बाढी प्रभावित क्षेत्रमा राहत त पुग्न सकेको छैन नै, बिरामीका लागि औषधि र अस्थायी बासको व्यवस्थासमेत स्थानीय प्रशासनले गर्न सकेको छैन। जनजीवन अस्तव्यस्त र जोखिमपूर्ण बन्दै गएको छ।
पीडितहरू खुला सडक, सामुदायिक वन, विद्यालयलगायत ठाउँमा आश्रय लिएर बसेका छन्। उनीहरूको जीउमा लगाउने केही छैन। बाँके होलियाका वृद्ध छोटेलाल बर्माले लाज छोप्न कट्टुसम्म पाएका छन्। अन्य तीन जना पनि उनकै अवस्थामा देखिन्थे। डुबानमा परेको एक सातापछि भत्केको घर अगाडि पुग्दा उनी परैबाट दुई हात जोड्दै आए। ‘मुस्किलले ज्यानसम्म जोगियो, बस्ने बास र खाने गाँस भए पुग्छ,’ ठूलो विपत्तिबाट बचेका बर्माले अनुनय गरे। लगाउने कपडा केही बगे त केही घर भत्किएर पुरिए। अरू धेरै जनाजस्तै उनी पनि निर्वस्त्र भए।
उनीजस्ता धेरै गरिबका घरहरू भत्किएका छन्। बचेका केही घरभित्र पनि हिलो जमेको छ। कतै कसैको चुल्हो बल्न सक्ने अवस्था छैन। बग्नबाट बचेखुचेका अन्नपात कुहिएका छन्, पुरिएका छन्। पुरिएको धान, गहुँ र चामल हिलोबाट झिकेर बाढीपीडितहरू पखाल्दै सुकाउँदै छन्।
तर माटोबाट अन्न छुट्याउन सक्ने अवस्था नरहेको त्यहाँ पुगेका संवाददाता जे पाण्डेले उल्लेख गरेका छन्।
डुबानले औषधि गले राप्तीको डुबानले बाँके सर्रास्थित इलाका स्वास्थ्यचौकी र होलियाको सवहेल्थ पोस्टमा रहेको सबैजसो औषधि गलेका र सडेका छन्। विभिन्न रोगको प्रकोप फैलिन थालेका बेला औषधि गल्दा सर्वसाधारणको उपचारमा समस्या भएको संवाददाता ठाकुरसिंह थारूले जनाएका छन्। सर्रास्थित इलाका स्वास्थ्यचौकीको आधाभन्दा बढी औषधि गलेको छ। कम्दीस्थित सवहेल्थ पोस्टको एउटै औषधि प्रयोग गर्न सकिने अवस्थामा छैन। यी दुई गाविस राप्तीको बाढीले सबैभन्दा बढी प्रभावित हुन्। फत्तेपुर, होलिया र वनकट्टीलगायत बाढीपीडितमा रूघाखोकी, ज्वरो, टाउको दुख्ने, पखाला, आँखा पाक्ने र छालासम्बन्धी रोगको संक्रमण देखिएको छ।
जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जीवनकुमार मल्लले फत्तेपुर इलाका र होलिया उपस्वास्थ्य चौकीको सबै औषधि गलेकै कारण उपचारमा समस्या भएको बताए। उनले विभिन्न रोगको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली परिचालन गरिएको दाबी गरे।
कान्तिपुर दैनिकबाट साभार