स्काइपबाट साहित्य वाचन

SAMSUNG CAMERA PICTURES

सोम डेमनडौरा, नेपालगञ्ज- थारुभाषी साहित्यकारहरुले आफ्नो भाषा, साहित्य प्रवर्द्धनका लागि आफ्नो महत्वपूर्ण योगदान गर्न सक्रिए भएका छन्। उनीहरु साहित्यिक कार्यक्रम भएको स्थानमा पुग्न नसकेपनि फोन र स्काइपमार्फत् आफ्नो भाषामा साहित्यवाचन गर्न थालेका छन्। जंग्रार साहित्यिक बखेरीले गाउँ गाउँमा लगेको आफ्नो अभियान अहिले समय व्यवस्थापन गर्न असमर्थ भएको बेला राति भए पनि स्काइप र फोनमार्फत् साहित्यवाचन कार्यक्रममा सक्रिय भएका छन्।

थारुभाषी स्रष्टाहरुले देशका विभिन्न जिल्ला र विदेशबाट समेत फोनमार्फत् आफ्नो भाषाको साहित्य वाचन गरेका छन्। जंग्रार साहित्यिक बखेरी, नेपालगञ्जका आयोजनामा सञ्चालित १६औं जंग्रार साहित्यिक बखेरी, कार्यक्रममा मलेसियाबाट निष्ठुरी चिज, काठमाडौंबाट साहित्यकार कृष्णराज सर्बहारी र सुशील चौधरी, देउखरबाट छबिलाल कोपिला, सुर्खेतबाट मानबहादुर पन्ना, धनगढीबाट युवा गजलकार सागर कुश्मी र सत्य नारायण दहित र कञ्चनपुरबाट सुनिता सानुले दुई-दुई वटा रचना वाचन गरेका थिए।

कार्यक्रममा थारु भाषाका पुस्तक प्रदर्शनसमेत गरिएको थियो। थारु भाषा साहित्यको विकासका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेकाले यूवाहरुले अग्रजहरुबाट सिको गरी सामाजिक विकृति, विसंगति र देश, समाज सेवा र सुधार गर्ने खालको जनचेतनामूलक साहित्य वाचन गर्नुपर्ने बखेरीका संयोजक सोम डेमनडौराले बताए। यसका लाथि विश्व साहित्यको अध्ययन, अन्य भाषाका उत्कृष्ट साहित्य थारु भाषामा उल्था गर्नुपर्ने समेत डेमनडौराले सहभागीहरुलाई आग्रह गरे।

११ गते बेलुका सात बजेदेखि रातिको १० बजेसम्म चलेको सो बखेरीमा थारु सांस्कृतिको झलक पनि प्रस्तूत गरिएको थियो। बखेरीकी सदस्य तथा सञ्चारकर्मी सुमित्रा चौधरीद्वारा सञ्चालित सो बखेरीमा बर्दियाकी बालिका चौधरी, ठाकुर अकेला, दाङ्गका पूर्ण चौधरी, राम आरोह, करण चौधरी, एक्प्रेस एफएमकी सरस्वती चौधरी लगायतका स्रष्टाहरुले उत्साहपूर्वक कविता, गजल, मुक्तक वाचन र गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए।

चैत ११ गते स्काइपमार्फत् अन्तर्राष्ट्रिय साहित्यवाचन कार्यक्रम सम्पन्न गरेको बखेरीले अर्को कार्यक्रम नेपालका लागि चैत २९ गते र अन्तर्राष्ट्रिय स्तरको वैशाख ७ गते आयोजना गर्ने बखेरीका संयोजक सोम डेमनडौराले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published.