थारु गाउँको होम-स्टे

tharu homestay

भीम घिमिरे– गैंडा बाली चर्न आएको थियो । त्यो बलिष्ठ जन्तु देखेर थारूको छोरो डराएन । सोच्यो, ‘यसलाई पुच्छर समातेर पछार्छु । डराएर भाग्छ ।’ गैडा भागेन । बरु त्यसले खेद्यो । शोभाराम थारू खेतका आलीमा पछारिए । त्यसपछिका दुई दशक उनलाई गैंडाका त के कुरा, कुनै पनि वन्यजन्तु राम्रो लागेन । फागुन तेस्रो साता उनको गाउँ नवलपरासीको अग्यौली बाघखोर टोलमा भेट्दा ५० वर्षीय थारूले भने ‘अब मलाई गैंडामात्रै होइन वनका सबै जन्तु मन पर्छ । उनीहरू ज्युँदो रहनुपर्छ । हामीले जोगाउनुपर्छ जस्तो लाग्छ ।’ सकारात्मक सोचाइ आउनुका केही वर्षअघिसम्म न उनलाई वन्यजन्तु मन पर्थे, न त घर छेवैको घना वन । बस्ती छेउमा वन रहिरहे जनावरले बाली खाइरहन्छन् । द्वन्द्व भइरहन्छ भन्ने बुझेका उनका लागि गैंडाको सामना जीवन रहेसम्म सम्भिmरहने घटना भएको छ ।

घरको बरन्डामा बैसाखी अड्याएर बात मार्दा उनले धेरैपल्ट आफ्नो दाँया तिघ्रा हेरिरहे । गैंडाले उनलाई कुल्चिएको थियो । चोट यति गहिरो थियो, उनको एउटा खुट्टा नै गुम्यो । वन्यजन्तु हेर्न आउने पर्यटक रिझाउन खोलिएको टाइगर टप्स रिसोर्टमा उनी ‘कुक’ थिए । घर आएका बेला घटना भयो । उपचारका लागि उनलाई भरतपुर अस्पताल लगियो । चिकित्सकले खुट्टा काट्नुपर्छ भने । उनले मानेनन् । राजधानीको त्रिवि शिक्षण अस्पताल पुगे । त्यहाँ पुगेर पनि खुट्टा जोगिएन । हातमा बैसाखी आयो । घाइते कर्मचारीको उपचार खर्च रिसोर्टले तिरे पनि उनी पहिले जसरी खट्न र काम गर्न नसक्ने भए । त्यसपछिका दिन सहकर्मीलाई अराउपराउको हलुका जिम्मेवारी लिएका आशाराम अहिले जागिरबाट रिटायर्ड भएका छन् ।

‘हाम्रो गाउँमा होम-स्टे सुरु भएपछि पाहुना आउन थालेका छन्,’ उनले भने, ‘टुरिस्ट खानबस्न मात्रै आउने होइनन् । यहाँको जंगल, अनि यहाँ देखिने गैंडा, बाघ र चरा हेर्न आउँछन् । यो जोगियो भने त हेर्न आउने हुन् नि ।’ चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज जोडिने चितवन, नवलपरासी, पर्सा र मकवानपुरका गाविसका भूभाग समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बनाइएको छ । मध्यवर्ती क्षेत्रका ३७ गाविसमध्ये नारायणी नदीपारिको एउटा गाउँ हो शोभारामको अग्यौली ।

उनको आँगनमा गत वैशाखमा एउटा नयाँ झुप्रो थपियो । दुई कोठा, भित्रै बाथरुम र शौचालय भएको झुप्रो । पाहुना आए यसमा बास बस्न पाउँछन् । उनकै भान्सामा पिर्कामा बसेर खाना खान्छन् । थारू बहुल गाउँका २० घरमा सुरु भएको होम-स्टेमा कसलाई कता वास बसाउने भन्ने समितिले तोक्छ । पुर्जी काट्छ । पाहुनाले तिर्ने शुल्कको १० प्रतिशत सेवा शुल्क काटेर ९० प्रतिशत रकम शोभारामजस्ता घरमुलीको हात पर्छ ।

नारायणघाटबाट बुटबल जाने बाटोमा ३६ किमि अघि बढेपछि डन्डा आइपुग्छ । डन्डाबाट पूर्व-पश्चिम राजमार्गलाई छाडेर करिब आठ किलोमिटर दक्षिण-पूर्व लागेपछि बाघखोर आइपुग्छ । यो नै शोभारामको गाउँ हो ।

