चन्द्रशमशेरले दास प्रथाको उन्मूलन गरेको शताब्दीयौंपछि, कमैया मुक्ति भएको झन्डै १३ वर्षपछि कम्लरीलाई मुक्त घोषणा गरियो । तर अझै कतिपयको अवस्था अज्ञात छ । उनीहरू कहाँ छन् ? अभिभावकहरूको प्रश्नमा काम दिलाउन लैजानेहरू, सरकार र उनीहरूको हितमा काम गर्नेहरू सबै मौन छन् । विशेष गरेर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका अवोध बालिकालाई अर्काको घरमा काम गर्न पठाउने कम्लरी प्रथा ९ महिनाअघि अवैध घोषणा गरियो । घोषणासँगै कम्लरी बसेकाहरू मुक्त गरिए । तर कतिपय काममा लगेको ठाउँमा छैनन् । बिचौलियाले विभिन्न ठाउँमा पुर्यागउने हुँदा अभिभावकलाई काम गर्ने ठाउँ थाहा छैन । कतिपय अभिभावक धेरै वर्षदेखि आफ्ना छोरीको खोजीमा भौँतारिइरहेका छन् । यसै विषयमा कान्तिपुरका सहकर्मी टीकापुरका गणेश चौधरी, दाङका दुर्गालाल केसी, बाँकेका ठाकुरसिं थारु र बर्दियाबाट कमल पन्थीले गरेको रिपोर्ट:
…..
कैलालीको चौमाला ७ का लौघर चौधरीका दुई छोरी हेमा र सूर्या ८ वर्षदेखि उनको सम्पर्कमा छैनन् । कैलालीकै भजनी गाविसका पूर्वअध्यक्ष प्रमोद उप्रेतीमार्फत अर्काको काम गर्न काठमाडौं लगिएका छोरीहरू कहाँ छन् लौघरलाई थाहा छैन । आठ वर्ष पुग्यो भेट र फोन सम्पर्कसमेत नभएको ।
‘छोरीहरूलाई ल्याइदिनुपर्योा भनेर प्रमोदलाई ३ पटक अनुरोध गरिसकें,’ उनले भने, ‘वास्तै गर्दैनन्, मरे कि बाँचे केही थाहा छैन ।’ छोरी खोज्न जाउँ भने न त उनले छोरीले काम गर्ने ठाउँ देखेका छन्, न जानका लागि खर्च नै छ । उनी आफैं मुक्त कमैया हुन् । मुक्त कमैया शिविरमै बस्छन् ।
त्यसो त कैलालीमा यो समस्या भोग्ने लौघर एक्ला होइनन् । चौमाला ७ की आशा चौधरीसँग उनको आफन्तको सम्पर्क नभएको ११ वर्ष भएको छ । माइजू लक्ष्मी चौधरीका अनुसार आशालाई उनकै दिदी पर्ने सरिता चौधरीले काठमाडौं लगेकी थिइन् ।
बेपत्ता कम्लरीका अभिभावकको एउटा साझा समस्या भनेको उनीहरू काम गर्ने घरका मान्छे चिन्दैनन् । लैजाने मान्छे मात्र चिन्छन् । सम्पर्क हुन छाडेपछि त्यही बीचको व्यक्तिसँग उनीहरू हारगुहार गर्छन् । तर त्यस्तो अवस्थामा कहाँ छन् र कहाँ खोज्ने भन्ने समस्या उत्पन्न हुन्छ ।
धनगढी नगरपालिका १२, मनहरा शिविरकी मंगरी चौधरीले छोरी सम्पर्कमा नआएपछि प्रहरीमा निवेदन दिइन् । त्यसपछि उनलाई छोरी लैजानेले नेपालगन्ज लगे । उनीहरूले सात दिनसम्म नेपालगन्जका सम्भावित घरमा खोजी गरे । पत्ता लागेन । ‘म आफैं चिन्ता र थकाइले बिरामी भएँ, त्यसपछि उपचार गरेर फर्कें,’ उनले भने ।
