तराई र मधेशको भिन्नता

dil bdr chaudharyदिल बहादुर चौधरी‍- तराई र मधेशको बारेमा धेरैले धेरै शव्द खर्चिसकेका छन् र खर्चिरहेका छन्। यो लेख पनि यही दुई शव्दसँग सम्बन्धित छ। कहिलेकाहीं लाग्छ, सबलले दुर्बलमाथि, धुर्तले सोझामाथि जहिले नि अन्याय र अत्याचारको उपहार टक्रयाइराख्ने प्रकृति प्रदत्त स्वाभाविक नियम र सामाजिक परम्परा हो कि! इतिहास भनेको जितुवाको दास र हरुवाको सर्बनाश हो, त्यसैले नै होला कोत पर्व र भण्डारखाल पर्व घटाउने जंगबहादुर देशको इतिहासमा अमर भएर रहे। त्यतिबेला हारेको भए उनको पनि इतिहासमा कालो नाम रहने थियो।

जनयुद्धको नाममा १४ हजार मानिस मरे, सातदलबिच सम्झौता भयो, राजातन्त्रसँग लडाई भयो, राजतन्त्र समाप्त भयो। यदि राजतन्त्र समाप्त नभएको भए दरबार हत्याकाण्डबारे बोल्ने कसैको हिम्मत हुनेथिएन। हामीले देखेकै कुरा हो पूर्वराजा ज्ञानेन्द्रको टाउकोमा श्रीपेच लगाइदिने, दाम चढाएर खुट्टा ढोग्ने, राजतन्त्रसँग साँठगाँठ गर्ने ब्यक्तिहरु नै सत्ता सञ्चालन गर्ने दलका प्रमुख छन् र सब भन्दा इमान्दार, क्रान्तिकारी तिनै छन्। अन्य सबै प्रतिगामी, प्रतिक्रियाबादी छन्। अबको इतिहास पनि उनकै पक्षमा बोल्नेछ।

नेपालको इतिहासलाई हेर्ने हो भने आदिबासीहरुको हालत दलित भन्दा खासै राम्रो छैन। दलितहरु छुवाछुतको यातना भोगिरहेका छन् भने आदिबासीहरु आफ्नो जल, जमिन, जंगल गुमाइरहेका छन्। आज ‘तराई’ लाई ‘मधेश’ बनाउने र भनाउने जुन कार्य भैरहेको छ, त्यो पनि जल, जमिन र जंगललाई हडप्ने, आदिबासीहरुलाई दास बनाउने कुटिल षड्यन्त्र हो भन्दा फरक नपर्ला। धेरैले तराई र मधेश एउटै हो, तराईको पर्यायबाची शव्द मधेश हो भनिरहेका छन्, जुन सर्बथा गलत छ। मधेश शव्द संस्कृत भाषाको ‘मध्यदेश‘ शव्दको अपभ्रंश हो, जसको अर्थ हो बीचको भाग।

नेपालको तराई बीचको भाग होइन, जसलाई मधेश भन्न सकियोस्। फेरि धेरैले यसबारे धेरै परिभाषा गरेका छन्, जसको आधारमा नेपालको तराई नै मध्यदेश थियो र हो भन्न सकिँदैन। सत्तामा बसेकाहरुले इतिहासलाई आफ्नो पक्षमा पार्नलाई जे लेखे पनि हुन्छ, तर नेपालको ‘तराई’ ‘मधेश’ हुन सक्तैन। यस सम्बन्धमा केही परिभाषा हेर्न सकिन्छ– “मधेश– हिमालदेखि दक्षिण, बिन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व, प्रयागदेखि पश्चिमपट्टी पर्ने समथर भूभागको परानो नाउँ” भनी लेखेको छ (बृहत नेपाली शव्दकोष)। चिनिया यात्री फाहियानले ‘प्राचीन भारतको सभ्यताको इतिहास’ मा “मथुराको दक्षिणको बिचको देशलाई मध्यदेश (मधेश), राजपुतानाहरुको देश” भनेका छन् । यी दुई परिभाषाले पनि नेपालको तराईलाई नै मधेश भनेका छैनन्।