परम्परागत पोसाक र गहनामा सजिएर थारू महिला पाहुनाको स्वागत गर्छन् । आफ्नै भाषाका नाचगानसहितका सांस्कृतिक कार्यक्रम पनि देखाउँछन् । ‘हामीलाई सुरु सुरुमा निकै गाह्रो परेको हो,’ होम-स्टे समितिका म्यानेजर धनिराम गुरउले भने, ‘घर इँटाले बन्न थाले । लुगा बजारका लाउन थालियो । टेबलमा बसेर खान थालियो । कता गए हाम्रा लुगा कता पुगे ती पुराना गहना ।’ होम-स्टे यहाँ गत जेठदेखि सुरु भएको हो । परम्परा झल्काउने पुराना कुरा जुटाएपछि बल्ल अलि सजिलो भएको उनले सुनाए । ‘हामीले अलि पर गाउँबाट गीत गाउन र नाच्न जान्नेलाई झिकायौं । रहर गर्ने धेरैले सिके,’ उनले भने ‘अहिले पनि हामी हाम्रो पुराना संस्कारसँग जोडिएका कुरा खोज्दै भेला पार्दै छौं ।’

टोलको नाम राणाकालीन सिकार परम्परासँग गतिविधिसँग जोडिएको छ । उनले भने, ‘त्यो जमानामा यहाँको जंगलमा सिकार गर्न आएकाहरूले बाघ पक्रेर यहाँ खोर बनाई थुन्ने रहेछन् । हामीले पनि कथामात्रै सुन्न पायौं ।’ अब वन्यजन्तु सिकारको जमाना छैन । उनीहरूलाई जोगाएमात्रै आम्दानी हुन्छ । गुजारा राम्ररी चल्छ । वन्यजन्तु जोगाउनका लागि वन जोगाउनुपर्छ । वन जोगाउन आयआर्जनका अन्य विकल्पको खोजी गर्दै रोजगारी र इन्धनको विकल्प खोज्नुपर्छ । यही खोजीको क्रममा थपिएको नयाँ कार्यक्रम होमस्टे पनि हो ।

निकुञ्ज र संरक्षित क्षेत्र जहाँ जहाँ छन्, त्यहाँको व्यवस्थापन र स्थानीयबासीको सम्बन्ध बिगि्रन्छ । यसको कारण व्यवस्थापन पक्ष वन्यजन्तु र वनको सुरक्षामा कानुनका भाषा बोल्छन् । स्थानीयहरू आफ्नो परम्परागत घाँस-दाउरा, चरिचरन र आयआर्जनको क्षेत्रमाथि परम्परागत अधिकार दाबी गर्छन् । संरक्षित घोषणा गरिएको क्षेत्रमा तैनाथ सरकारी कर्मचारी र सुरक्षाकर्मीसँग चिसोपन रहिरहन्छ । वनमा गएर काठ-दाउरा ल्याए कारबाहीमा परिने, वनका जन्तुले बाली खाइदिने र जीउ ज्यानकै जोखिम भइरहने अवस्था नै द्वन्द्वका कारण हुन् ।

मुलुकका सबैजसो संरक्षित क्षेत्र छेउछाउ जहाँ यस्ता समिति गठन भएका छन्, त्यहाँ द्वन्द्व समाधानका काम पनि भएका छन् । संरक्षित क्षेत्रले गर्ने आम्दानीको आधा हिस्सा यस्ता समितिमा जान्छ । समितिले स्थानीयको आवश्यकताअनुसारका विकासमा टेवा पुर्याहउन कार्यक्रम बनाई खर्च गर्छ । स्थानीयको दैनिकीसँग जोडिएका क्षेत्रमा वनको व्यवस्थापन उनीहरूकै हातमा पुगेको छ । ‘पहिलो कुरो हाम्रो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ पछि नयाँ ऐन आएकै छैन,’ चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष यमबहादुर परियारले भने, ‘जल, जमिन र जंगललाई सुरक्षा जनताले दिने नै दिगो हुन्छ । त्यसैले जनतालाई रिझाउने कार्यक्रम सधैं चाहिन्छ ।’ कानुनको भाषा परिवर्तनलाई आत्मसात् गर्नका लागि ऐन परिमार्जन पहिलो आवश्यकता भएको उनको बुझाइ छ ।