कतिपय सम्पर्कविहीनहरू फर्केपछि अरू अभिभावकमा पनि आशा बढ्छ । त्यसैले उनीहरू माया मार्न पनि सक्दैनन् । शिविरकै बेपत्ता भनिएका लक्ष्मी र सुष्मा फर्केर आएकाले मंगरीलाई पनि छोरी र्फकने आशा छ । छोरी गीतालाई मासिक सय रुपैयाँ दिने भनेर धनगढीस्थित मल्ल आयल स्टोरका मालिकले लगेको मंगरी बताउँछिन् । उनले भनिन्, ‘पैसा त दिएनन् दिएनन्, छोरी नै बेपत्ता बनाइदिए ।’
छोरी खोज्दाखोज्दै निधन
छोरी खोज्ने क्रममा बिरामी परेकी मंगरीमात्र होइन, छोरीकै खोजीमा भौंतारिरहेका दाङका चतुरवीर थारूले चिन्ता र हैरानीले चार वर्षअघि ज्यानै गयो । वाषिर्क ४ हजार ५ सय ज्याला कबोलेर काठमाडौं लगिएकी शर्मिला हराएको खबर दाङ, घोराही २, क्वाडीका चतुरवीर थारूले ११ वर्षअघि पाएका थिए ।
काममा लगिएको ६ महिनापछि नै छोरी हराएको खबर आयो । उनी खोजीमा निरन्तर लागिरहे तर कतै भेटाएनन् । उनको निधनपछि बहिनीको खोजी दाजु धरमबहादुरले गरिरहेका छन् । ‘बहिनी खोज्दाखोज्दै बुवाको मृत्यु भयो । धेरै ठाउँ पुग्नुभयो तर पत्तो लागेन,’ उनले भने, ‘अहिले पनि र्फकन्छिन् कि जस्तो लाग्छ ।’ २०५९ माघ १० गते स्थानीय चिनेजानेका मानिसले १२ वर्षीया शर्मिलालाई ६/६ महिनामा ज्याला पठाइदिने सर्तमा काठमाडौंस्थित शिलु अधिकारीको घरमा पठाएका थिए ।
‘बहिनीको चिन्तैचिन्ताले बुवाको ज्यान गयो, भेटाएर मर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो,’ दिदी जितमानीले भनिन्, ‘उनलाई दलालले कतै बेचे कि ? कतै मारेर पो फाले कि ? हामीलाई न्याय कसले देला ? उनको खोजी कसले गरिदेला ?’
शर्मिला मात्रै होइन दाङबाट कम्लरी गएका बालिका हराउने क्रम बर्सेनि बढ्दै गएको छ । अधिकांश घटना गुपचुपमा छन् । मुक्त कम्लरी विकास मञ्चका अनुसार पश्चिम तराईका कैलालीमा १२, बाँकेमा ६, दाङमा ५ र बर्दियामा ४ गरी २७ कम्लरी बेपत्ता छन् । तर यो तथ्यांकलाई स्वतन्त्र रूपमा पुष्टि गर्न
भने गाह्रो छ । कतिपय बिहे गरेर बसेको पनि भेटिएका छन् ।
चिन्दैनन् कम्लरी राख्नेलाई
बेपत्ता कम्लरीको खोजीमा सबैभन्दा समस्या भनेकै उनीहरू कसका घरमा काम गरिरहेका छन् भन्ने हो । बाँके, बिनौना ८, चाचाफर्काका बद्रीनारायण चौधरी कम्लरी बस्न गएकी बहिनीको अवस्था पत्ता लगाउन १० वर्षदेखि लागिपरेका छन् । काठमाडौं लैजाने बेला बहिनी जुगमानीे १० वर्षकी थिइन् । ‘अहिले २० वर्षकी जवान भइन् होली,’ उनी कल्पिन्छन् । तर १० वर्षदेखि बहिनीको कुनै खबर छैन ।
