वन जोगाउँदै झापाका महिला समूह

झापा- यहाँस्थित नमूना सामुदायिक वन जोगाउन गठन गरिएको महिला समूह प्रभावकारी बनेको छ। शनि–अर्जुन नपा ९ र ७ मा रहेको वनमा महिला समूह गठन गरिएपछि वन संरक्षणमा सुधार आएको हो।
वनमा यसअघि गोलिया काठको चोरी निकासी, वन पैदावर कटान, आगलागीजस्ता कार्यहरु नियन्त्रणमा आउन सकेको थिएन। तर, नमूना सामुदायिक वन उपभोक्ता समितिले ‘आफ्नो वन आफैं जोगाऔं’ भन्ने नाराका साथ स्थानीयस्तरमै महिला समूह गठन गरेपछि वन संरक्षणमा सुधार आएको हो।
वनको क्षेत्र छुट्याएर ८ वटा महिला टोल उपभोक्ता समिति गठन गरिएको छ। वनमा भद्रकाली महिला टोल विकास समिति सालबारी, नमूना समिति खरबन्दी, वन जोगाउ समिति खरबन्दी, जागृति समिति गोलधाप, प्रगति समिति लक्ष्मीधाप, देवीथान समिति लक्ष्मीधाप, वन कल्याण समिति लक्ष्मीधाप र हरियाली समिति चाम्लिङटोल गठन गरिएको छ।
समितिका अध्यक्ष प्रकाश नेपालका अनुसार समूह गठन गरिएपछि महिलाहरुका माध्यमबाट उपभोक्ताहरुलाई जनचेतना फैलाउन सजिलो भएको छ। ‘वन उपभोग गर्ने सबै घरका महिलाहरुलाई यो अभियानमा सामेल गरिएको छ’, उनले भने– ‘डेढ–दुई वर्षको अन्तरालमा वन संरक्षणमा निकै सुधार आएको छ।’ हरेक वर्ष वनमा आगलागी हुने गरे पनि अहिले यो नियन्त्रणमा आएको उनले बताए।
वनमा आश्रित रहेका परिवारको पहिचान गरी नियमानुसार उनीहरुलाई वन पैदावर वितरण गर्ने नमूना सामुदायिक वन समितिका सचिव जागिरमान राईको कथन छ। वन संरक्षणमा उत्प्रेरित गर्नका लागि महिला समूहलाई छुट्याइएको क्षेत्रमा आय–आर्जन हुने खालको कार्यक्रम ल्याइने उनले बताए।
भद्रकाली महिला समितिका अध्यक्ष तारा श्रेष्ठले महिलाहरु पनि स्वस्फूर्त रुपमा वन संरक्षणमा जुटेको बताइन्। ‘घरको सबै काम सिद्ध्याएर पनि वन संरक्षणमा समय दिन पाउँदा खुशी लागेको छ’, उनले भनिन – ‘परिवारले पनि यस अभियानमा साथ दिएका छन्।’ वन परिसर नजिकै आफूहरुको घर भएकोले वनको संरक्षणमा सजग रहेको भद्रकाली समितिका उपाध्यक्ष लक्ष्मी चौधरीले बताइन्।
महिलाहरुले खाली रहेको वन क्षेत्रमा बोट विरुवा रोपण गरेका छन्। महिलाहरुले बुधबारे वन इलाका कार्यालयले उपलब्ध गराएको ५ हजार टिक, सिरिश, मलेशिया सखुवालगायत जातका विरुवा रोपण गरेका छन्। अभियान नेपाल खुदुनाबारी र हेविटेट फर ह्युमानिटी नेपाल इटहरीले उपलब्ध गराएको १ हजार बाँस पनि रोपण गरेका छन्। साथै डाले घाँस पनि रोपण गरिएको सचिव राईले बताए। उनले डाले घाँस र बाँसको बिक्रीबाट हुने आम्दानी महिला समूहलाई उत्प्रेरित गर्नका लागि प्रदान गरिने बताए। आम्दानीको २५ प्रतिशत महिला समूहलाई र बाँकी रहेको वन उपभोक्ता समितिको कार्यालय सञ्चालनका लागि प्रयोग गरिने उनले जनाए।
९६ दशमलव २२ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनलाई जिल्ला वन कार्यालयले संरक्षणको आधारमा जिल्लाकै उत्कृष्ट वनको रुपमा राखेको सचिव राईले बताए। पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै आएको सुखानी सहिद स्मृति पार्क र भीमसेन घाट पनि यसै वनको परिसरभित्र अवस्थित छ।

Leave a Reply

Your email address will not be published.