानमा रहने अपेक्षा गरिएको छ। भारतको नयाँ दिल्लीमा १९८२ मा आयोजित पहिलो एसियाडयता चीनलाई कसैले उछिन्न सकेको छैन।
चार वर्षअघि स्वदेशमा आयोजना हुँदा चीनले १ सय ९९ स्वर्ण जितेको थियो। जहाँ दक्षिण कोरिया ७६ स्वर्ण पदकका साथ दोस्रो भएको थियो। यसपटक स्वदेशमा एसियाड आयोजना हुँदा कोरियाको मुख्य लक्ष्य चीनलाई पछि पार्नु हुनेछ। यद्दपी त्यो सहज भने छैन। कोरियाले शुटिङ, फेन्सिङ, पौडी, आर्चरी, बलिङलगायतका खेलमा गरी ९० भन्दा बढी स्वर्ण पदकको अपेक्षा राखेको छ।

Leave a Reply

Your email address will not be published.