मुकेश टेंर्रा, धनगढी–१२ की मुक्त कमलरी सविता चौधरीको परिवारलाई केही वर्ष पहिलेसम्म साँझ बिहान हाँठ–मुख जोर्न धौधौ पर्थ्यो। मनेहराको मुक्त कमैया शिविरमा बस्दै आएको यो परिवारलाई खान लाउनकै समस्या भएपछि सवितालाई कमलरी बस्न पठाएका थिए। तर गत वर्ष सवितालाई कमलरी प्रथा उन्मुलनका लागि काम गरिरहेका संस्थाहरुले उद्धार गरेर घरमै पुर्या–इदिए र उनलाई स्कुलमा भर्ना गरिदिए। छोरीको स्कुल शुल्क तिर्न र जुगाराका लागि ती संस्थाहरुले सविताको घरमा किराना पसलसमेत स्थापना गरिदिए। किराना पसल सविताकी आमा बालदेवीले चलाउने गरेकी छन्। उनका बुबा धनगढीमै मजदुरी गर्छन्।
‘घरमै पसल खोलेपछि बालबच्चाहरुको स्कुल फि तिर्न र घर खर्च चलाउन सजिलो भएको छ,’ बालदेवीले भनिन्, ‘छोरीले पनि साँझ बिहान पसल सञ्चालन गर्न सहयोग गर्छिन् र दिउँसो स्कुल जान्छिन्। आमा छोरी मिलेर पसल चलाएपछि बुढाको मुख ताक्नु परेको छैन।’
सवितालाई सहयोग गर्ने संस्था मुक्त कमैया महिला विकास मञ्च र बेस कैलालीको सहयोगमा कैलालीका ७२ जना मुक्त कमलरी स्वरोजगार भएका छन्। उनीहरुले आफ्नै व्युटिपार्लर, कस्मेटिक, किराना, पोल्ट्रिफार्म, एग्रोभेट, टेलर्स र होटल सञ्चालन गरेका छन्। ‘कस्मेटिक पसल चलाएपछि आफ्नो पढाईलाई निरन्तरता दिन र भाइबहिनीको स्कुल फि तिर्न सजिलो भएको छ,’ धनगढी–८ मा कस्मेटिक पसल सञ्चालन गरेकी मुक्त कमलरी सुनिता चौधरीले भनिन्, ‘अब त दाल चामलको जोहो पनि सजिलै हुन थालेको छ।’
मुक्त कमलरीको आफ्नै आम्दानी भएपछि उनीहरु प्राविधिक र उच्च शिक्षा समेत अध्ययन गरिरहेका छन्। हाल ६१ जना मुक्त कम्लरीले उच्च मावि, दुई जना स्नातक र १३ जना भेटनरी, एचए र सिएमए पढिरहेका छन्। ‘व्यवसाय गर्न आफैँ अग्रसर नभएको भए यहाँसम्मको पढाई सम्भव थिएन,’ पथरैया गाविसमा आफ्नै भेटेरीनरी चलाएकी मुक्त कमलहरी विना चौधरीले भनिन्।
आफ्नै व्यवसाय सञ्चालन गरेपछि मुक्त कम्हलरीको जीवनमा पहिलेको भन्दा निकै परिवर्तन आएको मुक्त कमलरी फुलमति चौधरीले बताइन्। उनले आम्दानी भएपछि क्याम्पस पढ्न, भाइबहिनीको स्कुल फि तिर्न, मन लागेको खानेकुरा खान र लुगा लगाउन सजिलो भएको बताइन्। ‘आफ्नै कमाइ भएपछि कसैले कहाँबाट ल्याइस, किन खाइस् किन लगाइस् भनेर सोध्दैन,’ उनले भनिन्, ‘मेरा कुरा अरुले पनि सुन्न थालेका छन्।’
सरकारले कमलरी मुक्त भएको घोषणा गरे पनि कैलालीमा अझै ८३ कमलरी दासत्वको जीवन विताइरहेको एक संस्थाले जनाएको छ। कैलालीबाट विभिन्न ठाउँमा छ हजार दुई सय ९५ कमलरी रहेकोमा हालसम्म ६ हजार २ सय १२ जनलाई बेस, मुक्त कमैया महिला विकास मञ्च, एफएनसी र मुक्त कमलरी विकास मञ्चले मुक्त गराएका छन्।
‘मुक्त भए पनि केही कमलरीहरुले न शिक्षा पाएका छन् न त रोजगार र रोजगारमुलक तालीम नै,’ प्राविधिक शिक्षा पढिरहेकी मुक्त कमलरी स्मृति चौधरीले बताइन्। ‘उनीहरुलाई पनि रोजगारमुलक तालिम र शिक्षा दिनका लागि सरकारले सहयोग गर्नुपर्छ’, उनले भनिन्, ‘हामी जस्ता केही मुक्त कमलरीलाई त एनजिओहरुले साथ दिएर आत्मनिभएर भई उच्च शिक्षार प्राविधिक शिक्षा पढिरहेका छौं। बाँकी दिदीबहिनीहरुको जिम्मा कसले लिने?’
