एमाले महाधिवेशनमा यसकारण हारे मधेसी नेता!

Cpn-Uml office

काठमाडौं- ‘एक मधेस प्रदेश’ मुद्दा उठिरहेका बेला नेकपा एमालेको नवौं महाधिवेशनमा भने मधेसी नेताहरू कार्यकर्ताको रोजाइमा पर्न सकेनन्। पार्टी पदाधिकारीका लागि तीन मधेसी नेता चुनावी प्रतिस्पर्धामा उत्रिए पनि कोहीले पनि ठाउँ सुरक्षित गर्न सकेनन्। केन्द्रीय सदस्यमा निर्वाचित हुनेको संख्या पनि सन्तोषजनक छैन। महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट उपाध्यक्षमा धर्मनाथप्रसाद साह र सचिवमा रघुवीर महासेठ तथा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षमा लालबाबु पण्डित उठेका थिए। उपाध्यक्षका १० उम्मेदवारमध्ये पण्डितले नवौं र साहले दसौं मत ल्याए। सचिवका १० उम्मेदवारमध्ये महासेठको मत पनि नवौं थियो।
आठौं महाधिवेशनमा १ सय १५ सदस्यीय केन्द्रीय कमिटी हुँदा मधेसी समुदायका १९ नेता चुनिाएका थिए। अहिले कमिटीको आकार बढेर १ सय ५९ सदस्यीय बनेको छ, तर मधेसी नेताको संख्या १८ मात्रै छ।
‘पदाधिकारी समावेशी बनाउन मधेसी समुदायका नेतालाई पदाधिकारीमा प्रतिस्पर्धा गरायौं,’ एमाले केन्द्रीय सदस्य श्रीप्रसाद साहले नागरिकसँग भने, ‘पदाधिकारीमा भोट क्रस गर्दा मारमा मधेसी नेता परे।’
साहकाअनुसार ओली प्यानलका अधिकांश नेतालाई परेको मतमध्ये महासेठलाई १ सय ५० भोट र धर्मनाथप्रसाद साहलाई १ सय ३० मत परेन। यसैगरी, नेपाल प्यानललाई झरेको करिब सय मत उपाध्यक्षका उम्मेदवार पण्डितलाई परेन।
मधेसी कोटाबाट पूर्ण केन्द्रीय सदस्य जितेका शत्रुघ्न महतोले उम्मेदवार बनाउने मात्रै परिपाटीका कारण मधेसी नेताले जित्न नसकेको बताए। ‘विचार समूहका नाममा मधेसी नेतालाई पदाधिकारीमा उठाइयो, तर कुनै पनि समूहले उनीहरूलाई कसरी जिताउने भन्ने विषयमा सोचेनन्,’ महतोले नागरिकसँग भने, ‘आफूले उठाएका नेतालाई जानुपर्ने मत क्रस भइरहेको छ भन्ने थाहा पाएर पनि त्यसलाई रोक्ने पहल भएन। त्यसले राम्रो सन्देश पनि गएन।’
तराई–मधेसमा विरोधी पार्टी भएको आरोप लगाउनेहरूलाई नवौं महाधिवेशनले झनै बल दिएको बुझाइ मधेसी नेताको छ। ‘उपाध्यक्ष र सचिवमा तीनजनाले उम्मेदवारी दिँदा एकजनाले जित्न नसक्नु दुर्भाग्यपूर्ण हो,’ केन्द्रीय सदस्य रामप्रित पासवानले नागरिकसँग भने, ‘जतिसुकै प्रशिक्षित भए पनि जातीय प्रभाव पर्दो रहेछ। महाधिवेशनमा देखियो। मधेसमा जे आरोप लागेर एमालेलाई लखट्ने काम भएको छ, त्यसलाई सपोर्ट हुने गरी परिणाम आयो।’
परिणामलाई लिएर मधेसी नेताले समीक्षा गर्नुपर्ने र सच्चिनुपर्ने धारणा मधेसी नेताको छ। महतोले मधेसी नेताहरूले आफूलाई राष्ट्रिय नेताका रूपमा कसरी स्थापित हुने भन्ने विषयमा सोच्नुपर्ने बेला आएको बताए।
‘अवसर प्राप्त गर्नेले मधेसको मात्रै नभएर राष्ट्रको नेता बन्ने गरी लाग्नुपर्यो्,’ महतोले भने, ‘महासेठले लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष भएर राम्रो अवसर प्राप्त गर्नुभएको थियो। तर, उहाँले त्यसलाई उपयोग गर्न सक्नुभएन।’ मधेशी समुदायका पार्टी काम गर्ने एमालेको भातृ संगठन हो।
साढे २१ सय प्रतिनिधि सहभागी एमाले महाधिवेशनमा २ सयभन्दा केही बढी मात्रै मधेसी प्रतिनिधि थिए।
‘नवौं महाधिवेशनमा उम्मेदवार पनि कम भयो। २२ जना महिलामा मधेसका एकजना पनि परेनन्,’ साहले भने, ‘राष्ट्रियसभाका पूर्वउपाध्यक्ष पासवानलाई खुलाबाट प्रतिस्पर्धा गराउनुपर्नेमा मधेसी कोटामा सीमित गरियो।’
महाधिवेशन हलमा पदाधिकारी समावेशी गराउनुपर्ने माग उठेको थियो। तर, पछि पदाधिकारीमा उम्मेदवारी समावेशी बनाउने र बढी मत ल्याउने विजयी हुने व्यवस्था गरियो।
एमाले सचिव योगेश भट्टराईले महाधिवेशन परिणामलाई पार्टी नेतृत्वले शिक्षाका रूपमा लिनुपर्ने बताएका छन्। ‘मधेसी नेताले पनि आफ्नो सम्बन्धलाई देशव्यापी रूपमा कसरी विकास गर्ने र राष्ट्रिय नेता बन्ने विषयमा ध्यान दिनुपर्ने देखिएको छ,’ भट्टराईले नागरिकसँग भने, ‘ठूलो समुदायलाई नेतृत्वमा कसरी पुर्यााउने भनेर पार्टी नेतृत्वले पनि ध्यान दिनुपर्छ।’

साभार : नागरिक दैनिक/मणि दाहाल

Leave a Reply

Your email address will not be published.