कौलेश्वर रायले ‘प्राचीन भारत’ नामक पुस्तकमा– “मध्यदेश– इसमे बिहार, उत्तर प्रदेश और बंगाल सम्मिलित थे। इसकी राजधानी पातली पुत्र थी” भनेर लेखेका छन्। यसले पनि नेपालको तराईलाई ‘मधेश’ भनेको छैन। बल्कि मधेश भनेको भारतमा थियो भनेको छ। भारतमा रहेको त्यही मधेशमा बस्ने मधेशियाहरु व्यापार गर्न सिपालु रहेकाले थारु भन्दा पहिले नै पहाड उक्ले र पहाडियाहरुको संसर्गमा आए। पहाडियाहरुले तिनीहरुको नाम मधेशिया या मधेशी जुराइदिए। जुन पछि गएर एउटा परिचयको रुपमा स्थापित भयो। तर तराईका आदिबासीहरु आफूलाई न कहिल्यै मधेशी भने र भन्नेवाला छन्। हो मधेशको स्पष्ट परिभाषा यदि कसैले दिन्छ र तराईलाई मधेश भनी सत्यसाबित गर्छ भने थारु लगायत तराईका आदिबासीहरु कसैले भनेर हैन, स्वतः मधेशी हुन पुग्छन्।

नेपालको दक्षिणी भूभाग प्राचीनकालमा जंगलैजंंगल थियो, जहाँ आदिबासीहरुका सिवाय अरु कोहि बस्तैन थे। केहि झा, मिश्र सेन राजाहरुको शासनकालमा र बिशेषतः नेपाल एकीकरण पश्चात मात्र मधेशीहरुको आगमन तराईमा भएको हो। फेरि जहाँसम्म ऋग्बेद, मनुस्मृतिको कुरा छ, त्यहाँ कहीं पनि नेपालको दक्षिणी भूभाग, तराईलाई नै मधेश वा मध्यदेश भनिन्थ्यो भनिएको छैन। त्यसैगरी कपिलबस्तु, जनकपुरलाई मधेश भनिन्थ्यो भनी कुनै पनि प्राचीन ग्रन्थमा भनेको छैन। जबकि मधेश संस्कृत भाषाको मध्यदेश शव्दको अपभ्रंश हो भनेर उपेन्द्र यादबले पनि स्वीकार गरेका छन्।

उनले हिन्दी भाषाको ‘नेपाली जन आन्दोलन और मेधशी मुक्तिका सवाल’ नामक पुस्तकमा लेखेका छन् “जिसप्रकार यवनानी–अंग्रेज ने ‘सिन्धु’ शब्दको इण्डस शब्दसे ‘इण्डिया’ शव्दमे परिणत किया जिस से ‘हिन्दुस्तान’ शब्दका निर्माण हुवा, ठिक उसीप्रकार नेपालवालो ने मध्यदेशीय शब्दको ‘मधेशिया’ वा ‘मधेसिया’ शब्दो मे तथा ‘मध्यदेश’ शब्दको ‘मधेस’ वा ‘मधेश’ शब्दो में परिणत किया।” २०६५ फागुनतिर कान्तिपुर दैनिकमा सीताराम अग्रहरीले ‘बिष रोपेर अमृत फल्दैन’ शीर्षक दिई कुनै कबिको कबिताको श्लोक दिई बडो मार्मिक ढंगले लेख्नु भएको थियो– “जिन्होने लुटा है सरेआम मुल्कको अपने, उन लफन्दरों की तलासी कोई नहीं लेता, गरिब लहरों पे पहरे बिठाए जाते हैं, समन्दरों की तलासी कोई नहीं लेता।” वहाँले थारुहरुलाई खाने, दुःख दिने पहाडिया हुन्, उनको बिरुद्धमा लड्न छाडेर थारुहरु सँधै मिल्ने मधेशीसँग किन लड्नु प¥यो भन्नु भएको छ। साथै हामीलाई मधेशीको पगरी भिराइदिने पहाडी नै हुन् पनि भन्नु भएको छ।