‘सरकारले छात्रवृत्ति दिएको भएपनि समयमै उपलब्ध नगर मुक्त कमलरीहरुको स्कुल जीवन सहज भएको छैन’, मुक्त कमैया महिला विकास मञ्चकी अध्यक्ष कौशिला चौधरीले भनिन्, ‘छात्रवृत्ति समयमा वितरण नहुँदा यसै वर्षमात्रै तीन सय ४९ जना मुक्त कमलरीले स्कुल छोडेका छन्। सयममा छात्रवृत्ति नपाएका र घरमा आमाबाबु नभएका मुक्त कमलरीहरु पुनः कम्लहरी बस्न गइरहनु पररेको छ।’
मुक्त कमलरीहरु मात्रै होइन, पछिल्लो समयमा मुक्त कमैया महिलाहरु पनि सामूहिक तरकारी खेती, जडिबुटी खेती, पशुपालन तथा किराना पसल, होटल व्यवसाय गरी आयस्रोत बढाएका छन्। पछिल्लो समयमा हुने महोत्सव मेलाहरुमा मुक्त कमैया महिलाहरुले राखेका स्थानीय उत्पादनदेखि फुट फेस्टिवलका पसल स्टलसमेत राखेको भेटिने गरेको छ।
तरकारी खेती गरेर राम्रो गुजारा चलाएकी धनगढी नगरपालिका–१२ मनहरास्थित हिम्मतपुर मुक्त कमैया शिविरकी कमला राना दश धुर जग्गामा तरकारी खेती गर्छिन्। उनले मासिक ५/६ हजार रुपैयाँ कमाउने गरेको बताइन्। ‘सिजनमा दैनिक २० किलोभन्दा धेरै तरकारी बेच्छु” रानाले भनिन्, ‘धेरै आम्दानी नभए पनि गुजारा चलाउन सहज भएको छ।’
सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा जिल्ला भरीका करिब दुई हजारभन्दा बढी मुक्त कमैया महिलाहरु तरकारी खेती, च्याउ खेती, जडिबुटी खेती, बंगुरपालन, माछापालन, कुखुरापालन, हाँसपालन, बाख्रापालनमा संलग्न भएका छन्। ती संस्थाहरुले तरकारी खेतीमा संलग्न हुन चाहने मुक्त कमैया महिलालाई निःशुल्क तालिम, उन्नत बिउ, उपकरण, प्राविधिक सल्लाह र सिंचाई सामाग्री दिँदै आएका छन्।
लामो समय कमैया बसेका मुक्त कमैयाका श्रीमती, छोरी र दिदीबहिनी उनीहरुसँगै जमिनदारहरुको घरमा बुक्रही, ओर्गिन्याका र कमलरी बसेका थिए। मुक्तिपछि पनि उनीहरु श्रीमान, दादुभाइ र बुबा आमासँगै शिविरमा बस्न आए। तर उनीहरुको आम्दानीको स्रोत बलियो नहुँदा अवस्था जस्ताको त्यस्तै छ। तीमध्ये आफैँ अग्रसर भइ तरकारी खेती, पुशुपालन, होलट व्यवसाय, मजदुरी, पसल सञ्चालन गरेका मुक्त कमैया महिला र मुक्त कमलरीले मनग्य आम्दानी गरेर आत्मनिर्भर भइ समाजका उदाहरण बनेका छन्।
मुक्त कमलरी र मुक्त कमैया महिला मात्रै होइन, यहाँका गरिब, दलित, जनजाति, सीमान्तकृत समुदायका महिलाहरु अग्रसर भएर परिवारको आर्थिक स्थिति सुधारेका थुप्रै उदाहरण छन्। धनगढी–७, की सरस्वती चौधरीले पनि आफ्नै ब्युटिपार्लर सञ्चालन गरेर आर्थिक रुपमा सन्तुष्ट भएकी छन्। धनगढी बजारमा महिलाहरुले ठेला पसल सञ्चालन गरी आम्दानी गरिरहेका छन्।
त्यसैगरी, धनगढी–६, जालिका दलित महिलाहरुले गुन्द्री बुनेर आम्दानी गर्ने गरेका छन्। उनीहरुले पुरुषहरुले मजदुरी गरेर कमाएको पैसा भन्दा आफूहरुले गुन्द्री बेचेर जम्मा गरेको रकम घरखर्चमा बढी उपयोग हुने गरेको बताउँछन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर