संविधानसभा उपाध्यक्षमा घर्ती निर्वाचित

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती शपथग्रहण पछि एक आपसमा हात मिलाउँदै। तस्बिर :  रासस/रत्न श्रेष्ठ
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती शपथग्रहण पछि एक आपसमा हात मिलाउँदै। तस्बिर : रासस/रत्न श्रेष्ठ

काठमाडौं- संविधानसभाका उपाध्यक्षमा एकीकृत नेकपा(माओवादी)का सभासद् ओनसरी घर्ती मतले निर्वाचित भएकी छन्। संविधानसभाको बुधबार बसेको आठौं बैठकमा मतदान हुँदा घर्तीका पक्षमा ४ सय ८४ र विपक्षमा पाँच मत परेको थियो। मतदानमा कूल ४८९ सभासद्ले भाग लिएका थिए। सो पदमा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरको पनि उम्मेदवारी परेकामा घर्तीको विजयपछि अर्को प्रस्तावमा मतदान भएन।
सभासद् घर्तीका पक्षमा नेपाली कां‌ग्रेस, नेकपा (एमाले), एमाओवादी, राप्रपा नेपाल, राप्रपा, तराई–मधेस लोकतान्त्रिक पार्टीलगायत अधिकांश दलले मतदान गरेका थिए।
संविधानसभा अध्यक्षमा यही फागुन ६ गते एमालेका सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएका थिए। अन्तरिम संविधानअनुसार संविधानसभाका अध्यक्ष र उपाध्यक्ष क्रमशः व्यवस्थापिका–संसद्को पनि पदेन सभामुख र उपसभामुख हुने व्यवस्था छ। अघिल्लो संविधानसभाका उपाध्यक्षमा एमाओवादीका पूर्णकुमारी सुवेदी उपाध्यक्ष थिए।
सभाका अध्यक्ष नेम्वाङले नवनिर्वाचित उपाध्यक्ष घर्तीलाई बधाई दिँदै संविधान निर्माणका कार्यमा उनलाई पूर्ण सफलता मिलोस् भनी शुभकामना दिए।
साना दलको समर्थन
यसअघि बैठकमा नेमकिपाका प्रेम सुवालले उपाध्यक्ष पदमा आफ्नो दलका तर्फबाट थापा मगरलाई प्रस्ताव प्रस्तुत गर्दै उत्पादनका साधनमा शोषण नहुने समाजवादी गणतन्त्र स्थापनाका लागि आफ्नो पार्टी अघि बढेकाले थापालाई विजयी गराउन आग्रह गरेका थिए। सुवालको प्रस्तावमाथि सोही पार्टीका डिल्लीप्रसाद काफ्लेले समर्थन गर्दै हिजो जस्तो असफल संविधानसभा नहोस् भनी थापालाई उम्मेदवार बनाइएको बताएका थिए। दुवै प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति शब्दको आवरणमा आफ्ना स्वार्थलाई लाद्ने काम भइरहेको भन्दै शक्ति सन्तुलनको आधारमा सहमति भएको भए आफ्नो पार्टीले उपाध्यक्ष पाउनुपर्ने जिकिर प्रस्तुत गरे।

नेपाल समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले दुवै उम्मेदवार महिला, जनजाति र प्रतिपक्षी पार्टीका योग्य उम्मेदवार भए तापनि सहमतिको वातावरणका लागि पहल गर्न र सहमति नभए आफ्नो पार्टीले घर्तीलाई मतदान गर्ने बताएका थिए।
तमलोपाका वृजेशकुमार गुप्ता, मधेसी जनाधिकार फोरम नेपालका लालबाबु राउत, फोरम (गणतान्त्रिक)का सरिताकुमारी यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाली जनता दलका हरिचरण साह, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा, थरूहट तराई पार्टी नेपालकी गङ्गा चौधरी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरूहट)की रूक्मिणी चौधरी, खम्बुवान राष्ट्रिय मोर्चा पार्टीका रामकुमार राई, नेपाल परिवार दलकी मिलनकुमारी राजवंशी, सङ्घीय समाजवादी पार्टी नेपालकी उर्मिलादेवी साह तथा सभासद् विश्वेन्द्र पासवान, छाया शर्मा, अइन्द्र नेम्वाङ र अतहर कमालले पनि घर्तीलाई समर्थन गरे।
नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले भने नेमकिपा थापालाई समर्थन गर्ने बताए।
घर्तीद्वारा पद तथा गोपनियताको शपथ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओन्सरी घर्तीलाई आजै संविधानसभाका भवन नयाँ बानेश्वरमा पद तथा गोपनियताको शपथ गराए। शपथग्रहण कार्यक्रम विभिन्न राजनीतिक दलका नेता, सांसद तथा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उपस्थित थिए।
पद तथा गोपनियताको शपथग्रहणपछि रासससँग सङ्क्षिप्त कुराकानी गर्दै उपाध्यक्ष घर्तीले एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्ने वातावरणका लागि आफूले निष्पक्षरुपमा कार्यसम्पादन गर्ने जानकारी दिइन्।
उनले विगतमा संविधानसभाले गरेका कार्यको आधरामा टेकेर अगाडि बढ्न आवश्यक भएको चर्चा गर्दै सहमति र सहकार्यको आधारमा दलहरूले संविधान निर्माणमा लाग्न सुझाव दिइन्। उपाध्यक्ष घर्तीले भनिन्, ‘सबै जनताले अपनत्व हुने खालको संविधान निर्माण हुनेमा म विश्वस्त छु।’ उपाध्यक्ष घर्तीले आजै सिंहदरवारस्थित संसद सचिवालयमा आफ्नो कार्यभार सम्हालेकी छन्। उनी रोल्पा क्षेत्र २ बाट एमाओवादीका निर्वाचित सभासद् हुन्। रासस

Leave a Reply

Your email address will not be published.