त्यसैगरी ऐश्वर्या उ.मा.वि.का प्राधयापक सी.एन.ठाकुर बडो मार्मिक ढंगले लेख्नुहुन्छ– “अहिलेको नयाँ नेपालमा एक थरीका तराईबासी जसलाई मधेशी भन्ने गरिन्छ, जो नाम उसले पहाडबासीबाट उपहार स्वरुप पाएका हुन्, जसलाई केहिदिन पहिलेसम्म काठमाण्डौमा मर्सिया भन्ने गरिन्थ्यो, यो शब्द उसले आफैले वा कहींबाट आयातित शब्द होइन, यो शब्द पहाडबासीले ‘मधेसतिर’ भन्दै तराईलाई मधेश भन्न थालेका हुन् (२०६५ चैत ३ अनुमोदन दैनिक कैलाली)।” यी भनाई, लेखाईले के भन्छ भने तराई ‘मधेश’ थियो वा थिएन, हामी मधेशी थियौं वा थिएनौं। हामीलाई पहाडीयाहरुले मधेशी र हामी बस्ने ठाउँलाई मधेश बनाइदिएका हुन्।

कतिपय लेखकले मिथिलालाई ‘मधेश’ को संज्ञा दिएका छन्। तर जनकपुरको प्राचीन सीमा कोशी र गण्डकीको बिचमा रहेको थियो भन्नेछ। सन् २००३ मा लिखित हिन्दी भाषाको माथि उल्लेखित पुस्तकमा धेरै ठाउँमा उपेन्द्र यादवले तराई र मधेश एउटै हो भन्नेमा जोड दिएका छन् भने कतिपय ठाउँमा उनले लेखेका छन् कि–“थारु जातिको आवादी वाले क्षेत्रको ‘थरुवान’ वा ‘थरुहट’ कहाजाता है। कहीं कहीं तो पुराने थारु राजाओं का गढका भग्नावशेष अभी तक कायम है।” यदि यो मधेश हो भने थरुहट किन भनिन्छ। नेपालका भूगोलबिद बुद्धि नारायण श्रेष्ठ एकचोटी कान्तिपुरमा ‘मधेशको जन्म’ शीर्षक दिई लेखेका थिए– “नेपालमा मधेश थिएन, भौगोलिक हिसाबले र सन्धिमा उल्लिखित शब्दका आधारमा तराईलाई मधेश भन्न मिल्दैन।” नेपालको तराईमा प्रारम्भमा थारुहरु मात्र बस्न सक्थे भन्ने कुराको धेरै प्रमाणहरु छन्। ती प्रमाण र सत्यताको आधारमा पनि थारुहरु बस्ने यो भूभागलाई मधेश हैन, थरुहट भनिन्थ्यो भन्ने कुरा प्रष्ट हुन्छ– “थारुहरु नेपालमा प्राग ऐतिहासिक कालदेखि बस्दै आएका छन्।