स्थानीय कालुराम विकले साथीको घरमा कम्लरी राख्न भनेर जुगमानी काठमाडौं लगेका थिए । परिवारलाई विक प्रहरीमा जागिरे भएको थाहा छ । उनले बहिनीलाई कसको घरमा लगेको भन्ने थाहा छैन । ‘कालुराम घर आएका बेला बहिनीलाई जसरी भए पनि ल्याइदिनुपर्योन भन्छौं । काठमाडौं गएपछि जुगमानीलाई ल्याउँछु भन्छ तर, १० वर्ष बितिसक्यो अहिलेसम्म बहिनी घर आएको छैन,’ दाजु बद्रीनारायणले भने । जुगमानीका बुबा मिथु र आमा ललदैयाको पनि मृत्यु भइसक्यो ।
कम्लरी गएकी बिनौना २ जुरपानीकी शिवकुमारी चौधरी -रामकली) १२ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । उनलाई नेपालगन्ज ७ फुल्टेक्राका बिज्जु ठकुरीको घरमा कम्लरी राखिएको थियो । त्यसबेला उनी ८ वर्षकी थिइन् । ‘२०५९ पुस १४ गतेपछि आफन्तसँग भेट भएको छैन,’ लगरु चौधरीले भने, ‘कम्लरी राखेको घरमा गएर सोधपुछ गर्दा काठमाडौंमा छ भन्छन् ।’
शिवकुमारीलाई कम्लरी राख्न स्थानीय कुनबिहारी चौधरीले सहयोग गरेका हुन् । नेपालगन्जमा मजदुरी गर्न आउँदा ठकुरीसँग चिनजान भएपछि उनलाई कम्लरी राखिदिएको उनले बताए । कम्लरी राखेको दोष उनको थाप्लोमा परेको छ । ‘घरकाले छोरी फिर्ता चाहियो भन्छन् । ठकुरीसँग सोध्दा काठमाडौं घरमा रहेको बताउँछन्,’ कम्लरी राख्न मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कुनबिहारीले भने, ‘अहिले निकै समस्यामा परेको छु ।’ उनले भने कम्लरी राखेको घरपरिवारलाई चिनाइदिएका छन् ।
मुक्तकम्लरी विकास मञ्चको तथ्यांकअनुसार नौवस्ता ३ की १५ वर्षीया ममता, नौवस्ता २ की १६ वर्षीया रजिता, फत्तेपुर ९ दलैयाकी १३ वर्षीया विपती र रझेना ८ की १३ वर्षीया मिच्छु चौधरी सम्पर्कविहीन छन् ।
बर्दिया नेउलापुर ७ का पहाडिया थारूकी छोरी कृष्णी थारूकी सात वर्षीया छोरी कृष्णीलाई पाल्पाका ‘पप्पु राजा’ भन्ने व्यक्तिले कम्लरीका लागि लागेको १५ वर्ष बित्यो । परिवारलाई आफ्नी छोरी कसकोमा छिन् भन्ने मात्र होइन, लैजाने ‘पप्पु राजा’ भन्ने व्यक्तिको अत्तोपत्तोसमेत पाउन सकेका छैनन् ।
मासिक तीन सय रुपैयाँ पाउने भन्दै ‘दिपेश राजा’ भन्ने व्यक्तिसँग छोरी चिजमानी पठाउने बर्दियाकै बगनाहा ६ टकियाका हुर्दुलाल थारूको पनि हालत उस्तै छ । हुर्दुलालले छोरी त के लैजाने ‘दिपेश राजा’ लाई समेत पत्तो पाएका छैनन् । साहुको ठेगाना र फोन नम्बरसमेत थाहा छैन उनले भने, ‘कहाँ खोजौं ।’
गुलरिया ६ सुहेलवाका ठग्गा थारूका छोरी रीता पनि ५ वर्ष बेपत्ता छिन् । १२ वर्षको कलिलो उमेरमा स्थानीयले मासिक ८ सय तलब दिने भन्दै काठमाडौंस्थित सैनिक अधिकारीको घरमा काम गराउन भन्दै लगेका थिए । चार महिनासम्म भनेअनुसारको रकम आए पनि त्यसपछि बन्द भयो । थारू भन्छन्, ‘छोरी बसेको घरका मालिकको नाम पनि थाहा छैन ।’ यही अवस्था बगनाहा ६ बनकट्टीका कनकराम चौधरीको पनि छ । छोरी आशरानी सम्पर्कमा नआएको सात वर्ष बित्यो ।
