थारू संस्कृतिसम्बन्धी अन्तर्क्रिया

मानबहादुर पन्ना- सुर्खेत- थारू कल्याण कारिणी सभा सुर्खेतले वीरन्द्रनगरमा सचेतना अभिवृद्धिसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम माघ ९ गते सम्पन्न गरेको छ। थारूहरुको थारू भाषा संस्कृति धरायसी बन्दै गएकाले यसप्रति जागरुक गराउन कार्यक्रम गरिएको आयोजकले बताएको छ।
सदियौंदेखि सुर्खेत उपत्यकामा बस्दै आएका थारू जातिको आफ्नो पहिचानको धरोहर मेटिदै गएर थारू जातिको अस्तित्व नै संकटमा पर्न थालेकोले सबै थारूहरु एकजुट भइ थारू संग्रहालय तथा थारू ठन्वा (मन्दिर) निर्माण तत्काल गर्नुपर्ने सहभागीको जोड थियो।
थारू संग्रहालय तथा थारू मन्दिर (ठन्वा)बारे विभिन्न समयमा कुरा उठाए पनि सेलाउने गरेको तथ्यप्रति सजग गराउदै सबै संगठन मिलेर छिट्टै पहल गरी अघि बढ्न थारू समुदायले अगुवाहरुलाई सुझाव दिएका छन्। थारू संस्कृति जोगाउन थारू मन्दिर (ठन्वा) को अहम् भूमिका हुने भएकोले प्रत्येक थारू गाउँमा व्यवस्थित ठन्वा हुनुपर्नेमा जोड दिइयो।
कार्यक्रमका प्रमुख अतिथि थारू कल्याण कारिणी सभाका केन्द्रीय उपाध्यक्ष मानबहादुर चौधरीले सुर्खेती थारूहरुको साझा सबाल थारू संग्रहालयको स्थापनाको लागि विभिन्न निकायमा पहल गर्नुपर्ने बताए। राज्यले जग्गाको व्यवस्थापनमा वेवास्ता गरे सार्वजनिक स्थल कव्जा गरिने समेत चेतावनी दिए। थाकस जिल्ला अध्यक्ष देवीराम थारूले जिल्लामा रहेको विभिन्न थारू संगठनहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै यसको पहली कदमको लागि थारूहरुको छाता संगठन थाकसमार्फत् संग्रहालयका लागि कदम चाल्न उपयुक्त हुने बताए। उनले व्यक्तिगत स्वार्थ भन्दामाथि उठी थारू अगुवाले काम गर्नुपर्ने आग्रह गरे। थारू बुद्धिजीवि मानबहादुर चौधरी पन्नाले यो विषय जिल्लाकै प्रतिष्ठासँग जोडिएकोले थाकसले राजनीतिक दल, लगायत विभिन्न वर्गसँग समन्वय गरी जिल्लाकै साझा सवाल बनाउनुपर्ने आग्रह गरे।
थारू लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूले यो विषय विगत धेरै वर्ष अघिदेखि उठाइए पनि थारू जातिमा आफ्नो संस्कृतिप्रतिको चेतनाको कमीले पहल गर्न नसकेको बताए। अब यसको लागि थारू समुदाय तयार भएकोले जस्तोसुकै चुनौतीसँग सामना गरी अघि बढ्ने बताए। तर थाकस मौन बस्न नहुने सुझाव दिए। कार्यक्रममा कर्मचारी संघका केन्द्रीय सदस्य बेचुलाल चौधरी, थारू गुरुवा वैदावा संघका केन्द्रीय सदस्य जागुराम थारू, थारू विद्यार्थी समाजका प्रतिनिधि राजु चौधरी, अगुवा मानवीर थारू लगायतका वक्ताहरुले थारू संग्रहालय तथा थारू ठन्वा निर्माणको लागि एकजुट भएर अगाडि बढ्न सुझाव दिए।
सो अवसरमा कार्यक्रममा सहभागीहरुले थाकस सक्रिय नहुँदा जिल्लामा कुनै ठोस काम हुन नसकेको गुनासो गरेका थिए। वर्तमान कार्यसमितिको समयावधि पुगिसकेकाले यथाशीघ्र अधिवेशन गराउन माग समेत गरेका थिए। कार्यक्रम थाकस जिल्ला अध्यक्ष देवीराम थारूको सभापतित्वमा भएको थियो। त्यसैगरी संग्रहालयको पहलका लागि जिल्ला अध्यक्ष देवीराम थारूको संयोजकत्वमा २१ सदस्यीय मूल कमिटि गठन गरियो। यो कमिटिले राज्यका विभिन्न निकायसँग समन्वय गरी कार्य थाल्ने संयोजक थारूले बताए।

Leave a Reply

Your email address will not be published.