मंगोल आकृतिका यी जातिहरुको धेरै लामो समयसम्म दक्षिणका आर्यहरुसँग बसोबास भएकोले आफ्नो पुरानो संस्कृतिलाई परिबर्तन गर्दै आएका छन्। आवश्यक अनुसन्धानबिना उनीहरुको बारेमा किटानीसाथ भन्न गाह्रो छ”– बालचन्द्र शर्मा।” “थारुहरु आफूलाई र अरुले पनि तराईका आदिबासी मान्छन्, २००७ सालअगाडि तराईमा थारुहरुबिना राज्यको कुनै पनि काम चल्दैनथ्यो, तर २००७ सालपछि राज्यलाई थारुको आवश्यकता परेन, औलोग्रस्त तराईमा थारुहरु मात्रै बाँच्न सक्थे (यद्यपि तराई, बिशेषगरी पूर्वी तराईमा ठूलो मात्रामा भारतीयहरु बसाई सरेका थिए), औलो उन्मूलन भएपछि धेरै पहाडेहरु तराईमा सरेकाले पहिलादेखि बसोबास गर्दै आएका थारुहरुलाई बेफाइदा भयो, जमिन गुमेपछि उनीहरु कमैया हुन पुगे”– अर्जुन गुणरत्ने। “तराईको गर्मी र औलोले पहाडका मानिसहरुलाई तराई झर्नबाट रोक्थ्यो, यसले गर्दा राणाहरुले तराईका रैथाने मानिसहरुलाई आफ्नो खेत बिस्तार गर्न र भारतीयहरुलाई तराईमा बसोबास गर्न प्रोत्साहन दिने नीति लिए”–जगन्नाथ अधिकारी, हरि ढुङगाना, ओमप्रकाश देव। “पृथ्वी नारायाण शाहले नेपालको एकीकरण अभियान चलाएका समयमा औलो पचाएका आदिबासी बसोबास गरेका केहि भागबाहेक सम्पूर्ण तराई जंगलामूलक थियो, पश्चिम नेपालमा धेरैपछिसम्म थारुजस्ता आदिबासीहरुको बसोबास थियो, त्यसपछि त्यहाँ पनि पहाडेहरु बसाईं सरे”– के ह्योमे।

त्यसैगरी ‘मधेसी मुक्तिको प्रश्न’ नामक सानो पुस्तकमा डा. बाबुराम भट्टराई अधिकांश ठाउँमा तराई र मधेश शब्दलाई पर्यायबाची शब्दको रुपमा लेखेका छन्। तर एक ठाउँमा सत्य भने ओकलेका छन्। उनले लेखेका छन्– “भौगोलिक हिसाबले तराई क्षेत्र ज्यादै गर्मी हुने र शुरुमा मलेरियाको प्रकोप पनि ज्यादै हुने हुनाले तराईमा गर्मी सहन सक्ने र मलेरियाविरुद्ध प्राकृतिक रुपले प्रतिरोधात्मक शक्ति भएका आदिबासीहरु मात्रै बसोबास गर्दथे, त्यसैले शुरुशुरुमा आष्ट्रिक र द्रबिड मूलका जातिहरु (जस्तै थारु, दनुवार, राजबंशी आदि) मात्रै तराई क्षेत्रमा बस्ने गरेको पाइन्छ, पछि खासगरी अठारौं, उन्नाइशौं शताब्दीमा तराई केन्द्रीय राज्यसत्ताको अधिनमा आएपछि तराईको जंगल फँडानी गरेर ठूलो संख्यामा मानिसको बसोबास गराउने क्रम शुरु भएको पाइन्छ, त्यसै बेलादेखि नेपालको पहाडतिरबाट र भारतको बिहार, उत्तरप्रदेशतिरबाट मानिसहरु मिसिएर बस्न थालेको देखिन्छ, तैपनि हावापानीको हिसाबले पहाडका जातिहरु भन्दा भारतको मैदानमा बसोबास गर्नेहरुलाई तराई बढी उपयुक्त भएको हुँदा शुरुको अवस्थामा भारतको मैदानतिरबाट आउनेहरुको संख्या बढी भएको र पछि मलेरिया उन्मूलन भएदेखि पहाडबाट झर्नेहरुको संख्यामा वृद्धि हुँदै गएको देखिन्छ।”

