बाढीग्रस्त क्षेत्रमा महामारीको जोखिम, पीडितलाई चाउचाउ र विष्कुटको भर

BArdiya-1

बबई र कर्णाली नदीमा जलस्तर घट्दै जाँदा झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन्। पदनाहा, बनियाभार, नेउलापुर, बगनाहा, मोहम्मदपुरलगायत गाविस र गुलरिया नगरपालिका महामारीको उच्च जोखिममा छन्। सफा पिउने पानी अभाव कायम रहे महामारी फैलिने जोखिम रहेको जिल्ला स्वास्थ्य प्रमुख अच्युत लामिछानेले बताए। बाढीले दौलतपुर, बगनाहा र पदनाहा गाविसमा रहेका स्वास्थ्य केन्द्रमा बाढीले क्षति पुर्यााएपछि औषधि अभाव छ। विरामी बढेपछि औषधिसहित स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। बाढीग्रस्त क्षेत्र निरीक्षणमा आएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ३८ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताए। महामारी फैलिन नदिन प्रहरी र प्रशासनलाई निर्देशन पनि दिए।

चाउचाउ र बिस्कुटको भर
बर्दियाका हजारौ विस्थापितलाई राहतस्वरूप चाउचाउ र बिस्कुट वितरण गरिएको छ। चाउचाउ समेत अभाव भएपछि नेपालगन्जलगायत ठाउँबाट ल्याएर हेलिकप्टरबाट पुर्यारइएको छ। धेरै ठाउँमा सडक बगेका आउजाउमा कठिनाइ छ। यातायात सम्पर्क नभएका ठाउँमा तीन हेलिकप्टरले राहत सामग्री वितरण गर्न लागेको प्रजिअ तेजप्रसाद पौडेलले बताए। पोषणयुक्त खाना अभावमा प्रभावित क्षेत्रमा सुत्केरी र गर्भवतीको अवस्था नाजुक बन्दै गएको छ।

ज्यान जोगाउन कुहिएका अन्न
बाँकेको राप्ती नदी डुबानमा परेका बासिन्दाले ज्यान जोगाउन कुहिएका चामल, गहुँ, धान, दाललगायत खान थालेपछि महामारीको जोखिम बढेको छ। बाढीग्रस्त क्षेत्र पुगेर फर्केका संवाददाता ठाकुरसिंह थारुका अनुसार सडेका र कुहिएका खाद्यान्न सडकभरि सुकाउन राखिएकाले दुर्गन्ध फैलिएको छ। त्यस क्षेत्रमा सरकारी उपस्थित नभएपछि पीडित ४ दिनदेखि अलपत्र छन्। ‘एकाएक राप्तीको बाढी गाउँ पस्यो, केही झिक्न पाइएन। खाद्यान्न राखिएका डेहरी गलेर ढले,’ कुहिन थालेको चामल सुकाउँदै गरेकी फत्तेपुर ८ महिमानपुरकी रामप्यारीले भनिन्, ‘३/४ दिन भोकै कसरी बस्नु। भोकले रोग मान्दैन। घाम लागेको बेला सुकाएर यही खाने गरेका छौं।’

तीन दिनसम्म बाढी नघटेपछि खाद्यान्न कुहिएको हो। कतिपयको खाद्यान्न माटोमा मिसिएको छ। धेरैको खाद्यान्न बगेको छ। जोगाइएका धान, गहुँ, मसुरोमा ढुसी परेको छ। कतिपयको खाद्यान्न घरसँगै पुरिएको छ। ‘यतिका दिन भइसक्यो हाम्रो अवस्थाबारे जानकारी लिन कोही आएन। हामी सडेका खाद्यान्न खाना थालेका छौं,’ फत्तेपुर ९ ढलैयाका पल्टु चौधरीले भने। बाढीमा परी मरेका चौपायाको दुर्गन्धले पनि संक्रमणको जोखिम बढाएको छ। घर भत्किँदा च्यापिएर मरेका दुई गोरुको दुर्गन्ध राप्ती बगरमा फैलिएको छ। ढलैयामा सुँगुर/बंगुर मरेर दुर्गन्ध फैलेको छ।

जिल्ला जनस्वास्थ्य बाँकेका महामारी रोग नियन्त्रणका फोकल पर्सन रामबहादुर चन्दले कुहिएको खाद्यान्न खाँदा झाडापखाला, आउँ र रगतमासी संक्रमणको जोखिम हुने बताए। दुर्गन्धले भाइरल ज्वरो र श्वासप्रश्वासको समस्या हुने उनले बताए। बाढीले हुलाकी राजमार्ग भत्काएपछि यातायात ठप्प भएको छ। फत्तेपुरका एक सय घर भत्काएको छ। फत्तेपुर, ढलैया, गुलरी, डाँडाटेपरी, खलाटपरी, कमैयाडाँडा, लक्षिरामपुर, पदनाहा, जरैया, महिमानपुरका बासिन्दाको घरभित्रको अन्नपात कुहिएको छ।

कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.