राना र कठरिया थारु समुदायमा होरीको रौनक

पवेरा गाउँमा होरी नाच नाच्दै कैलालीबासी कठरिया थारु समुदायका युवती
पवेरा गाउँमा होरी नाच नाच्दै कैलालीबासी कठरिया थारु समुदायका युवती

अविनाश चौधरी– पश्चिम तराईबासी राना र कठरिया थारु समुदायमा होरी (होली) पर्वको रौनक बढेको छ। फागुन दुई गते पूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायमा होरी पर्वको रौनक छाएको हो। यहाँ बसोबास गर्ने कठरिया थारु समुदायमा पनि होरी पर्वको रौनकताले छोई सकेको छ।
राना र कठरिया थारु समुदायका युवायुवतीहरु होरी नृत्य गर्न व्यस्त भएका छन्। होरी पर्व सुरु भएको झण्डै एक महिनासम्म राना र कठरिया थारुले नाचगान गरेर होरी पर्व मनाउने चलन छ। यो दुबै समुदायको सबैभन्दा ठूलो पर्व हो।
राना थारुका युवायुवतीहरुले रातीको समयमा होरी नाचगान गरेर पर्व मान्ने चलन छ। यसलाई उनीहरु आफ्नो भाषामा ‘जिन्दा होरी’ (जिउँदो होली) भन्ने गर्दछन्।’ जिन्दा होरी चीर दहन नभएसम्म खेलिने गरेको राना थारु संस्कृतिका जानकार श्रीमती जीवन रानाले बताइन्।
राना थारुले होरी पर्व सुरु भएको पहिलो दिनदेखि एक महिनासम्म आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने गर्दछन्। चोरेको गुइँठा र तोरीको डाँठ थुपारेर होलिका बनाइ चीर दहन गर्ने चलन यो समुदायमा छ।
चीर दहनपछि भोलिपन्ट मुर्दा होरी (मरेको होली) सुरु हुन्छ। यस दिनलाई राना थारुले टिका भन्ने गर्दछन्। यहि दिन उनीहरु बिहानदेखि दिउँसो दुई बजेसम्म एक अर्कालाई अबिर लगाउँदै होली खेल्ने गर्दछन्।
राना थारु समुदायले झण्डै एक महिना आठ दिनसम्म होरी पर्व मनाउँछन्। यसबर्ष चैत १० गते खकरौरा (फुटेको गाग्रो फुटाउने) गरेर होरी नाच बन्द गर्ने र १७ गते चराई गरेर बिसर्जन गरेपछि बिधिवत रुपले होरी पर्वको समापन हुने रानाले बताइन।
होरी पर्वको राना थारु समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ। दैत्य हृण्यकश्चपले शक्ति दुरुपयोग गरेर आफ्नै छोरा प्रह्लादलाई मार्न खोज्दा सत्यको जीत भएको र असत्यको पक्षमा रहेकी हृण्यकश्चपका बहिनी होलिका आगोमा भष्म भएको सम्झनामा राना थारुले होरी पर्व मनाउँछन्। यो पर्वका बेला नराम्रो त्यागेर राम्रो चीज तथा विचारधारा अगाल्ने जनविश्वास समेत रहेको संस्कृतिका जानकारी रानाको भनाई छ।
उनले साली नाता पर्नेले आफ्नो भिनाजु वा नजिकका मित्रलाई निम्तो गरेर मिठो मसिनो खुवाउने र भिनाजु तथा मित्रले आफ्नो गच्क्ष अनुसारको दान वा श्रृङ्गारका सामान दिने चलनले आपसी सदभाव तथा सम्बन्ध बढाउने गरेको बताइन्। सालीले निम्तो गरेर खुवाउने र भिनाजुले दानदक्षिणा दिने चलनलाई फगहा दिएको भन्ने गरिन्छ।
उता, कठरिया थारु समुदायमा पनि चीर दहनसम्म होरी नाचगान धुमधामसंग हुने गरेको बताइन्छ। कठरिया थारुका युवापुस्ता घर–घरमा गएर होरी नाच नाच्ने काम गरिरहेका छन्। कठरिया समुदायमा होरी नाच पुस महिनाको बैबाहिक कार्यक्रमबाटै सुरु हुने गरेपनि अहिलेको पुस्ताले विस्तारै यस्तो संस्कार त्याग्दै गएकाले एक महिनासम्म मात्रै होरी मनाउने गरिएको छ।
समुदायमा चार प्रकारको होरी हुने गरेको नेपाल कठरिया थारु समाजका महासचिव सन्तोष कठरियाले जानकारी गराएका छन्। उनका अनुसार ठर्मा होरी (पुरुष महिला सहभागि हुने), बन्ना होरी (पाका पुरुषमात्रै सहभागि हुने), मिच्चा होरी (महिला मात्रै सहभागि रहने) र एकल होरी (आधुनिकतामा आधारित) कठरिया थारु समुदायले मनाउँछन्।
होरी दुबै समुदायको सबैभन्दा ठूलो पर्व हो। यो पर्वमा बर्षदिनभरीको दुःख बिर्सेर रमाउने, आफन्तसंग भेटघाट गर्ने र मिठो मिष्ठान खाने गरेको सम्बन्धित समुदायले बताउँछन्।

One thought on “राना र कठरिया थारु समुदायमा होरीको रौनक

  1. अविनाश जीले लेखेको यो फिचर समाचार निकै राम्रो छ । कैलाली र कंचनपुरमा बसोबास गरेका राना र कठरिया थारुको यो सब भन्दा ठूलो त्यौहार हो । यसमा चौधरीहरु पनि होरी पर्व मनाउँछन् तर राना र कठरिया थारुहरु भन्दा कम भनेर उल्लेख गरेको भए अझ सुनमा सुगन्ध थपिन्थ्यो । चौधरी शब्द प्रयोग नभएकाले चौधरी थारु होरी मनाउन्नन् कि भन्ने कतिपयलाई लाग्न सक्छ ।

Leave a Reply

Your email address will not be published.