माथिका भनाईहरुले के पुष्टि गर्दछन् भने नेपालको दक्षिणी भूभागमा प्रारम्भमा आदिबासी थारुहरु, राजबंशी, दनुवार, धिमाल आदि बस्थे। ती बसेकाबाहेकका भूभागहरु जंगलैजंगलले ढाकेका थिए। यिनीहरु बसोबास गरेको भूमिलाई थरुहट भनिन्थ्यो, मधेश भनिदैनथ्यो। नेपाल एकीकरण पश्चात मात्र खेतीपातीमा सघाउन सरकारबाट प्रोत्साहन दिइएपछि मध्यदेशबाट (भारतबाट) मधेशीहरुको आगमन भयो। मधेशीहरुको संसर्गले पहाडीहरुले थरुहटलाई मधेशको पगरी भिराइदिए, जुन अहिले कचिंगलको जड हुन पुगेको छ। त्यसको धेरैदिन पश्चात अर्थात मलेरिया उन्मूलनपश्चात् मात्र पहाडीहरु थरुहटमा झरे।

यो हिसाबले हेर्दा औलो उन्मूलनसँगै थारुहरुको उन्मूलन पनि शुरुवात भयो भन्दा फरक नपर्ला। तसर्थ छोटकरीमा के भन्न सकिन्छ भने तराई र मधेश पर्यायवाची शव्द होइनन्, फरक फरक शब्द हुन्। बिबादास्पद शब्द ‘मधेश’ ले ‘तराई’ को प्रतिनिधित्व गर्न सक्तैन। थरुहट स्वीकार गर्न सक्ने इमान्दारी नभएकाहरुले तराईलाई स्वीकार गर्न सके सबै तराईबासीको मात्र हैन, नेपाल र नेपालीहरुको नै कल्याण हुन्थ्यो। थारु लगायतका आदिबासीहरु, मुश्लिमहरु, दलितहरु र मधेशीहरुबिचको कचिंगलको अन्त्य हुन्थ्यो र सामन्तहरु झगडाको रमिते हेर्नबाट बञ्चित हुन्थे।

धनगढी पोष्टबाट साभार

6 thoughts on “तराई र मधेशको भिन्नता

  1. Tharuhat state Lai Madhes bhanna mildaina. Nepal bhitra Madhesh Pradesh chhaina. Tharuhat na swikarnele Tarai swikare hunchha. Tharu Ra Anya aadibasi Lai Terai pachchha/swikar chha. But they can’t digest Madhes.

  2. राजनितिक दम्भका कारण यदि ईतिहासमा भयको सत्य तथ्य्लाइ यदि कसैले जबर्जस्स मेताउन खोज्यो भने दोन्द सुरु हुन्छ । जुन अहिले तराइलाई मधेस र उहाका आदिबासी भुमिपुत्त्र थारुलाइ जबर्जस उनिहरुको पहिचानलाइ मेत्दै मधेसी बनाउन खोज्दएछन यहाक शासकहरु । यदि यो गल्ती सचियन भने ठूलो दोन्द हुनेछ । जस्को जिम्मेवार राज्य हुनेछ । लेखककार दिल बहादुर दाजु जि हन धन्यबाद महा मिहिनेत कैके article लिख्ल बाती जहाँ सत्यता छुपल बा । कृपया यी article जरुर पहर्बी ओ share कर्बी ।

    जय थरुहत
    सिताराम काठमाडौ किर्तिपुर

  3. Dil bahadur chaudhary g tapai prasansaniye hunuhunchha yestai tharu haruko ujagar ko lagi kalam chalaunu ani balla tharu haru agadi badhchhan ra yo kura sahi ho tharu haru kahilai madhesi hoinan ra madhesi haru sang tharu haru ko kunai aapatti pani chhain

  4. EAKTA ! ! there is 2 kinds of eakta . eakta among the tharus and the eakta among the tharu leaders. we tharus have the most eakta than any other community. desh bedesh everywhere . does the tharu leaders have the eakta ??????? . so my friends , lets blame our leaders for our down fall and lets ask to all those leaders who likes to give speech with wonderful words to get united and think about the community. I always believe ” we all have our own political principle , but when the question comes about our community we should forget that principle and work under one umbrella” leaders this was for you guys. .

  5. समसामयिक बिषयमा सान्दर्भिक लेखको लागि धन्यवाद ! यसबाट थारु आन्दोलनलाई उर्जा प्रदान हुनेछ ।

Leave a Reply

Your email address will not be published.