गुपचुप र मुद्दा फिर्ता
सुरुमा सानी बालिकाका रूपमा घरेलु काम गर्न कसको घरमा लगेको र कहाँ छन् भन्ने नै पत्ता लाग्दैन । मालिकको सम्पर्क नै नहुने भएपछि खोजीको कार्य जटिल बन्दै जान्छ ।
अर्कोतिर कम्लरीका रूपमा प्रायः कमैया रहेका गरिब किसानका छोरी नै लग्ने गरिन्छ । यस्तो अवस्थामा कम्लरी राख्नेको सामाजिक, राजनीतिक तथा आर्थिक हैसियतका अगाडि सम्पर्कविहीन कम्लरीका अभिभावक निरीह हुन्छन् । काम गर्ने घर पत्ता नै लाग्यो, मालिकलाई चिन्यो नै भने पनि घटनालाई गुपचुप बनाउने प्रयास हुन्छ ।
कैलालीको चौमाला ७, राजीपुरकी आशा चौधरी हराएपछि माइजू लक्ष्मीले खोजी जारी राखेकी छन् । उनका अनुसार पढाइदिनेसमेत सर्तमा सद्भावना पार्टीकी स्थानीय नेत्री सरिता चौधरीले आशालाई काठमाडौं पठाएकी हुन् । लक्ष्मीका अनुसार अहिले आशा खोजी सुरु भएपछि सरिताले चुप लाग्न भनेकी छन् ।
कैलालीकै नारायणपुर ४ की कम्लरी मञ्जु चौधरी सम्पर्कविहीन भएपछि आमा राजकुमारी चौधरीले गैरसरकारी संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा हालिन् । मानव बेचबिखनअन्तर्गत परेको उजुरीपछि मिलापत्र भएको भन्दै फिर्ता लिइयो । उक्त मुद्दामा बेपत्ता कम्लरीका परिवारलाई १ लाख ३० हजार दिएर मिलाइएको थियो । राजकुमारी भन्छिन्, ‘मुद्दा फिर्ता लिन दबाब दिएर गाउँमै बस्न नसकिने भो, त्यसैले पैसा लिएर मुद्दा फिर्ता लिएको ।’ मञ्जुलाई गाउँकै स्थानीय जमिन्दार मालिक हर्क रावलमार्फत हेटौंडा पठाइएका थिए ।
कम्लरी हराएका केही फाटफुट घटना बाहिर आए पनि अधिकांश घटनाहरू भित्रभित्रै सेलाउने गरेको यस सम्बन्धमा काम गर्नेहरू बताउँछन् । कतिपयको यौन शोषण गरी हत्या गरिएको वा बेचिएको पनि हुन सक्ने मुक्तकम्लरी अभियन्ताहरूको आशंका छ । मुक्तकम्लरी विकास मञ्च, कैलालीकी उर्मिला चौधरी भन्छिन्, ‘बेपत्ताको अवस्थाबारे कोही गम्भीर छैनन् । सरकारले खोजी गरेर यथार्थ तथ्यांक र अवस्था बाहिर ल्याउनुपर्छ ।’
कम्लरी सम्पर्कविहीन हुनुमा धेरै कारण हुन सक्ने भए पनि उनीहरू तिनीहरूको अवस्था जोखिमपूर्ण हुन सक्ने आशंका गर्छन् । ‘सानो उमेरका घरमै हुन सक्छन्, अधिकांश कम्लरीलाई मालिकहरू बसाइँसराइ गरी जहाँ गयो त्यहीं लैजान्छन्,’ चौधरी भन्छिन्, ‘कति त विदेशसम्म लगिएको भेटिएका छन् । कति मारिएका पनि होलान् ।’
