दाङ- १७ दिनकी सुत्केरी बुहारी नमा चौधरीको स्याहार गर्ने कोही छैनन्। स्थानीय एक विद्यालयको कोठामा लम्पसार छिन् उनी। ससुरा जागुराम बाढीले निमत्याएको विपत्तिको पीडामा भौंतारिँदै बगरमा हिँड्छन्। उनकी श्रीमती जानुकलालाई बाढीबाट बचेखुचेका सामान खोज्नमै ठीक छ। सुत्केरीलाई खुवाउने पोसिलो खानेकुरा केही छैन। सुत्केरी बुहारीको खानपिनको लागि जोहो गरेको सबै पोसिलो खानेकुरा बबईमा मिसियो। पोसिलो खानेकुरा त परैजाओस पेट भर्ने अन्नसमेत बचेन।
केही संस्थाले दिएको चिउरा बुकाउने सुत्केरी बुहारी र १६ दिनका नातिको अवस्थादेखि जागुराम बिरक्त छन्। बाढीबाट परिवार सबैको ज्यान त जोगाए उनले। तर अब कसरी बचाउने भन्ने पिरलो थपिएको छ। ‘बुहारीलाई खुवाउने केही बचेन,च्यूरा खाएर बसेकी छे,’ उरहरी ६ मोतिपुरका बाढी पीडित जागुरामले भने, ‘चिउरा खाने आमाको दुध आउनै छोडे, बच्चाको बेहाल छ।’ जागुराम सुत्केरी बुहारी र नातिलाई कसरी बचाउने भन्ने चिन्ताले ग्रसित छन्। बुहारीको स्वास्थ्य दिनदिनै बिग्रँदो छ। पोसिलो खानेकुरा किन्नसक्ने क्षमता छेन जागुरामसँग। गोजी रित्तो छ। घरमा राखेको सौपचास पनि बाढीले लैदियो। ‘केले किनेर ल्याउँ? गोजीमा एक रुप्पे छैन,’ उनले भने।
शुक्रबार बबई नदीमा आएको बाढीले घरसँगै घरमा भएको सबै लगेपछि उनको परिवारको पेटमा अन्न परेको छैन। ‘कसैकसैले चिउरा ल्याइदिन्छन् त्यही खाइराछौं,’ उनले भने। शनिबार दिनभरि बाढीले भग्नावशेष घर खोतलेर अन्न बटुल्न थाले। ‘अलिअलि बचेको धान पूरै उम्रेर जमरा भइसकेको छ,’ बबई बगरमा भक्कानिँदै भने, ‘अरु त केही बचेको छैन हजुर।’
बाढीले बिस्थापित भएदेखि जागुराम परिवारका ९ जनाको पेट भरिएको छैन। बिस्थापित भएको तीन दिन भइसक्दासम्म पनि उनीहरुलाई अन्नपात, नुन, तेल सहयोग गर्न जाने एकजना पनि छैन। जति जान्छन् चिउरा, दालमोठ बोकेर।
बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म पुगेका सरकारी अधिकारीदेखि सभासदहरु सम्मले राहतका नाममा चाउचाउ,चिउरा र दालमोठबाहेकका अन्य सामान बाँडेका छैनन्। बाढीले घरबारविहीन भएकालाई अहिलेसम्म ओत लाग्ने सामान्य व्यवस्थासमेत हुन सकेको छैन। न त भोक मेट्नेलाई चामल, दाल, नुन तेलको नै व्यवस्था भएको छ।
‘तीन दिनदेखि चाउचाउ र दालमोठ खाएर बसेका छौं,’ फूलबारी ६ बखरियाका देवीराम कुसारीले भने, ‘चाउचाउर चिउराबाहेक अन्य राहत सामाग्री अहिलेसम्म केही पाएका छैनौं।’
कुसारीको घर पनि शुक्रबार आएको बाढीले भग्नावशेष बनेको छ। उनको सँगै बखरिया गाउँका ५८ घर बाढीले पूरै भत्किएका छन्। बखरीया गाउँका बाढी पीडितहरु स्थानीय प्राथमिक विद्यालयमा आश्रय लिएर बसेका छन्। उनीहरुले अहिलेसम्म न एकजोर कपडा पाएका छन्, न ओत लाग्ने सामान्य त्रिपाल नै। ‘बाढी पसेपछि भाग्ने बेला हामीले जुन कपडा लगाएका थियौं, तिनै कपडामात्रै बचेका सम्पत्ति हुन्, अरु केही छैन, ‘कुसारीले भने, ‘अहिलेसम्म कसैले एकजोर लुगा पनि दिएको छैन, न ओत लाग्ने त्रिपाल नै दिइएको छ।’
मोतिपुरका ७० वर्षीय रामशरण चौधरी भोकले थला परिसकेका छन्। खाने अन्न केही छैन। सहयोग गर्नेले चिउराबाहेक केही दिन्नन्। शनिबार बुहारी खिडियाले थोरै बचेखुचेको चामल पकाएर पेट भराई दिइन्।‘भात खानै पाछैन, च्यूरा, चाउचाउ खाने दाँत छैनन्,’ रामशरणले भने, ‘भोकै मर्ने त होला अब।’ चामल भइदिएको भए टन्न पेट भरिने सपना देख्छन् उनी। घरमा भएको अन्नजति बाढीमै गयो। झण्डै एकपाथी जति चामल जोगाएकी थिइन् बुहारी खिडियाले। त्यही पनि सकिइसकेको छ। ‘अब के ख्वाएर बचाउने होला?,’ खिडियाले भनिन्, ‘बचेको जतl अन्न सकिइसक्यो।’
बाढीले बिपत्ति निम्त्याएको तीन दिन भइसक्दासमेत आफूहरुको उचित व्यवस्थापनमा चासो नदेखाइएको भन्दै बाढी पीडितहरु रुष्ट बन्दै गएका छन्। यहाँसम्मकी राज्यका निकायको उपस्थिति नै नरहनु बाढी पीडितका लागि आक्रोसको विषय बन्दै गएको छ। बाढीले बिपत्ति निम्त्याएको झण्डै २४ घण्टापछि बाढी प्रभावित क्षेत्र पुगेको दैवीप्रकोप उद्धार समितिले समेत चिउरा, दालमोठ मात्रै बाँडेर फर्कियो। ‘हामीहरुले उचित व्यवस्थापनको आश गरेका थियौं,’ बखरीयाका देवीराम कुसारीले भने, ‘तर २४ घण्टापछि यहाँ आएको समितिले चाउचाउ र चिउराबाहेक केही दिएन।’
बाढी पीडितले राज्यले आफूहरुलाई हेला गरेको गुनासो गर्न थालेका छन्। ‘हामीहरु पनि बाच्न चाहन्छौं,’ कुसारीले भने, ‘राज्यले हामीलाई बाचाइदेओस्, मार्न नखोजोस्।’ शनिबार बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केको दैवीप्रकोप उद्धार समितिले चाउचाउ, विस्कुट,चिउरा वितरण गरेको छ। ‘अहिले चाउचाउ, च्यूरा बाँडेका छौं,’ दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेश भट्टईले नागरिकन्युजसँग भने, ‘दीर्घकालीन राहतबारे हामीहरुले छलफल गर्नेछौं।’
यो पनि पढ्नुस्: जागुराम चौधरी भन्छन्, ‘ह्वात्तै आयो, सबै स्वात्तै लग्यो’
देवेन्द्र सुवेदी/नागरिकन्युज साभार