संरक्षित घोषणा गरिएका क्षेत्रको सुरक्षाका लागि स्थानीय बासिन्दालाई रिझाउनुको विकल्प छैन चितवनमा सौराहा धेरैपटक पुगेकाहरू निकुञ्ज क्षेत्र घुम्न नयाँ बाटो खोज्छन् । त्यस्ताका लागि नवलपरासीको अग्यौली उपयुक्त छ । यो क्षेत्रबाट पनि पर्यटकले गैंडा, बाघ र चराचुरुङ्गी अवलोकन गर्न सक्छन् । सामुदायिक वनले यसको व्यवस्था मिलाएको छ । थारू गाउँको नयाँ होमस्टेबाहेक पनि यहाँ दुईवटा गुणस्तरीय रिसोर्ट छन् ।

‘मेरो झोलामा जहिल्यै एउटा किताब हुन्छ,’ चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत कमलजंग कुँवरले भने, ‘त्यो किताब भनेको नेपालका चराहरू भन्ने हो ।’ बाघखोरमा लाटोकोसेरो तथा हुचिल महोत्सवको अवसर पारेर आएका उनले बिस्तारै आफूलाई चरा हेर्ने, चिन्ने र उनीहरूका गतिविधिमाथि रुचि बढेको बताए । ‘नेपालमा झन्डै आठ सय प्रजातिका चरा पाइनेमा चितवनमा मात्रै ५ सय ७५ थरि रेकर्ड भएको रहेछ,’ उनले भने, ‘चराका कुरा जति बुभmयो त्यति रमाइला छन् । चिन्ताका कुरा मानवीय हस्तक्षेपले उनीहरूको बसाइमाथिको बढ्दो संकट कसरी घटाउने भन्ने हो ।’

चितवन बाघ र गैंडाका लागि चर्चित छँदैछ । यो निकुञ्ज सजिलै यी जन्तुको अवलोकन गर्न सकिने भएर मात्र चर्चामा आएको होइन । यहाँ लगानी आएको छ । निजी क्षेत्रका होटल र रिसोर्टका आँखा परे । राजधानीबाट नजिकै सडक दूरीको क्षेत्र भएकाले मुलुकभरिका अरू संरक्षित क्षेत्रका तुलनामा सरकार र पर्यटकको ध्यान तानेको छ । उतिकै शोधकर्ता र जैविक विविधताको विभिन्न पाटोमा कार्यक्रम चलाउनेको ध्यान पनि खिचेको छ ।

भ्रमणमा आएकी विश्व वन्यजन्तु कोष -डब्ल्युडब्ल्युएफ) की अध्यक्ष युलान्डा काकाबेसले थारू गाउँ भ्रमणपछि भनिन्, ‘जैविक विविधता संरक्षणका लागि समुदायमा आधारीत विकास कार्यक्रम नै आवश्यक छ । समुदायलाई संरक्षित क्षेत्रबाट बन्देज लगाउनुभन्दा आयआर्जनका कार्यक्रम दिन सकियो भने उनीहरूले नै संरक्षण गर्ने रहेछन् भन्ने उदाहरण यो थारू गाउँ पनि हो ।’ कोषले दिएका विभिन्न कार्यक्रममध्ये होमस्टेका लागि घर बनाएकाहरूले ५०/५० हजार मात्रै पाएका छन् । करिब ३ लाख ५० हजार खर्च गरिएको घर निर्माणको लगानी स्वयं घरधनीको हो । अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेमशंकर मर्दनियाका अनुसार अग्यौली, कुमारवर्ती र कोल्हुवा गाविसका गरी १ हजार ९ सय ९२ घरधुरीमध्ये २० वटा घरमा होमस्टे र बोटे समुदायका लागि माछापालनको पोखरी तथा मुसहर समुदायका लागि तरकारी खेतीजस्ता कार्यक्रम पनि बनाइएको छ ।

पोखराबाट आएका रवि आचार्यले थारू होमस्टेको फरक अनुभव गर्न पाएको बताए । ‘घरमा पाहुना राखेर आफ्नै संस्कारको स्वागत र खानपानको व्यवस्था सजिलो होइन तर यहाँ व्यवस्थित रहेछ,’ उनले भने, ‘आएर बस्न खान र जंगल सजिलोसँग घुम्न पाउँदा मलाई चितवनको सौराहा गएभन्दा फरक अनुभव भयो ।’ सबै घरहरू अगाडि होमस्टेका नम्बर छन् । पाहुनाको स्वागत परम्परागत पोशाकमा गरिन्छ । साँझ परम्परागत गीत सुनाइन्छ । थारूको परम्परागत संस्कारमा मिसिएको आधुनिकताबाट मुल संस्कृतिको खोजी गर्ने अभियान होमस्टेबाट सुरु भएको छ ।
कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.