आन्दोलन र मुक्ति
कम्लरीले राजधानीमा समेत निरन्तर आन्दोलन गरेपछि सरकारसँग २०७० साल साउन ३ गते १० बुँदे सहमतिसहित मुक्ति घोषणा गरियो । सरकारी तवरमा कम्लरीको समस्या समाधानका लागि कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकको संयोजकत्वमा सेती अञ्चल एसएसपी लव विष्ट र महिला कार्यालयका गोमा प्रसाईं सदस्य रहेको एक बेपत्ता कम्लरी छानबिन समिति गठन भएको छ ।
त्यो समितिलाई मृत कम्लरी र बेपत्ता कम्लरीको सत्य तथ्य सूचना संकलन गरी प्रतिवेदन बुझाउने कार्याधिकार पाएको थियो । समितिले चार जना कम्लरीको मृत्यु भएको सूचना संकलन गरेको छ । उनीहरूका सम्बन्धमा मुद्दा चलिरहेको छ ।
बेपत्ता कम्लरीको सूचना संकलन कार्य भइरहेको कैलाली जिल्ला प्रशासन प्रमुख तथा संयोजक वेदप्रकाश लेखकले बताए । उनका अनुसार ५ जिल्लामा २७ जना कम्लरी बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएकोमा केहीले विवाह गरेर अन्यत्रै बसेकाले परिवारसँग सम्पर्कविहीन रहेको भन्ने खबर पनि आएको छ । यद्यपि यस विषयमा अध्ययन जारी नै रहेको उनले बताए ।
कानुन व्यवसायी अधिवक्ता बालाराम भट्टराई बेपत्ता कम्लरीका विषयमा मानव बेचबिखन अपराध अभियोगमा कम्लरी लानेविरुद्ध मुद्दा चलाउन सकिने बताउँछन् । मानव बेचबिखन अपराध गरेको प्रमाणित भएमा मानव बेचबिखन सजाय ऐनअन्तर्गत कारबाही हुने उनले बताए ।
कैलालीको टीकापुर बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक मीनबहादुर शाही बेपत्ताको पीडा बेपत्ता भएका परिवारलाई मात्र थाहा हुने भन्छन् । उनले भने, ‘कि मरे कि बाँचेको भनेर उनीहरूले थाहा पाउनुपर्छ । पर्खाइको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । राज्य जिम्मेवार नभएसम्म बेपत्ता कम्लरी आफन्तको पर्खाइको पीडा रहिरहनेछ ।’
कम्लरी विकास मञ्चका अनुसार काठमाडौंलगायत विभिन्न जिल्लामा १ सय १९ कम्लरी अझै रहेका छन् । ०६४ सालयता हालसम्म मुलुकभरिबाट बर्दियाका मात्र १ हजार ७ सय कम्लरी उद्धार गरिएको छ । तीमध्ये १ हजार ४ सय ९१ जना विद्यालयमा अध्ययन गरिरहेका छन् ।
कञ्चनपुरमा ५९ मुक्त हुन बाँकी
कञ्चनपुरमा अझै ५९ कम्लरी मुक्त हुन बाँकी छन् । कम्लरी क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको तथ्यांकअनुसार हालसम्म जिल्लामा १ हजार १ सय ७३ कम्लरीको उद्धार भइसकेको छ । जिल्लाबाट अन्यत्र लगिएका र जिल्लाभित्रै रहेका सबै कम्लरी मुक्त भएर आफ्नो घर नफर्केसम्म कम्लरी मुक्तिको अभियान जारी रहने ती संस्थाका प्रतिनिधि बताउँछन् ।
‘हामीले मुक्त हुन बाँकी कम्लरीको तथ्यांक जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छौं,’ कञ्चनपुरमा कार्यरत गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघको कम्लरी प्रथा उन्मूलन परियोजनाकी संयोजक वसन्ती शाहीले भनिन्, ‘प्रशासनले कार्यदल गठन गरेर कम्लरीको उद्धार गर्ने तयारी गरिरहेको छ ।’ उनका अनुसार मुक्तकम्लरी विकास मञ्च र अन्य गैरसरकारी संघसंस्थाको पहलमा कम्लरी मुक्त भएको बताइन् ।
सरकारले गत साउन ३ मा पश्चिम तराईमा वषौर्ंदेखि दास प्रथाका रूपमा रहेको कम्लरी प्रथा अन्त्य गरेका घोषणा गरेको हो । कम्लरी मुक्तिको घोषणा गरेको नौ महिनासम्म पनि कार्यान्वयन नगर्दा कम्लरीहरू मुक्त हुन नसकेको सरोकारवाला बताउँछन् । कम्लरी प्रथाविरुद्धको आन्दोलनमा लागेका गैरसरकारी संस्था र मुक्त अगुवा कम्लरीहरूको लामो आन्दोलनपछि सरकारले यो कुप्रथा अन्त्य भएको घोषणा गरे पनि व्यवहारमा लागू हुन नसकेको उनीहरूको आरोप छ । ‘सरकारले १० बुँदे सहमतिमध्ये हालसम्म कम्लरी बसेकै घरमा मृत्यु भएका सृजना चौधरी र मेघी चौधरीका परिवारलाई क्षतिपूर्ति दिनेबाहेक अन्य कुनै पनि सहमति कार्यान्वयन गरेको छैन’ मुक्तकम्लरी विकास मञ्चकी अध्यक्ष सुलोचना चौधरीले भनिन् । कम्लरी मुक्त घोषणा गर्ने बेला भएका सहमतिहरूसमेत सरकारले कार्यान्वयन नगरेको सरोकारवालाहरू बताउँछन् । ‘सरकारसँग भएको १० बुँदे सहमतिमध्ये धेरैजसो लागू हुन सकिरहेको छैन,’ पूर्वमुक्त कम्लरी विकास मञ्चकी अध्यक्ष सुलोचना चौधरीले भनिन्, ‘अब पनि प्रशासन उदासीन भएन भने हामी आफैं छापा हानेर बाँकी कम्लरीको उद्धार गर्छौं ।’
के हो कम्लरी ?
बाँके, बर्दिया, कैलाली, कञ्चनपर र दाङका कमैया थारूका छोरीलाई जमिन्दारको घरका भाँडा माझ्ने, लुगा धुने, घर पुछ्ने, गाईबस्तु चराउनेलगायतका घरेलु काममा लगाउने कार्यलाई कम्लरी भनिन्छ । करिब १३ वर्षअघि कमैया मुक्ति घोषणा गरिएपछि त्यस्ता घरेलु काम गर्ने पूर्वकमैयाका छोरीलाई भने
कतिपय जमिन्दारले आफूसँगै राखे । आफूसँगै सहरतिर लगे ।
कतिपय मुक्त कमैयाले गरिबीका कारण सानी छोरीलाई अरूकोमा काम गर्न पठाए । सस्तोमा घरेलु काम गर्ने केटीहरू पाउने भएपछि गाउँका चिनजान वा जमिन्दारलाई भनेर कम्लरी नेपालगन्ज, काठमाडौंजस्ता सहरी क्षेत्रमा रहेको उनीहरूको चिनारुले पनि लैजाने क्रम चल्यो । यसरी टाढा लगिएका कम्लरी हराउने गरेका हुन् । अरू नै मानिसले लगेर काममा लगाउने हुँदा वास्तविक मालिकसँग अभिभावकको चिनजानसमेत भएन ।
कान्तिपुर दैनिकबाट साभार