प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि विधायन समितिमा गंगा चौधरी निर्विरोध

Oath of Office

संविधानसभा निर्वाचनको साढे नौ महिना पछि संसदीय समितिहरूले नेतृत्व पाएका छन् । सभामुख सुवासचन्द्र नेम्वाङले बुधबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनियताको सपथ गराए । दलीय भागवण्डा अनुसार कांग्रेस र एमालेले ४/४, प्रतिपक्ष एमाओवादीले २ (लेखामा पहिलेनै निर्वाचित), राप्रपा नेपाल, मधेशी दलहरू र साना दलबाट एक/एक सभापति चुनिएका हुन् । नेम्वाङ्गले शुक्रबार विहान संसदीय समितिका सभापतिहरुको संयुक्त बैठक डाकेका छन् ।
विधायन समितिको सभापति पदमा दाबेदारी गरेका पूर्व कानुनमन्त्री प्रेम बहादुर सिंहले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि सबै सभापति निर्विरोध निर्वाचित भएका हुन् ।  साना दलको भागमा परेका विधायन समितिको सभापति पदका लागि भने गंगा चौधरीसँगै सिंहले उम्मेदवारी दिएका थिए ।

यसअघिनै निर्वाचन भएको लेखा समिति समेत गरी संसदका १४ वटा समिति सभापतिमध्ये दुई जना मात्र महिला निर्वाचित भएका छन् । एमाले सांसद रञ्जु झा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण सभापति चुनिएकी छिन् भने थरुहट तराई पार्टीकी गंगा चौधरी विधायन समितिको नेतृत्वमा पुगेकी छन् ।

प्रमुख सत्तारुढ दल कांग्रेसले आफ्नो भागमा परेका चार सभापतिमा महिला, दलित, मधेशी र पिछडीएको क्षेत्र कसैलाई पनि समेटेको छैन । चालिस वर्ष भन्दा कम उमेर समुहबाट समितिको नेतृत्व पाउनेमा कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा मात्र छन् । कांग्रेस र एमाले दुबैले दुई/दुई समानुपातिक सांसदलाई सभापतिको जिम्मेवारी दिएका छन् । एमाओवादीका दुबै सभापति प्रत्यक्ष निर्वाचित हुन् भने राप्रपा नेपाल र थारुहट तराई सहितका पाटीहरु समानुपातिक कोटाबाट मात्रै संविधानसभा प्रवेश पाएका हुन् ।

संसदको नियमावली अनुसार विधायन समेत १२ विषयगत समिति र दुई विशेष समिति छन् । सुरक्षा विशेष समितिमा सभामुख नै पदेन सभापति हुन्छन् भने सार्वजनिक लेखा समिति सभापतिको चयन यसअघिनै भइसकेको छ । सरकारलाई संसद मार्फत जनताप्रति उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका रहने संसदीय समितिहरुको नेतृत्व चयनका लागि दलिय भागवण्डा र अन्तरदलिय गृहकार्यको अभावमा ढिलाई भएको थियो । संसदीय समितिका सभापतिहरुले गाडी, चालक, इन्धन र स्वकिय सचिवालय सहित राज्यमन्त्री सरहको सेवा-सुविधा पाउने भएकाले पनि यो पद आकर्षक मानिन्छ ।

को-को भए सभापति ?

कृषि तथा जलस्रोत समिति- गगन थापा  (कांग्रेस)

राज्यब्यवस्था- दिलबहादुर घर्ती  (कांग्रेस)

उद्योग, बाणिज्य तथा उपभोक्ता हित- भिष्मराज आङदम्बे  (कांग्रेस)

सुनुवाई विशेष- कुलबहादुर गुरुङ  (कांग्रेस)

विकास समिति- रविन्द्र अधिकारी (एमाले)

अर्थ समिति- प्रकाश ज्वाला (एमाले)

सुशासन तथा अनुगमन- शेरधन राई  (एमाले)

महिला, बालकालिका, जेष्ठ नागरिक तथा समाजकल्याण- रञ्जु झा (एमाले)

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम- प्रभू साह (एमाओवादी)

सामाजिक न्याय तथा मानवअधिकार समिति- सुशील कुमार श्रेष्ठ (राप्रपा नेपाल)

वातावरण संरक्षण समिति- जनकराज चौधरी (फोरम लोकतान्त्रिक)

विधायन समिति- गंगा चौधरी सत्गौवा (थरुहट तराई पार्टी)

इकान्तिपुर साभार

Leave a Reply

Your email address will not be published.