दिदीबहिनीको शीतयुद्ध

pcएजेन्सी- बलिउडका अभिनेत्रीहरूबीच खिचातानी भइरहन्छ। उनीहरूले एकअर्कामाथि मिडियामा नानाथरी टिप्पणी गर्नु त्यहाँको चलन नै हो। तर, यस पटक भने बलिउडमा केही फरक तानातान देखिएको छ। त्यो हो– चोपडा दिदीबहिनीको खिचातानी। प्रियंका चोपडा बलिउडकी सफल अभिनेत्रीमध्ये एक हुन्। उनकी बहिनी परिणिति चोपडाले पनि बलिउडमा आफ्नो पहिचान बनाइसकेकी छिन्। यी दुई बहिनीसँगै छिट्टै चोपडा खानदानका अरू दुईबहिनी मीरा चोपडा र बार्बी हाँडाले बलिउडमा ‘इन्ट्री’ गर्ने भएका छन्। मीरा चोपडाले सतीश कौशिकको फिल्म ‘ग्याङ अफ गोस्ट’ बाट र बार्बी हाँडाले अनुभव सिन्हाको फिल्म ‘जिद’ बाट बलिउडमा आफ्नो करिअरको सुरुवात गर्नेछन्। प्रियंका, परिणिति र मीरा काका–ठूलोबुवाका छोरी हुन् भने बार्बी उनीहरूकी फुपूकी छोरी हुन्।
परिणितिलाई स्थापित गरिसकेपछि अहिले प्रियंका बार्बीलाई बलिउडमा छिराउन लागिपरेकी छिन्। हालै उनले बार्बीसँग एक विज्ञापनको सुटिङ पनि गरेकी छिन्। र, बार्बीसँग खिचेका आफ्ना फोटो पनि प्रियंकाले ट्वीटरमा पोस्ट गरेकी छिन्। बार्बीले दक्षिण भारतीय फिल्ममा काम गरेकी छिन्। तर, सोचजस्तो सफलता भने हात पार्नसकेकी छैनन्। अहिले भने उनले बलिउडको बाटो समातेकी छिन्।
बार्बी त्यति चर्चामा नआए पनि तीन दिदीबहिनी (प्रियंका, परिणिति र मीरा) को शीतयुद्धले बलिउडमा खुब चर्चा पाएको छ। उनीहरूले बेलाबखत एकअर्कामाथि केही न केही टिप्पणी गर्दै आएका छन्। उनीहरूका रसाकस्सीले बलिउडलाई आजभोलि निकै तताएको पनि छ। दिदीबहिनीले एकअर्काको निन्दा गरेको सम्भवतः बलिउडमा यो पहिलो घटना होला। प्रियंकासँग आफ्ना सम्बन्धबारे मिडियाअगाडि परिणितिले धेरै पटक मुख खोलेकी छिन् भने उनको मीरासँगको टक्कर पनि प्रस्टै देखिएको छ। प्रियंका र मीराको सम्बन्ध पनि खासै बलियो छैन।
केही समयअघि मीरा र प्रियंकाको मनमुटाव बलिउडमा चर्चित भएको थियो। भनिन्छ,  दक्षिण भारतीय फिल्ममा काम गर्ने मीराबारे प्रियंकाको सोचाइ खासै राम्रो छैन। उनी मीरादेखि यति रिसाएकी थिइन् कि उनीबारे कुरा नै गर्न चाहन्नथिइन्। परिणितिको भने प्रशंसा गर्दै हिँड्थिन्। तर, पछिल्लो पटक प्रियंकाले आफ्नो ट्वीटर अकाउन्टमा मीराको फिल्म ‘ग्याङ अफ गोस्ट’ को ट्रेलर पोस्ट गरेकी थिइन्। ‘मेरो बहिनीको पहिलो फिल्म आउँदै छ, हेर्नुहोला,’ उनले लेखेकी थिइन्। प्रियंकाको यो पोस्ट देखेपछि धेरैले दुई बहिनीबीच सम्झौता भएको अनुमान गरेका छन्। मीराले पनि प्रियंकासँग कुनै मतभेद नभएको विचार मिडियासामु व्यक्त गरेकी छिन्। प्रियंकासँग आफू भावनात्मक रूपले जोडिएको खुलासा उनले गरेकी छिन्। ‘म प्रियंकासँग नजिक छु। उनको फ्यान पनि हुँ म। तर, उनीसँग धेरै नजिकिने प्रयास चाहिँ मैले कहिल्यै गरिनँ,’ एक अन्तरवार्तामा उनले भनेकी छिन्। प्रियंकाको प्रशंसा गर्न मीराले कन्जुस्याइँ गर्दिनन्। ‘प्रियंकाले सदैव मेरो साथ दिएकी छिन्। उनले मलाई गाइड पनि गरेकी छिन्। मैले बलिउडमा काम गर्दै छु भन्ने थाहा पाएपछि उनले मलाई ‘पहिला किन नभनेको र मलाई फिल्म अहिलेसम्म किन नदेखाएको’ भन्दै हप्काएकी थिइन्,’ खुला मनले प्रियंकाको तारिफ गर्दै मीराले भनेकी छिन्।
तर, नयाँ झमेला मीरा र अर्की बहिनी परिणितिबीच देखिएको छ। परिणितिले मीरालाई आफ्नो टाढाको आफन्त भनेकी थिइन्। यसपछि परिणितिले आफूलाई मन नपराउने कुरा मीराले स्पष्ट रूपमा मिडियाअगाडि राखेकी छिन्। एक कार्यक्रममा उनले परिणितिले गर्ने टिप्पणीलाई ‘स्टुपिड’ भनेकी छिन्। ‘परिणिति र म नजिक छैनौँ। त्यसैले उसले भनेको कुनै पनि कुराको ममाथि केही प्रभाव पर्दैन,’ मीराले भनेकी छिन्, ‘परिणितिको मलाई खासै वास्ता छैन।’ तीनै बहिनी एउटै परिवारको हिस्सा भएको कुरा चाहिँ मीराले स्विकारेकी छिन्। ‘सम्भवतः परिणितिले यो कुरा सार्वजनिक रूपमा स्विकार्नेछैनन्। उनी मलाई आफूसँग जोड्न चाहन्नन्’ मीराले भनेकी छिन्।
केही वर्षअघि यी तीनै दिदीबहिनी सँगै बस्थे। प्रियंकासँग बिताएका रमाइला क्षण आफूले सम्भि्कने गरेको तर परिणितिसँग त्यस्तो केही नभएको उनले बताएकी छिन्। प्रियंका र मीरा एउटै उमेरका हुन्। परिणिति उनीहरूभन्दा कान्छी हुन्। एउटै उमेर भएकाले प्रियंका र आफ्नो कुरा मिल्ने मीराले बताएकी छिन्।

Leave a Reply

Your email address will not be published.